+
+

विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १९:०१

 २३ चैत, काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १९औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा एक ऐतिहासिक सहित २ स्वर्ण, २ रजत र १ कास्य जितेका थिए । गुणराज रुचालले सेमी प्रोको पुरुष ५४ केजीमा इटालीका ग्राभियल ओलारिउलाई पराजित गरी ऐतिहासिक स्वर्ण जितेका थिए । यसअघि विश्व च्याम्पियनसिपको सेमी प्रोमा कुनै पनि नेपाली मुवाँथाई खेलाडीले स्वर्ण जितेका थिएनन् ।

विश्व च्याम्पियनसिपको आठौं सहभागितामा गुणराज स्वर्ण जित्न सफल भएका हुन् । गुणराजको उपलब्धी मुवाँथाईमा कुनै पनि नेपाली खेलाडीले हासिल गरेको अहिलेसम्मकै उच्च हो । यसअघि पलिस्था कक्षपतिले २०१९ तथा सञ्जय राईले २०१७ मा भएको विश्व च्याम्पियनसिको एमेच्यारतर्फ स्वर्ण जितेका थिए ।

विश्व च्याम्पियनसिपको १९औं संस्करणमै परिका बतासले पनि स्वर्ण जितेकी थिइन् । एमेच्योरतर्फ महिला ४५ केजीमा परिकाले तीन पटककी विश्व च्याम्पियन मरिसियसकी रानीनी कुन्डास्वामीलाई पराजित गरी स्वर्ण जितेकी थिइन् । एमेच्यारतर्फ पुरुष ५१ केजीमा सुशील शाह ठकुरी र सञ्जय राईले रजत तथा ५७ केजीमा गुमान घर्ती मगरले कास्य जिते ।

गुणराजले १ लाख, परिकाले ५० हजार तथा सुशील, सञ्जय र गुमानले समान १०–१० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र पाए ।  उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा प्रशिक्षकद्वय राहुल मोक्तान र विगेन दराइ पनि समान १०–१० हजार नगद र प्रशंसासहित सम्मानित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?