+
+

इलाम-२ मा कांग्रेस र माओवादीले किन टुंग्याउन सकेनन् उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १४:१६

१८ चैत, काठमाडौं ।१५ वैशाखमा उपनिर्वाचन हुने इलाम-२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरिसकेका छन् ।

एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई राईलाई उम्मेदवार बनाएका छन् ।

जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार चयन गर्न सकेका छैनन् ।

कांग्रेसको जिल्ला र प्रदेश समितिबाट ७ जनाको नाम सिफारिस भएर आएको छ । तर केन्द्रीय समितिले उम्मेदवार चयन गर्न सकेको छैन ।

कांग्रेस विधान अनुसार तल्लो तहले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने भएपनि जिल्ला र प्रदेश समितिले भेषराज आचार्य, डम्बर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।

सभापति शेरबहादुर देउवाले इलाम सभापति डम्बर खड्कालाई १८ चैतमा उम्मेदवार तय गर्ने बताएका थिए । तर महामन्त्री विश्वप्रकाश शर्मा स्थलगत अवस्था बुझेर फर्केपछि टुंगो लगाउने भनिएकाले थप दुई दिन ढिलो भएको खड्काले बताए ।

सभापति देउवाले मंगलबारका लागि कार्यसम्पादन समितिको बैठक डाकेका छन् । कार्यसम्पादन समिति उम्मेदवार बारे छलफल गराएर संसदीय बोर्डबाट अनुमोदन गरिने भएको छ ।

संसदीय बोर्डको बैठक भने आह्वान गरिएको छैन । संसदीय बोर्डले पूर्णता भने पाइसकेको छैन । गत चुनावमा १४ पदाधिकारी र नेता रामचन्द्र पौडेल थप गरेर संसदीय बोर्ड बनाई टिकट वितरण गरिएको थियो ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले इलाम-२ र बझाङ प्रदेश सभा (क) मा उम्मेदवार बनाउने निर्णय गरेको थियो । आइतबारसम्म माओवादीले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

माओवादीले आफ्ना उम्मेदवारलाई सहयोग गर्ने अपेक्षा एमालेले राखेको छ । शनिबार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनमा माओवादीले सहयोग गर्न बताएका थिए ।

एमाले अध्यक्ष ओलीले उपनिर्वाचनमा अन्तिम समयमा सघाउन माओवादी केन्द्र तयार हुने दाबी गरे । शनिबार उनले भने, ‘अन्तिममा पुग्दासम्म माओवादीले हामीलाई समर्थन गर्छ ।’ कांग्रेसलाई जिताउन नमिल्ने भएकाले माओवादीले एमालेलाई नै सघाउने ओलीको दाबी छ ।

इलाम-२ मा माओवादीले छुट्टै उम्मेदवार बनाउने उक्त दलका कोशी अध्यक्ष हर्क नेम्बाङले बताए । ‘जिल्लाको बैठक बसिरहेको छ । साँझसम्म जिल्लाले टुंगो लगाएन भने प्रदेश कमिटीले आजै केन्द्रमा नाम सिफारिस गर्दछ’, नेम्बाङले अनलाइनखबरसँग भने ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले २४ चैतमा उम्मेदवार दर्ताको समय तालिका बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?