+
+

क्रसर तथा बालुवा उद्योगलाई राष्ट्रिय महत्वको उद्योग मान्ने प्रस्ताव

ढुंगागिट्टी र बालुवा सम्बन्धी विधेयकको नाममै संशोधन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते २०:००

१५ चैत, काठमाडौं। सांसदहरुले ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक’को नाम र प्रस्तावनामै संशोधन प्रस्ताव गरेका छन् ।

नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को उत्खनन, संकलन र बिक्रीलाई व्यवस्थापन र नियमन गर्न ल्याइएको विधेयकको नाम नै फेर्नुपर्ने प्रस्ताव एमालेका सांसद गोकुल बास्कोटासहित ११ जना सांसदको छ । ‘विधेयकको नाम निर्माणजन्य खनिज पदार्थ व्यवस्था विधेयक’ भनी फेर्नुपर्ने सांसद बास्कोटाको प्रस्ताव छ ।

निर्माणमुखी नभनेर निर्माणजन्य भनी विधेयकको नाम फेर्ने प्रस्ताव कांग्रेसका सांसद रामनाथ अधिकारीको छ । यस्तो प्रस्ताव राख्ने अन्य सांसदहरुमा बिजुला रायमाझी, रुक्मणी राना बराइली, सुर्य कुमारी श्रेष्ठ, चन्द्रबहादुर विश्वकर्मा, हर्कमाया विश्वकर्मा, शान्ति श्रेष्ठ, शान्ति चौधरी, आश्मा चौधरी, दिपक गिरी छन् ।

विधेयकको प्रस्तावनामा पनि ११ जना सांसदको संशोधन परेको छ । त्यसमध्ये कांग्रेसका सांसदद्धय दिपक गिरी र रामनाथ अधिकारीले छुट्टाछुट्टै रुपमा संशोधन राखेर विधेयकको प्रस्तावनामै ‘क्रसर तथा बालुवा उद्योगलाई राष्ट्रिय महत्वको उद्योग मानिनेछ’ भनी लेख्ने प्रस्ताव गरेका छन् ।

प्रस्तावित विधेयकको प्रस्तावनामा ‘विकास र वातावरणबीच सन्तुलन कायम गरी भौतिक संरचनाको निर्माणमा अतयावश्यक वस्तुको रुपमा रहेको निर्माणमुखी सामग्रीको उत्खनन, संकलन, प्रशोधन वा बिक्रीको दिगोपना तथा सहज आपूर्तिको व्यवस्थापन तथा नियमन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ’ लेखिएको छ ।

यसलाई फेरेर कांग्रेस सांसद गिरीले ढुंगागिट्टी–बालुवा विदेश निकासी गर्न आवश्यक भएकाले विधेयक ल्याउनु परेको भनी प्रस्तावनामै लेख्ने प्रस्ताव गरेका हुन् ।

उनको संशोधन प्रस्तावमा भनिएको छ, ‘सर्वसाधारण जनताको आधारभूत आवश्यकता पूरा गर्न र स्वच्छ र स्वस्थ वातावरणको प्रवद्र्धन गर्न, निर्माणजन्य पदार्थको अभाव हुन नदिइ सहज आपुर्ति गर्न, निर्माणजन्य सामाग्रीलाई दिगो उपयोग गर्न, यसबाट प्राप्त हुने राजश्व संकलनलाई व्यवस्थित गर्न र निर्माणजन्य सामाग्री विदेश निकासी गर्न वाञ्छनीय भएकाले, साथै क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई निर्माण सामाग्री प्रशोधन गर्ने राष्ट्रिय महत्वको उद्योग मानिनेछ ।’

कांग्रसकै सांसद अधिकारीले प्रस्तावनामा ‘स्वच्छ र स्वस्थ वातावरण प्रवद्र्धन गर्न, राजश्व संकलन गर्न, क्रसर तथा बालुवा उद्योगलाई राष्ट्रिय महत्वको उद्योग मानिनेछ’ भनी लेख्ने भनी छुट्टै प्रस्ताव गरेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले विधेयकको प्रस्तावित प्रस्तावनामा ‘स्वच्छ र स्वस्थ वातावरणको प्रवद्र्धन गरी भौतिक संरचना निर्माणमा’ भन्ने शब्दहरु थप्ने प्रस्ताव गरेका छन् ।

सांसदहरु बिरबहादुर बलायर, रमा कोइराला पौड्याल, सञ्जय कुमार गौतम, कान्तिका सेजुवाल, सिता कुमारी राना, सुशिला थिङ, शान्ति विकले पस्तावित विधेयकको प्रस्तावनामा ‘सर्वसाधारण जनताको आवश्यकता र राष्ट्रिय विकास’ भन्ने वाक्य थप्नुपर्ने प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?