+
+

भूषण दाहालको ‘ब्राभो डेल्टा शो’को दोस्रो सिजन हिमालय टिभीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:४०

काठमाडौं । टेलिभिजन पर्सनालिटी भूषण दाहालले आफ्नो चर्चित टिभी कार्यक्रम ‘द ब्राभो डेल्टा शो’को दोस्रो सिजन नयाँ शैली र प्रस्तुतिमा ल्याउने भएका छन् । ‘न्युज डकुमेन्ट्री शो’ बताइएको यो कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

बुधबार सामाजिक सञ्जालबाट कार्यक्रमको मर्मस्पर्शी टिजर भिडियो सार्वजनिक गर्दै दाहालले यसबारे जानकारी दिएका छन् ।  टिजरमा भूपी शेरचनको चर्चित कविता ‘मेरो चोक’लाई लिएर काव्यात्मक न्यारेसन प्रस्तुत गरिएको छ । उनले गुडिरहेको गाडीभित्रबाट न्यारेसन गरेका छन् ।

निश्चित मिति तय नभएपनि नयाँ वर्षको आगमनसँगै शो प्रसारण हुने उनले जानकारी दिए ।

‘यो शो बल्ल मूल संरचनामा आउँदैछ । कोभिडको कारणले स्टुडियोभित्र पुगेको थियो । अब आउटडोर र ओभरसिजको कभरेज धेरै हुन्छ,’ अनलाइनखबरसँग दाहालले भने, ‘राजनीति मात्र होइन, यसमा भेराइटी धेरै हुन्छ । नेपाली समाजका सबैखाले कथा यसमा हुन्छन् । न्युज वरपर घुम्ने डकुमेन्ट्री हो यो ।’

सिजन २ कम्तीमा एक वर्ष चल्ने उनले जनाए । अघिल्लो सिजन १२५ एपिसोडसहित दुई वर्ष चलेको थियो । यो टेलिभिजन कार्यक्रमलाई साझा कथा र दाहालले मिलेर उत्पादन गर्दैछन् । यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ भने साझा कथाको युट्युब च्यालनबाट पनि स्ट्रिमिङ हुनेछ ।

देशले नचिनेर विदेशिन बाध्य होनहार नेपालीको कथालाई पहिलो एपिसोडमा समेटिने दाहालले जनाए । ‘होनहार नेपाली जसलाई आफ्नो देशले चिन्या छैन । साधारण जर्नीमा जसरी युवाहरु बाहिर गइरहेका छन् । यस्तै जीवनयापनमा निस्किएको नेपाली जसले २०-२५ वर्ष विदेशी भूमिमा संघर्ष गर्‍यो, यसको कथा सुरुमा समेटिनेछ,’ उनले भने ।

उनले ‘न्युज डकुमेन्ट्री’को शैली नेपाली टेलिभिजनमा नयाँ हुने बताए । सूचना, समाचार र मनोरञ्जनको त्रिवेणी बनेको हिमालय टेलिभिजनले भूषण दाहाल र द ब्राभो डेल्टा शो टिमसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताए ।

यसैबीच, दाहालले यसअघि घोषणा गरेको कथानक फिल्म ‘ह्यासट्याग वृहशु’ले आगामी गर्मीयाममा एउटा निश्चित खाका पाउने भएको छ । यो फिल्म अहिले निर्माणाधीन प्रक्रियामा रहेको दाहालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?