+
+

चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते ८:३८

२० चैत, विराटनगर । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको शहीद मैदानमा सोमबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा एपीएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एपीएपका प्रदिप लामा र अनिष महर्जनले एक/एक गोल गरे ।

एपीएफले अब बुधबार फाइनल प्रवेशको लागि घरेलु टोली सांग्रिला मोरङ एफएसँग सेमिफाइनल खेल्नेछ ।

पहिलो हाफमा एपीएफले दबाब बनाए पनि दुवैतर्फबाट गोल नहुँदा गोलरहित बराबरीमा सकिएको थियो ।

एपीएफका लागि प्रदिप लामाले ५७ औं मिनेटमा ध्यभागबाट बललाई एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी अग्रता दिलाएका थिए ।  ८१ औं मिनेटमा अनिषले विदेश खेलाडी फोडे फोफोनाको पासमा गोल गर्दै जित पक्का गरे ।

छैठौं संस्करणको विराट गोल्डकपको विजेता समेत रहेको एपीएफले दश महिना पछि शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हारेको बदला समेत लिएको छ । लिग फुटबलमा चर्च ब्वाइजले  एपीएफलाई ४-१  गोलले पराजित गरेको थियो ।

इटहरी गोल्डकपको उपाधि जितेको चर्च ब्वाइजले डिफेन्समा राम्रो प्रदर्शन गर्न नसक्दा विराट गोल्डकपमा पहिलो खेलमै पराजित हुँदै बाहिरिएको हो । यस्तै गोल गर्ने केही राम्रा अवसर बनाएको चर्च ब्वाइजले त्यसलाई सदुपयोग गर्न सकेन ।

आधा दर्जन प्रहार गोल गर्न चुक्दा चर्च ब्वाइज पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्दा विराट गोल्डकपको दाबीदारीको रुपमा हेरिएको चर्च ब्वाइजको लागि दुर्भाग्यपूर्ण बन्यो ।

जितपछि एपीएफका प्रशिक्षक सुमन श्रेष्ठले पछिल्लो दुई भेटमा भएको पराजयको बदला लिन सफल भएको बताए । ‘अघिल्लो खेलहरुमा पनि प्रदिप लामाले गोल गरेका थिए । उनीसँगै अहिले एपीएफको टिम सन्तुलित रहेको छ ।’

हारपछि चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले टिम सेटको दुई जना खेलाडी गोल्डकप बाहिर हुनु नै टोलीको पराजयको कारण रहेको बताए ।

खेलको म्यान अफ म्याच एपीएफका प्रदिप लामा घोषित भए । उनले नगद ११ हजार पाए ।

विराट गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?