+
+

नक्कली परीक्षार्थीलाई कक्षा १२ को जाँच दिलाएको आरोपमा प्रिन्सिपल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १८:४४

१६ वैशाख, काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका छन् ।

कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आशंकामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार हालसम्म एक जना विद्यार्थीलाई नक्कली परीक्षार्थी बनाएको प्रमाण भेटिएको छ । उनले प्रोलिफिक स्कुलमा कम्तिमा ४ जना नक्कली परीक्षार्थी रहेको विवरणसहित शिक्षा मन्त्रालयमा उजुरी परेको थियो ।

मन्त्रालयले ४ जनाको सिम्बोल नम्बरसहित छानबिन गरिदिन भन्दै १२ वैशाखमा सचिवस्तरीय निर्णयबाट गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार प्रिन्सिपल महत समेतको संलग्नतामा एउटा रजिष्ट्रेसन फर्ममा एक जनाको विवरण र एड्मिट कार्डमा अर्कैको फोटो राखेर जाँच दिलाएको भन्दै उजुरी परेको थियो ।

त्यसरी परीक्षा दिएकामध्ये दुई जना महतका आफन्त समेत रहेका छन् । पक्राउ परेका महतलाई अहिले प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ । यसमा अन्य व्यक्तिको संलग्नताबारे समेत छानबिन भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

१४ वैशाखमा सुरु भएको कक्षा १२ को परीक्षा २६ वैशाखसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?