+
+

कोलकातासँग दिल्ली १०६ रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते ६:२४

२२ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

यो जितसँगै तीन खेलबाट ६ अंक जोडेको केकेआर शीर्ष स्थानमा रहेको छ भने दिल्ली ४ खेलबाट २ अंक जोडेर ९औं स्थानमा छ ।

कोलकाताले  दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो ।

डीसीका लागि कप्तान ऋषभ पन्तले ५५ र ट्रिस्टान स्टुब्सले ५४ रन बनाए भने ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन जोडे । त्यसबाहेकका ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न नसकेपछि डीसी १६६ रनमै समेटिएको हो ।

केकेआरका वैभव अरोरा र वरुण चक्रववर्थीले तीन/तीन, मिचेल स्ट्राकले दुई र आन्द्रे रसेल र सुनिल नारायणले एक/एक विकेट लिए ।

विशाखापट्टनममा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासको दोस्रो ठूलो योगफल हो ।

आईपीएलमा यसै सिजनमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सविरुद्ध २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनाएको थियो ।

उक्त कीर्तिमान तोड्न कोलकातालाई अन्तिम ओभरमा १४ रन चाहिएको थियो । ईशान्त शर्माले ८ रन खर्चेर २ विकेट लिएपछि कोलकाताले उक्त कीर्तिमान तोड्न सकेन ।

कोलकाताको यसअघि आईपीएलमा उच्च योगफल २०१८ मा पन्जाब किंग्सविरुद्ध २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन थियो ।

कोलकाताका ओपनर सुनिल नारायणले ३९ बलमा ७ चौका ७ छक्कासहित सर्वाधिक ८५ रनको आक्रामक इनिङ खेले ।

युवा ब्याटर अंग्क्रिस रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए । रघुवंशी र नारायणले दोस्रो विकेटका लागि ४८ बलमा १०४ रनको शतकीय साझेदारी गरेका थिए ।

आन्द्रे रसेल १९ बलमा ४ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । रिंकु सिंह ८ बलमा १ चौका र ३ छक्कासहित २६ रनमा क्याच आउट भए ।

ओपनर फिलिप साल्ट र श्रेयस ऐर १८/१८ रनमा आउट भए ।

दिल्लीका एनरिच नोर्कियाले ४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?