+
+

वैवाहिक बलात्कारमा न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १९:२६

२१ चैत, काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका जिल्ला न्यायाधीश भुवन गिरीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरु हरि फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

पतिपत्नीबीचको सम्बन्ध नै विवादमा परेको अवस्थामा न्यायाधीश गिरी एक्लै पीडितको कोठामा जाने विषय स्वभाविक नदेखिएको भन्दै सर्वोच्च अदालतले उनीमाथि लागेको वैवाहिक बलात्कारको मुद्दामा कसुरदार होइन भन्न नमिल्ने आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘समग्र परिस्थिति र प्रमाणहरुलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसूरदार रहेनछन् भन्न सकिने अवस्था नहुँदा मुद्दाको पुर्पक्षका लागि थुनामा राखी कानून बमोजिम गर्नू ।’

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

बुधबार सर्वोच्च अदालतमा जिल्ला र उच्च अदालतको आदेश विरुद्ध परेको निवेदनमा सुनुवाइ सुरु हुँदा इजलासमा उपस्थित आरोपित न्यायाधीशकी पत्नीले गुट्खाको प्याकेटबाट निकालेर शंकास्पद वस्तु सेवन गरेकी थिइन् । त्यसलगत्तै उनलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको थियो ।

भुवन गिरी न्यायाधीश पदमा रहेकाले उनले गरेको अपराधमा आफूले न्याय पाउन नसकेको भन्दै पत्नीले लगातार आन्दोलन गरेकी थिइन् । यसअघि पनि उनलाई पक्राउ गरी कारवाही हुनुपर्ने माग राखी आन्दोलन गरेको थियो ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गतवर्ष प्रहरीमा जाहेरी दिएकी थिइन् । न्यायाधीश गिरी कपिलवस्तुमै कार्यरत रहेकाले कपिलवस्तु प्रहरीले अनुसन्धान अघि बढाएन ।

राष्ट्रिय मानव अधिकार आयोगमा समेत उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । न्यायाधीश गिरीमाथि पत्नीलाई बन्धक बनाएर यौन शोषण गरेको आरोप थियो ।

त्यसपछि प्रहरीले गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । अदालतमा मुद्दा चलेपछि उनी धरौटीमा रिहा भएका थिए । अदालतमा मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?