+
+

‘५ वर्षपछि ट्राफिकले चिट काट्दा थाहा भयो लाइसेन्स त नक्कली रहेछ !’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते २०:३३

१९ चैत, काठमाडौं । वीर अस्पताल अगाडि ९ फागुनमा सवारी नियम उल्लंघन गरेको आरोपमा बा २ ज २०७३ नम्बरको ट्याक्सीका चालक कारबाहीमा परे । काभ्रेको धुलिखेल नगरपालिका–९ बस्दै आएका २७ वर्षीय सुशान्त घिमिरेको सवारी चालक अनुमति पत्र ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र २४ घण्टे पूर्जी थमायो ।

अर्को दिन पैसा तिरेर सवारी चालक अनुमति पत्र लिन जाँदा उपत्यका ट्राफिक प्रहरी कार्यालयका अधिकृतहरुले उनलाई केरकार गरे ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, उनको लाइसेन्स शंकास्पद देखिएपछि अनलाइनमार्फत विवरण खोजिएको थियो । त्यसक्रममा उनको लाइसेन्स नम्बरमा अर्कै व्यक्तिको विवरण देखिएको थियो ।

सुरुमा त घिमिरेले त्यो लाइसेन्स आफ्नै भएको र ट्रायल दिएर निकालेको दाबी गरे । तर, ट्राफिक प्रहरीले विवरण देखाएपछि उनले आफ्नो लाइसेन्स नक्कली भएको स्वीकारे । घिमिरेले प्रहरीलाई बताएअनुसार, कम्तीमा ५ वर्ष अगाडि उनी पोखरास्थित ओपन हाउस नामक होटलमा वेटरका रुपमा काम गर्थे ।

त्यही क्रममा कान्छा दाइ नामक व्यक्तिसँग उनको चिनजान भएको थियो, जसले उनलाई लाइसेन्स बनाइदिने अफर गरेका थिए ।

‘मैले फुर्सदको बेला होटलको गाडी समेत चलाउने गरेको थिएँ, एकपटक गाडी चलाएको देखेपछि उहाँले राम्रो चलाउँदो रहेछौं, लाइसेन्स छ कि छैन भनेर सोध्नुभएको थियो’, उनले भनेका छन्, ‘मैले छैन भनेपछि मलाई नागरिकताको फोटोकपी, फोटो र ब्लड ग्रुप खुल्ने कागजहरु ल्याउन लगाउनुभएको थियो ।’

यसको झण्डै ३/४ महिनापछि कान्छा दाइ भन्ने व्यक्तिले आफूलाई ‘बी’ र ‘एफ’ वर्गको लाइसेन्स ल्याएर दिएको उनले बताएका छन् । त्यसपछि झण्डै ३/४ महिना त्यहाँ होटलको गाडी चलाउने काम गरेको र पछि छाडेर काठमाडौं आएको घिमिरेले खुलाए ।

९ फागुनमा घरमा बसिरहेका बेला भाइ नाता पर्ने व्यक्तिले आफू बिरामी भएको भन्दै ट्याक्सी चलाएर काठमाडौं पुर्‍याइदिन भनेपछि घिमिरे ट्याक्सी चलाएर वीर अस्पताल आएका थिए ।

‘मैले उसको आग्रहलाई स्वीकारेर गाडी चलाएको थिएँ, वीर अस्पतालमा बिरामी लिनका लागि जाँदा अस्पताल अगाडि सडकमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीले चिट काटेका हुन्’, उनले भनेका छन्, ‘बग्गीखाना जाँदा लाइसेन्स नक्कली भन्ने सुनेँ, अहिलेसम्म कसैले केही भनेको थिएन । मलाई लाइसेन्स नक्कली भन्नेपनि थाहा थिएन ।’

लाइसेन्स नक्कली भएको खुलेपछि थप कारबाहीका लागि ट्राफिक प्रहरीले उनलाई कारबाहीका लागि प्रहरी वृत्त, जनसेवा पठाएको थियो ।

जनसेवा प्रहरीले गरेको अनुसन्धानका क्रममा उनले बोक्दै आएको लाइसेन्स सुदर्शन अर्यालको नाममा पहिल्यै जारी भएको खुलेको थियो । यसपछि उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ मा भएको कीर्ते गर्नु नहुने कसूरमा मुद्दा दर्ता भएको थियो ।

यदि उनीविरुद्धको कसूर प्रमाणित भए ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँ जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?