+
+

उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २१:०९

१३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चलाउनेमाथि आक्रमण गर्ने रविन लामालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले चलाउनेलाई आक्रमण गर्ने लामालाई टोखाबाट पक्राउ गरिएको अनलाइनखबरलाई जानकारी दिए ।

यस मुद्दाका अन्य प्रतिवादीहरु पुनरावेदनमा गएको तर लामा पुनरावेदन नगएकाले पक्राउको बाटो खुलेको थियो । सोही अनुसार लामाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरिएको एसएसपी खत्रीले बताए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाको इजलासले ७ मंसिर २०८० चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको थियो ।

नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालिन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर भएका थिए ।

उनीहरुबाट पीडितलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको थियो । अर्का आरोपित आरोपित दीपक ओझाले भने सफाइ पाएका थिए ।

२० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।

नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको थियो ।

आक्रमणमा परी उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी र तिघ्रामा चोट लागेको थियो । आक्रमणपछि उपप्राध्यापक चलाउने एक महिनाभन्दा बढी अस्पतालमा उपचार गराएर घर फर्किएका थिए ।

ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको अवस्थामा गृहमन्त्रालयको प्रस्तावमा सरकारले आरोपितहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो ।

मुद्दा फिर्ता लिने निर्णय विरुद्ध उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत गएका थिए ।  सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेशपछि जिल्ला अदालतले आरोपितहरु विरुद्धको मुद्दाको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?