+
+

लोकसभा चुनावअघि भारतमा  चुलियो चुनावी धाँधलीको बहस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:०९

१८ चैत । लोकसभा चुनावअघि भारतमा चुनावी धाँधलीको विषयले चर्चा पाएको छ । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसका नेता राहुल गान्धीले  विद्युतीय मतदान यन्त्रको विश्वसनीयतामाथि प्रश्न उठाउँदै नतिजा ह्याक हुनसक्ने बताएका छन् ।

गत साता मुम्बईमा आयोजित कार्यक्रममा राहुलले भनेका थिए, ‘भाजपाको आत्मानै विद्युतीय मतदान यन्त्रमा छ । यसको चिप्सले अर्कै नतिजा रेकर्ड गर्नसक्छ ।’

सन् २०१४ यताका चुनावमा पकड कायम राख्दै आएको  भाजपालाई विद्युतीय मतदानमार्फत धाँधली गरेको आरोप पटक-पटक लागिरहेको छ  ।

विद्युतीय मतदान यन्त्रमा राखिने चिप्सको प्रोगामिङनै गलत तरिकाले गरेर मतदाताले दिएको मतभन्दा अन्य चिह्नको मत रेकर्ड गर्ने खतरा रहेको प्रतिपक्षी दलहरुको आशंका छ । यो आशंका तथा आरोप निराधार रहेको भारतीय निर्वाचन आयोग र त्यहाँको सर्वोच्च अदालतले बताइसकेका छन् । प्रतिपक्षी दलले लगाएको आरोपमाथि छानबिन गर्दा कुनै प्रमाण नभेटिएको ती दुई संस्थाको जिकिर छ ।

भारतमा १९ अप्रिलबाट चुनाव हुन लागेका बेला राहुल गान्धीले चुनावी धाँधलीलाई प्रमुख मुद्दा बनाएका छन् । चुनावअघि पैदल यात्रामा रहेका उनले विद्युतीय मतदान यन्त्रको सट्टामा पुरातन मतपत्रनै प्रयोग गर्नुपर्ने धारणा पनि राखेका छन् ।

सन् १९९० अघि भारतमा चुनावका बेला मतपत्र नै प्रयोग हुन्थ्यो । मतपत्रकै प्रयोग हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा पनि परेको थियो । तर अदालतले उक्त माग खारेज गरेको थियो भने भारतीय निर्वाचन आयोगले त्यस्तो प्रस्तावलाई प्रतिगामी भनेको थियो ।

विद्युतीय मतदानबाटै चुनाव हुँदा आधा भन्दा बढी राज्यमा हालका प्रतिपक्षी दलहरुले नै राज्य सरकारको नेतृत्व गरेका थिए । तर उनीहरु  नै यसको विश्वसनीयतामाथि निरन्तर प्रश्न उठाउँदैछन् ।

मतदान यन्त्रविरुद्ध निरन्तर अभियान चलाउने नेता मध्येमा पर्छन्, कंग्रेसका दिग्विजय सिंह । उनी मतपत्रकै पक्षमा रहेका छन् । दलित अधिकारकर्मी रितु सिंहले सामाजिक सञ्जालमा विद्युतीय मतदानले भारतीय लोकतन्त्र धरासायी बन्दै गएको अभिव्यक्ति दिएकी छिन् ।

यो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल छ । परम्परागत मतदाता समेत विद्युतीय मतदानमा विश्वास नरहेको बताउँछन् ।

कंग्रेसका परम्परागत मतदाता ग्रेअरी एकाले भनेका छन्, ‘झारखण्डमा हामीले कंग्रेसलाई मत दिन्छौं तर हाम्रो मत कहाँ जान्छ जहिले पनि भाजपानै त्यहाँ शक्तिमा आउँछ ।’

विद्युतीय मतदान यन्त्रमा प्रश्न उठ्नेक्रम नरोकिएपछि निर्वाचन आयोगले मतदान प्रमाणीकरणको व्यवस्था गरेको थियो । यस अन्तर्गत सात सेकेण्डसम्म मतदाताले जाहेर गरेको मत सही तरिकाले रेकर्ड भयो वा भएन भनेर मतदाता स्वयं निश्चित हुनसक्थे ।

यो प्रमाणीकरण प्रिन्ट हुनुपर्ने र त्यसलाई छुट्टै राखिनुपर्ने माग कंग्रेसले गरेको छ । कंग्रेसले विद्युतीय मतदानप्रति प्रश्न उठाउनु उसको त्रुटि रहेको कतिपयको मत छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त एसवाई कुरेसीले भनेका छन्, ‘विद्युतीय मतदान मेसिनबाट धाँधली हुनसक्दैन । तर यदि प्रमाणीकरण स्लिप प्रिन्ट हुनुपर्ने माग भएको हो भने यसको गर्नु निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि सहयोगी नै हुन्छ । चुनावमा जित्ने वा हार्ने भन्ने विषय चुनावको बेला नभएर चुनाव अघिनै तय हुन्छ । मतदानमा कसैले केही बिगार गर्न सक्दैन ।’

भारतीय निर्वाचन आयोगले मतदाता नामावलीमा आफ्नो नाम रहे नरहेको हेर्नका लागि भनिरहेको छ । भारतमा मतदाता नामावलीको रेकर्ड सही राख्नु निकै कठिन रहेको आयोगकै प्रतिनिधिले अलजजिरालाई बताएका छन् ।

‘दोहोरिएका नामावली र मृत्यु भइसकेकाहरुको नामावली हटाउन निकै कठिन छ । सकेसम्म हामीले प्रयत्न भने गरिरहेका छौं’, ती कर्मचारीले भनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोना महामारीका कारण ४० लाखको मृत्यु भएको छ । सन् २०१९ को निर्वाचनमा १ करोड भन्दा भन्दा बढी मुस्लिम तथा दलित मतदाताहरुको नाम नामावलीबाट हटाइएको आरोप लागेको थियो ।

भाजपालाई अप्ठ्यारो पर्नसक्ने भन्दै यस्तो गरिएको आरोप लागेको थियो । यसको प्रभाव छत्तिसगढमा देखिएको कंग्रेसका नेता प्रवीण चक्रवर्तीले बताएका थिए ।

डेकन हेराल्डमा छापिएको आलेखमा उनले प्रारम्भिक सर्वेक्षण र चुनावपछिको सर्वेक्षणमा कंग्रेसको मत बढी देखिए पनि नतिजामा ४ प्रतिशत मत कम आएको उनले जिकिर गरेका थिए ।

उनको जिकिरबारे प्राध्यापक सञ्जय कुमारले भनेका छन्, ‘प्रारम्भिक सर्वेक्षण वा अन्य चुनावी सर्वेक्षण नमिल्दैमा चुनावमा धाँधली भयो भन्न मिल्दैन । विद्युतीय मतदानपछि ठूलै धाँधली देखिएको छैन ।’

अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावमा भारतमा सात चरणमा हुनेछ । ५४३ जना लोकसभा सदस्य चयनका लागि चुनाव हुन लागेको हो । अप्रिल १९ देखि जुन १ सम्म मतदान हुनेछ । ८२ दिनसम्म चल्ने चुनाको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?