+
+

०८१ चैतसम्म महाधिवेशन गर्ने गरी तरुण दलले बनायो कार्यतालिका

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १४:३३
तरुण दलका अध्यक्ष विद्वान गुरुङ

१७ चैत, काठमाडौं । नेपाल तरुण दलले २०८१ सालको चैतसम्म आफ्नो केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

चैत १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले २०८१ चैत मसान्तसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी वडादेखि जिल्ला अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

केन्द्रीय महाधिवेशनअघि २०८१ असोजभित्र देशभरका ६ हजार ७४३ वटा वडामा अधिवेशन गर्ने,  मंसिरसम्म ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्ने कार्यतालिका बनाएको तरुण दलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यस्तै पुस मशान्तभित्र १६५ वटै संघीय निर्वाचन क्षेत्रमा र माघ मसान्तभित्रमा ७७ वटै जिल्लामा अधिवेशन गर्ने तरुण दलको कार्यतालिका छ । त्यसपछि कांग्रेस नेतृत्वसँग छलफल गरेर प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन चैत मसान्तभित्र गर्ने तरुण दलले जनाएको छ ।

महाधिवेशनको कार्यक्रमहरु सुरु गर्नुअघि विधान संशोधन गर्न तरुण दलले ५ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिको सदस्य सचिव कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव रहनेछन् भने सदस्यहरु अध्यक्ष विद्वान गुरुङले तोक्नेछन् ।

मस्यौदा समितिले २०८१ जेठभित्र विधान संशोधन मस्यौदा अध्यक्ष विद्वान गुरुङलाई बुझाउनुपर्नेछ । संशोधित मस्यौदा जेठ २७ र २८ गते बस्ने बैठकमा निर्णयार्थ पेश हुनेछ ।

तरुण दलले अधिवेशनको तयारीका लागि ७७ वटै जिल्लाह‌रूमा केन्द्रीय सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिको रूपमा पठाउने भएको छ ।

महाधिवेशनकै तयारीलाई अझ प्रभावकारी र जनचासोको रुपमा अगाडि बढाउन तरुण दलले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रहरुमा मानवीय सेवा र उद्धारका लागि तरुण स्वयंसेवक परिचालन गर्ने भएको छ ।

त्यस्तै तरुणहरुलाई किसानसँग जोड्न र संगठन विस्तारका लागि कृषि श्रमदान अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तरुण दलले केन्द्रीय सदस्यहरुसँग मासिक जनही १ हजार रुपैयाँ उठाउने निर्णय गरेको छ ।

तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्यहरुबाट उठाएर ४७ लाख रुपैयाँ उपलब्ध गराउने पनि तरुण दलले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?