+
+

भारतीय मसला एभरेस्ट र एमडीएचमा क्यान्सर रसायनको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १६:१६

९ वैशाख, काठमाडौं । भारतीय मसला ब्रान्ड एभरेस्ट र एमडीएचमा क्यान्सर गराउने रसायन रहेको जिकिर गरिएको छ ।

हङकङको खाद्य सुरक्षा विभागले एभरेस्ट र एमडीएचका मसलामा क्यान्सर गराउने रसायन एथिलिन अक्साइड पाइएको भन्दै त्यसको प्रयोग नगर्न उपोभक्तालाई सुचित गरेको बीबीसीले जनाएको छ ।

हङकङमा यसको खरिद बिक्रीमा समेत प्रतिबन्ध लगाइएको छ । यता सिंगापुरमा पनि एभरेस्टको माछा मसला फिर्ताका लागि निर्देशन दिइएको छ ।

परीक्षणका क्रममा करी पाउडर, सांभर मसला तथा मिश्रित मसलामा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने एथिलिन अक्साइड पाइएको हङकङको खाद्य सुरक्षा विभागलाई उधृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

एथिलिन अक्साइडमा क्यान्सरको कारक तत्व कार्सिनोजेन हुने भएकाले मसला बिक्रीमा प्रतिबन्ध गरिएको हो । परीक्षणका लागि हङकङको खाद्य सुरक्षा विभागले तीनवटा खुद्रा पसलबाट नमुना संकलन गरेको थियो ।

हङकङको खाद्य सुरक्षा विभागका अनुसार खाद्य सामग्रीमा एथिलिन अक्साइड प्रयोग गरेको पाइएमा त्यस्ता कम्पनीलाई अधिकतम ५० हजार डलर जरिवाना र ६ महिनासम्म कैदको सजाय हुन्छ ।

सिंगापुरको खाद्य सुरक्षा विभागले पनि हङकङको विभागको सूचनाका आधारमा आफ्नो मुलुकमा पनि एभरेस्ट र एमडीएचका मसला बिक्रीमा प्रतिबन्ध लगाएको बीबीसीले उल्लेख गरेको छ।

खाद्य सुरक्षा विभागको परीक्षणप्रति यस्तो छ एभरेस्टको जवाफ

एभरेस्टले आफ्ना उत्पादन प्रयोगशालामा जाँचबुझपछिमात्रै निर्यात हुने बताएको छ । कडा जाँचबुझ सहित निर्यात हुने भन्दै उसले मसलाको गुणस्तरमा सम्झौता नगरिएको जिकिर गरेको छ ।

एभरेस्ट कम्पनीको भनाइ उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘हाम्रो सबै उत्पादन कडाइका साथ जाँचबुझपछि मात्रै निर्यात हुन्छ । हामी सरसफाइ तथा खाद्य सुरक्षा मापदण्डको कडाका साथ पालना गर्छौं । हाम्रो उत्पादनको जाँच भारतीय मसला बोर्ड तथा सरकारी प्रयोगशालामा समेत हुनेगर्छ ।’

एभरेस्टले आफ्नो उत्पादनको गुणस्तरमाथिको प्रश्नबारे आधिकारी सूचनाको पर्खाइमा रहेको बताएको छ । हानिकारक रसायनबारे आफ्नो गुणस्तर विभागले समेत परीक्षण गरिरहेको उसको भनाइ छ ।

‘हरेक निर्यात अघि अन्तर्राष्ट्रिय मापदण्ड पालनाको यकिनका लागि भारतीय मसला बोर्डले उत्पादन परीक्षण गरेर बजारमा जान्छ । हाल उठेको सवालप्रति हाम्रो कम्पनीको ध्यानाकर्षण भएको छ । उक्त सवालको आधिकारिक सूचनाको पर्खाइमा हामी छौं । एथिलिन अक्साइडबारे हाम्रो गुणस्तर विभागले पनि आन्तरिक जाँचबुझ गरिरहेको छ ।’

के हो एथिलिन अक्साइड ?

एथिलिन अक्साइड रंगविहीन ज्वलनशील ग्यास हो । यसको प्रयोग कृषि, स्वास्थ्य तथा खाद्य प्रशोधन उद्योगमा किटनाशकका रुपमा प्रयोऊ गरिन्छ । मसला उद्योगमा सुक्ष्मजीवले पुर्‍याउने असर र किराबाट मसलामा हुनसक्ने क्षति न्युनीकरणका लागि यसको प्रयोग हुन्छ ।

विभिन्न स्वास्थ्य संगठनहरुले यसलाइ कार्सिनोजेनको वर्गमा राखेका छन् । यस रसायनको खतरालाई मध्यनजर गर्दै धेरै मुलुकले यसको प्रयोगबारे कडा कानुन समेत बनाएका छन् ।

एभरेस्ट र एमडीएचबारे अमेरिकामा पनि उठेको थियो प्रश्न

भारतीय मसलाको गुणस्तरबारे अमेरिकामा पनि प्रश्न उठेको थियो । सन् २०२३ मा अमेरिकी खाद्य तथा औषधीसम्बन्धी नियामकले सांभर तथा गरम मसला बजारबाट फिर्ता लान भनेको थियो ।

ती मसला प्रयोगशालामा परीक्षण गर्दा साल्मोनेला पाइएको थियो । उक्त ब्याक्टेरियाका कारण डायरिया, पेट दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने तथा उल्टी हुने समस्या उपभोक्ताहरुमा देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?