+
+

दश महिनामै ३ दुर्लभ पाटेबाघ मारिए

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८० चैत १४ गते ७:२६

१४ चैत, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको रोयल महाबु होटेलबाट ७ चैतमा बरामद गरेको बाघको छाला बर्दिया राष्ट्रिय निकुञ्जको बाघको भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

छाला बरामद भएको वयस्क भाले बाघ सन् २०१८ र २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा क्याप्चर गरिएको पाटे बाघजस्तो देखिएको प्रहरी स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले गत बुधबार नेपालगञ्जको रोयल महाबु होटेलको कोठा नं. १०१ बाट बाघको छालासहित सुर्खेतको बराहताल गाउँपालिका-२ का २८ वर्षका चन्द्रबहादुर कार्कीलाई पक्राउ गरेको थियो ।

बाघको छाला र अभियुक्तलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी नारायण डाँगीले बताए ।

डिभिजन वन कार्यालयले सहायक वन अधिकृत सुनिल आचार्यलाई अनुसन्धान अधिकृत तोकेर यो विषयमा अनुसन्धान गरिरहेको अर्का सहायक वन अधिकृत वीरेन्द्र रोकायाले जानकारी दिए ।

बाघको छाला ५ फिट ९ इन्च लामो र ३ फिट २ इन्च फराकिलो छ । पक्राउ परेका कार्कीलाई अनुसन्धान गर्न जिल्ला वन कार्यालयले जिल्ला अदालत बाँकेबाट ७ दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।

प्रारम्भिक बयानमा अभियुक्त कार्कीले सुर्खेतबाट उक्त बाघको छाला बिक्री गर्ने उद्देश्यले नेपालगञ्ज ल्याएको बताएका छन् ।

यसैगरी १४ असार २०८० मा बाँकेको कोहलपुर क्षेत्रबाट प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला र हड्डीसहित ३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तहरुबाट वयस्क पोथी बाघको ९ फिट ८ इन्च लामो, ६ फिट ६ इन्च चौडाइ भएको छाला र ६ केजी ८१८ ग्राम बाघको हड्डी बरामद भएको थियो ।

बाघको छाला र हड्डी सहित दैलेख ठाँटीकाधका सुनिल चुनारा, अछाम पञ्चदेवलका टोपेन्द्र शाही र दैलेख भगबती माइका नविन कसेरा पक्राउ परेका थिए ।

अभियुक्तहरु सुर्खेतबाट गाडी रिजर्भ गरेर बाघको छाला र हड्डी बाँकेको कोहलपुर ल्याउँदै गर्दा पक्राउ परेका थिए । अभियुक्त कसेराले आफूहरु भरिया मात्रै भएको र एक लाख रुपैयाँ पाउने लोभले बाघको छाला र हड्डी ल्याएको वयान दिएका थिए ।

बरामद भएको बाघको छाला पनि २०२२ जनबरीमा बर्दिया राष्ट्रिय निकुञ्जमा गणना गरिएको पोथी बाघसँग मिलेको थियो । बाघ गणनामा क्यामरा ट्रयापिङमा रेकर्ड भएको FT09 (एफटीजिरो नाइन )नम्बरको बाघसँग मिलेको थियो ।

२६ जेठ २०८० मा इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङको टोलीले लमही नगरपालिका वडा नं.९ अमिलियाबाट दुर्लभ पाटेबाघको छाला र हड्डी सहित ४ जनालाई पक्राउ गरेको थियो ।

बरामद भएको पाटेबाघको छालाको लम्बाइ साढे ९ फिट लामो र चौचाइ ५ फिट १० इन्च छ । अभियुक्तहरुबाट साढे ८ केजी दुर्लभ वन्यजन्तु पाटेबाघको छाला र हड्डीसमेत बरामद गरेको थियो । पक्राउ पर्नेमा दाङ राजपुरका बीर बहादुर पुन, आशाराम विक, देवबहादुर विक र रोल्पा माडीका अमलाल घर्तीमगर रहेका छन ।

दाङमा बरामद भएको बाघको छाला बाँके राष्ट्रिय निकुञ्जमा गणना गर्दा क्याप्चर गरिएको बाघको छालासँग मिलेको स्रोतको दाबी छ ।

चोरी शिकारी नियन्त्रणको चुनौती

बाघको संरक्षणमा उल्लेखनीय प्रगति हासिल गरेका बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका संरक्षित दुर्लभ पाटेबाघ माथि वन्यजन्तु तस्करहरुको निशाना परेको पछिल्ला घटनाले देखाएको छ । पछिल्लो गणना अनुसार बर्दियामा १२५ र बाँकेमा २५ वटा दुर्लभ वयस्क पाटेबाघ छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन आशिष न्यौपानेले निकुञ्जहरुमा बाघको संख्या बढेसँगै चोरी शिकारी नियन्त्रणको चुनौती पनि बढेको बताए ।

पछिल्ला १० महिनामा बाँकेबाट दुई र दाङबाट एक गरी ३ वटा बाघको छाला र करिब १५ केजी हड्डीसहित ८ जना व्यक्ति पक्राउ परेका छन् ।

बाघको छाला बरामद भएसँगै निकुञ्जको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन गस्ती, पेट्रोलिङ लगायत निगरानी बढाइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक वार्डेन न्यौपानेले बताए ।

पक्राउ परेका अभियुक्तहरुको कसुर प्रमाणित भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम ५ देखि १५ वर्षसम्म कैद वा ५ देखि १० वर्षसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

लेखकको बारेमा
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?