+
+

बागमतीमा एकीकृत समाजवादीकी रमा आले मगर मन्त्री नियुक्त

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० चैत १९ गते २१:०७

१९, चैत हेटौंडा । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर मन्त्री नियुक्त भएकी छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई सोमबार मन्त्री नियुक्त गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । प्रदेश प्रमुख कार्यालयमा मंगलबार बिहान ९ बजेलाई शपथ ग्रहण कार्यक्रम तय गरिएको स्रोतको जनाएको छ ।

उनको मन्त्रालय भने सात दिनभित्र टुंग्याउने सहमति भएको स्रोतको दाबी छ । रमा एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन् । चन्द्रागिरी नगरपालिकाकी रमा काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भएकी हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि सांसद रहेकी उनी एक वर्षअघि चैतमै भएको सरकार विस्तारको क्रममा शपथको निम्तो पाएर पनि खाली हात काठमाडौं फर्कनु परेको थियो ।

अनलाइनखबरसँग कुरा गर्दै मगरले विना विभागीय मन्त्री नियुक्त गरिए पनि आफू खुशी भने नभएको सुनाइन् । ‘म खुशी त छैन । तर बिहान ९ बजेलाई शपथ लिन बोलाउनुभएको छ’, उनले भनिन् । सात दिनभित्र जिम्मेवारी दिने मुख्यमन्त्री जम्कट्टेलले प्रतिबद्धता जनाएकाले शपथ लिन जाने उनले बताइन् ।

गत चैतमा आफूलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिने भनेर काठमाडौंबाट बोलाइएको र अन्तिममा निर्णय परिवर्तन भएको जानकारी गराएको उनले स्वीकार गरिन् । सोमबार जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनको लागि बोलाइएको प्रदेशसभा बैठक सांसद मगरकै कारण चार घण्टा प्रभावित बनेको थियो ।

दिउसो १ बजेसम्म काठमाडौंमै रहेकी उनले विगतको घटनालाई कारण देखाएर विश्वासको मत दिन हेटौंडा आउन अस्वीकार गरेकी थिइन् ।  मन्त्री पद दिने प्रतिवद्धतापछि उनी साढे ३ बजेभित्र हेटौंडा आएकी थिइन् । उनी आएपछि मात्रै प्रदेशसभा बैठक साढे ४ बजे सुरु भएको थियो र मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाए ।

लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?