+
+
फिडेल देवकोटासँग संवाद :

‘सबै कथा एकादेशमा एकजना राजा थिएबाट सुरु गर्नुपर्छ भन्ने छैन’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १६:५५

काठमाडौं । जर्मनीमा आप्रवासीको जीवन बाँच्दा फिडेल देवकोटाले कोरोनाकालको त्रासदी देखे । त्यही समय वैदेशिक रोजगारीमा विदेशिएका नेपालीका शव ल्याइँदाका फोटो र समाचार छ्याप्छ्याप्ती थिए । देश र आफ्नो मनोदशाबीच उनले कथा लेखे- ‘द रेड सुट्केस’ । यही शीर्षकमा उनले निर्देशन गरेको पहिलो कथानक फिल्म चैत ३० देखि प्रदर्शनमा आउँदैछ ।

दृश्य मानवशास्त्रमा विद्यावारिधि गरेका देवकोटा यतिबेला नेपालमा रहेर सोध र फिल्म निर्माणमा व्यस्त छन् । छोटा फिल्म र डकुमेन्ट्रीको अनुभव बटुलेका फिडेलको यो डेब्यु फिचर भेनिसमा वर्ल्ड प्रिमियर भयो । उनले यो फिल्ममार्फत परम्परागत कथावाचनको सूत्र मानिएको अरस्तुको ‘थ्री एक्ट’ संरचनालाई भत्काउन प्रयास गरेका छन् । यो प्रयत्न आगामी डेढ दशकमा मूलधारको फिल्मको हिस्सा बन्ने उनको आशा छ । फिल्म, कथावाचन र मानवशास्त्रका आयाममा रहेर निर्देशक फिडेल देवकोटासँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

 रातो सुट्केस’भित्र त्यस्तो के चीज छ ?

यो वस्तु फिल्मको रहस्यको पाटो हो । रातो सुट्केसभित्र इच्छा, आकांक्षा र सपना छन् । कुन आकारमा छन् र कसरी छन्, त्यो कुरा फिल्ममा देखिन्छ । यो एउटा संकेत मात्र हो । हामीजस्ता आममान्छेको इच्छा, आकांक्षा कुनै बाकसमा कैद छन् ।

अहिलेको समाज र समयसँग यो फिल्मको सान्दर्भिकता के छ ?

यो नेपालको समकालीन इतिहास हो । आजभन्दा ५० वर्षपछि हेर्दा पनि यसले अहिलेको समयको घटनाक्रम, जनताको सोच, आर्थिक र सामाजिक पाटोलाई चित्रण गर्छ ।

यो फिल्ममार्फत तपाईंले के कुरा अभिव्यक्त गर्न खोज्नुभएको छ ?

ममा पहिलेदेखि नै यो कथा भन्ने हुटहुटी थियो । कोरोनाले आक्रान्त बनाएको समयमा म आफू बर्लिनमा आप्रवासीको रुपमा थिएँ । भोलि के हुन्छ, आज के हुन्छ भन्ने विकराल स्थिति त्यतिबेला थियो । मेरो मनोदशा आफ्नो ठाउँमा छ, त्यो मनोदशामा मैले लेखेको कथा, हरेक दिन समाचार हेर्दा १५-२० लास नेपाल आएको परिस्थिति । मेरो आफ्नो परिस्थिति, देशको परिस्थिति र मेरो आफ्नो सोच यी तीन कुराको सन्दर्भमा यो कथालाई म आफूले जसरी भन्नुपर्छ भन्ने आगो त्यतिबेला बलेको हो ।

तपाईं दृश्य मानवशास्त्री पनि हुनुहुन्छ । वैदेशिक रोजगारीले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक पक्षमा कस्तो प्रभाव पारेजस्तो लाग्छ ? यो बुझाइलाई कसरी फिल्ममा मिसाउनुभएको छ ?

मानवशास्त्रीको हिसाबले हाम्रो समाजको बनोट र युवा हजारौंको संख्यामा बाहिर जाँदा यसले आजको दिन समाज, घर र संस्कार टुक्रिएको छ । यो त देखे, भोगेका छिटफुट घटनाक्रम हुन् । यसले विकराल र विषम परिस्थिति आउनेवाला छ नि, त्यसलाई त हामीले अहिलेसम्म प्रतीक्षा नै गर्न सकेका छैनौं । अबको १०-२० वर्षमा त यो आगो भएर आउँछ । अहिले नै युवा शक्तिको समस्या देखापर्न थालिसक्यो ।

मेरो पुर्ख्यौली घर गोर्खा हो । हामी बच्चा हुँदा बारहरु टमक्क लाएको, तरकारीबारी हुन्थ्यो । अहिले त्यहाँको जमिन बाँझो छ । हामी विदेशमा गएर निम्नस्तरीय काम गरिराख्या छौं । त्यही काम हामीले यहाँ पनि गर्न सक्थ्यौं । कुनै किसिमले विदेश नगएको मान्छे छैन, यही किसिमले त समाजलाई विखण्डन तुल्याउँछ ।

सभ्यतादेखि मानवीय विकासक्रम बसाइँसराइबाट भएको देखिन्छ । सायद यो धेरै छिटो भइरहेको छ कि । अहिले हिजोको जस्तो परिस्थिति होइन । मान्छे रोजगारीको लागि मात्र विदेशिंदा देशले धान्न सक्छ त ? विदेशिएका युवालाई देशमै राख्ने वातावरण हामीले बनाउनुपर्छ कि पर्दैन ? त्यो वातावरण किन बनेको छैन ? यो कुरा बुझ्न जरुरी छ । कसरी रोक्ने भन्दा पनि किन ? भन्ने प्रश्नको जवाफ चाहिन्छ ।

हामीले अहिले कस्तो कथामा ‘एक्सप्लोर’ गर्न जरुरी देख्नुहुन्छ ?

दुई कुरामा तपाईं प्रष्ट र इमान्दार हुनुपर्छ । तपाईंले आफ्नो कथा भन्न प्रयास गर्दै हुनुहुन्छ कि आफ्नो कथा बिक्री गर्ने प्रयास गर्दै हुनुहुन्छ ? यदि तपाईंले कथा बिक्री गर्ने प्रयास गर्दै हुनुहुन्छ भने त्यही अनुसारले जानुस् । यदि तपाईं वास्तवमै कथा भन्न चाहनुहुन्छ भने हाम्रो देशमा १२५/१३० थरी भाषा छन् । सांस्कृतिक विविधता छ । सांस्कृतिक रुपमा समृद्ध छ । त्यो परिस्थितिमा उभिएर हामीले हाम्रो माटो बोल्न कथा भन्न सकेका छौं कि छैनौं भन्ने प्रश्न आउँछ ।

अर्को प्रश्न के हो भन्दा हाम्रो आफ्नो ठाउँ, संस्कृति र संस्कारको कथावाचन शैली के हो भनेर बुझ्न पनि जरुरी छ । प्रत्येक थलोसँग आफ्नो खालको कथा भन्ने शैली हुन्छ । यहाँबाट हाम्रो आफ्नो मौलिक कथावाचनको कुरा गरौं । महाभारत, रामायण सुनेर हुर्किएको हामी, बच्चैदेखि सुनेर हुर्किएको हामी । महाभारत र रामायणको कथावाचन शैली निकै जटिल छ । एक-एक पात्रको निर्माण बलियो छ । हाम्रा बच्चासँग महाभारतको त्यति जटिल स्टोरी-टेलिङको ज्ञान छ ।

त्यो खालको गहिराइ हाम्रो कथावाचनमा आइरहेको छ त ? त्यो कुराको खोजी हुनुपर्छ । हाम्रो आफ्नो विरासत, हाम्रो आफ्नो कथा भन्ने शैली के हो भन्ने पहिचान गर्न जरुरी छ । तारोव्स्की, स्पिलवर्ग लगायतको कथामा काम गरौं भने उनीहरुले ३०-४० वर्षअघि नै काम गरिसक्या छन् । तिनलाई नै हामीले कपी गरेर के गर्ने ? स्पिलवर्गले पनि सायद ‘गुडफेलास’ बनाउन सक्थे नि । यो फिल्म किन मार्टिन स्कोरसिज नै बनाए भन्दाखेरि उसको संस्कार, हुकाई र पहिचान सबै यो फिल्ममा देखिन्छ । उसले आफ्नो जातीयता, पहिचान र सुगन्ध फिल्ममा ल्यायो ।

यसरी हामीले हाम्रो कथामा म को हुँ भन्ने कुरा खोज्नुपर्‍यो । हामी पहिचान राजनीति त गर्छौं नि, फिल्ममा यही पहिचान आयो कि आएन ? यो कुरालाई अभिव्यक्त गर्न सक्यौं कि सकेनौं ? हामीले आफ्नो संस्कार, संस्कृति र माटोबाट लिएर कथा भन्न सक्यौं भने विश्वले त्यो कथा र कथा भन्ने शैली, त्यस्ता कथा समेटिएका फिल्मलाई कदर गर्छ ।

भेनिस फिल्म फेस्टिभलमा बायाँबाट क्रमश: अभिनेताद्वय विपिन कार्की, सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ र निर्देशक फिडेल देवकोटा

उसो भए तपाईंले कस्तो संस्कार, संस्कृति र कथा वाचनको प्रयत्न यो फिल्मभित्र समेट्नुभएको छ ?

‘द रेड सुट्केस’मा मैलै अरस्तुको सुरुवात र अन्त्य, मुख्य चरित्र भन्ने संरचनालाई भत्काउन खोजेको छु । थ्री-एक्टको संरचनालाई मैले भत्काउन खोजेको छु । यसमा थ्री-एक्टको संरचना पनि छैन र प्रमुख पात्र पनि छैन । हेरिसकेपछि तपाईंलाई लाग्छ कि यो मैले देखिरहेको र भोगिरहेको कथा हो भन्ने लाग्छ । यस्तो घोत्लिएर सोच्नुभयो भने यसमा मुख्य पात्र छैन । विचार गर्नुस् त, यो अरस्तुले पहिल्यै बनाएको सिद्धान्त हो ।

फिल्मलाई फरक हिसाबले पनि भन्न सकिन्छ नि । सबै कथा एकादेशमा एउटा राजा थिएबाट सुरु गर्नुपर्छ भन्ने छैन नि त । फिल्म त विविधतामा एकता दिन सकिने प्लाटफर्म पनि हो ।

यदि भेनिसले छनोट नगरेको भए एउटा प्रमाणीकरणको कमी हुन्थ्यो होला । अबको डेढ दुई दशक पछाडि यस्तै फिल्म बन्दै गए भने यसरी पनि कथा भन्न सकिने रहेछ भन्ने कुरा मेनस्ट्रिममा आउन सक्छ । आज हामीले जे गर्छौं, त्यो १५-२० वर्ष पछाडिको मेनस्ट्रिममा आउने त हो नि । आज हामीले जुन परीक्षण गर्दैछौं, त्यो पछाडि मेनस्ट्रिम बन्ने हो ।

अहिले नेपाली फिल्ममा कसरी कथा भनिएको छ जस्तो लाग्छ ?

हाम्रो सबैभन्दा समस्याग्रस्त क्षेत्र भनेको कथा हो । कथा, कथाको संरचना र पात्र हुन् । कुरोसावाको कुरा गर्दा उसको सबै कथा सेक्सपियरको कथाबाट हो । तर उनले कसरी आफ्नो परिवेशमा ढाले ? हामीले बम्बैको फिल्म कपी नै गरौं, यदि यसरी कपी गर्दा सौगात मल्ललाई थारु बनाइन्छ भने उसले समाजशास्त्रीय रुपमा त्यो थारुको पात्र र रहनसहनको डिटेल्स देखिनुपर्‍यो ।

दर्शक भन्छन्- किन नेपाली फिल्म हेर्ने ? किनभने उसले यसमा नेपालीपन नै देख्दैन । नेपालीपन देखाउन त नेपाली परिवेश देखाउनुपर्‍यो नि । पात्र निर्माणमा उसको मनोविज्ञान, उसको सामाजिक पृष्ठभूमि । यी कुरामा हामी चुकिरहेका छौं जस्तो लाग्छ मलाई ।

पछिल्लो समय नेपालमा अब सम्बन्धको कथाबाट धेरै काल्पनिकतामा जानुपर्छ भन्ने आवाज आउन थालेको छ । यसमा तपाईंको भनाके छ ?

हामीले धेरै समय सोसल-रियालिज्म (सामाजिक यथार्थवाद)को कुरा गर्‍यौं । मलाई लाग्छ, यो कुरा धेरै भइसक्यो । योभन्दा पनि बाहिर फरक जनरा छन् भनेर भन्नुपर्‍यो । ‘द रेड् सुट्केस’ सोसल–रियालिज्म होइन, यो म्याजिक-रियालिज्म हो । म्याजिक रियालिज्म भनेको एउटा परिवेशमा रहेर पूर्ण रुपमा परिकल्पना गर्ने हो । यस्तो भएको भए यस्तो हुनसक्छ, यसमा मैले अलौकिक संसार र ल्याण्डस्केप सिर्जना गरेको छु । सायद तपार्इंले टिजर र ट्रेलरमा पनि महसुस गर्न सक्नुहुन्छ कि अलिकति फरक संसार । मैले आफूले परिकल्पना गरेको भूगोल हो ।

जसले भन्ने पनि त्यही हो- अहिलेसम्म नगरेको मेरो फिल्म भन्छन् । तर यो भन्ने चीज होइन । म के कुरामा निश्चित छु भने उहाँहरुले हेरिसकेपछि, मन पराएपनि, मन नपराएपनि यो भिन्न छ भन्ने लाग्छ । कुण्डकुण्ड पानी, मुण्डमुण्ड विचार भन्याजस्तो कसैलाई मनपर्न सक्छ, कसैलाई मन नपर्न सक्छ । मेनस्ट्रिममा तीव्र गतिका फिल्म हेर्नेलाई यो फिल्म मन नपर्न सक्छ । यो फिल्म हेर्न धैर्यता चाहिन्छ । धैर्यता छैन भने पूरै रनटाइम बिताउन कठिन हुन्छ । एड्भेन्चर रुचाउनेलाई यो अर्थपूर्ण लाग्न सक्छ ।

कस्तो कथामा काम गर्ने तपाईंको तयारी छ ?

मैले एकजना युट्युबरको नाम बिर्सें । उहाँले टिजर हेरेपछि त्यसमुनि एउटा भिडियो रहेछ । बेगुल भन्ने गाउँको नाम टिजरमा थियो । उसले यो गाउँ छैन भन्ने बुझेछ । के रहेछ भनेर बुझ्न गुगल गरेछ । गुगलमा उसले भौतिक र आध्यात्मिक संसारको मिलन बिन्दु भन्ने बुझेछ । त्यो ठाउँको नाम त्यसरी नै राखिएको हो । दुईजना दर्शकले पनि यसरी बुझे भने मेरो कामले सार्थकता पाउनेछ । म यथार्थपरक परिस्थिति र यस्तो भइदिएको भए भन्ने कथा भन्न चाहन्छु । के होला भन्ने कुराले मलाई चाँडै क्लिक हुन्छ । यथार्थपरक परिस्थितिसँग ‘ह्वाट इफ’को कुरा नै आगामी फिल्ममा ल्याउन मन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?