+
+

पाकिस्तानी क्रिकेटरको फिटनेस ट्रेनिङ : पहाडमा ढुङ्गा बोक्नेदेखि बन्दुक चलाउनेसम्म

पहाडको डाँडाको उकालोमा पाकिस्तानी खेलाडीले बोकेको ढुङ्गा र बन्दुकले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ । आर्मीको एक सिपाहीले गर्नुपर्ने सबै ट्रेनिङ पाकिस्तानी खेलाडीले गरेका छन् ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत २६ गते २०:३२

विश्व खेलकुदमा प्रदर्शनसँगै फिटनेस निकै महत्त्वपूर्ण मानिन्छ । अझ पछिल्लो समय क्रिकेटमा प्रदर्शनभन्दा पहिलो प्राथमिकता फिटनेस देख्न सकिन्छ । त्यसैले राम्रो प्रदर्शन गर्दा पनि टोलीमा स्थान बनाउन नसक्ने क्रिकटर पनि थुप्रै छन् ।

जेठमा वेस्टइन्डिज र अमेरिकामा टी २० विश्वकप हुँदैछ । विश्वकप लक्षित गरेर सबै टोलीले खेलाडीको फिटनेसमा ध्यान दिएका छन् । खेलाडीलाई चोटबाट बचाउन टेस्टका प्रमुख टोलीलाई मुख्य चुनौती छ । लगातार खेलको कारण ओभर लोड हुँदा खेलाडी बढी घाइते हुने गर्दछन् ।

पाकिस्तान क्रिकेट बोर्डले आर्मी स्कुल अफ फिजिकल ट्रेनिङ काकुलमा २९ टी २० विशेष खेलाडीको फिटनेस क्याम्प नै लगाएको छ । २६ मार्चदेखि सुरू भएको फिटनेस क्याम्प आज सकिएकाे छ । जहाँ खेलाडीले दौड, सेटअप, पुसअप, डोरी चढ्ने, पर्खाल नाघ्ने, लङजम्प हाइजम्प र मान्छे बोकेर दौडिने, घिस्रिने लगायत सबै ट्रेनिङ गरेका छन् ।

पहाडको डाँडाको उकालोमा पाकिस्तानी खेलाडीले बोकेको ढुङ्गा र बन्दुकले सामाजिक सञ्जालमा राम्रो चर्चा पाएको छ । आर्मीको एक सिपाहीले गर्नुपर्ने सबै ट्रेनिङ पाकिस्तानी खेलाडीले गरेका छन् ।

चोटबाट बच्न आर्मी ट्रेनिङ

पछिल्लो समय पाकिस्तानका खेलाडी, विशेषगरी तीव्र गतिका बलरमा चोटको समस्या बढ्दो छ । त्यसैको कारण फिटनेस क्याम्प राखेको हो । तर यस्तो खालको फिटनेस क्याम्प पहिलो पटक राखिएको भने होइन ।

‘मलाई याद छ २०१७ मा पनि हामीले यहाँ ट्रेनिङ गरेका थियौं । त्यसबेला १५/२० दिन बिताएका थियौं । फिटनेस हाम्रो पूरा वर्ष चलेको थियो । जसले गर्दा निकै कम खेलाडीलाई चोट लागेको थियो । आगामी खेलमा पनि म त्यहीं आशा गर्छु,’ पाकिस्तानका कप्तान बाबर आजमले भने ।

पाकिस्तानले २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई १८० रनले हराउँदै उपाधि जितेको थियो । बाबरले गत अक्टोबर, नोभेम्बरमा भारतमा सम्पन्न एक दिवसीय विश्वकपमा खराब प्रदर्शनसँगै तीनै शैलीको कप्तानी छाडेका थिए । तर अघिल्लो हप्ता मात्रै बोर्डले टी २० र ५० ओभरको खेलमा कप्तान नियुक्त गरेको थियो ।

‘म यो ट्रेनिङ तेस्रो पटक गर्दैछु । यहाँ आउदा केही न केही नयाँ सिकेको हुन्छु । यस पटक टिममा एकता देखेको छु’, बाबरले भने । २५ वर्षीय युवा विकेटकिपर पाकिस्तानका मध्यक्रमका आक्रामक ब्याटर हुन् । वर्तमान पाकिस्तानका सबैभन्दा राम्रो स्पिन खेल्ने ब्याटर पनि हुन् ।

तर फिटनेसको कारण घरेलु क्रिकेटमा राम्रो गर्दागर्दै सिनियर टोलीमा पर्न संघर्ष गर्दै आएका छन् । झण्डै ११० केजी तौल भएका उनले भने, ‘यहाँ मैले ट्रेनिङ गर्दा प्राप्त गरेको कुरा नेभर गिभ अफ (कहिल्यै नहार्नु) हो । पहाडमा चढ्दा साँच्चै मज्जा आयो ।’

पाकिस्तानको टोलीमा मोहम्मद आमिर र इमाद वासिम सन्यास लिंदै फर्किएका छन् । आमिरले अन्तिम पटक २०२० र इमादले २०२३ मा खेलेका थिए ।

२८ वर्षीय उस्मान खान पहिलो पटक पाकिस्तानको बन्द प्रशिक्षणमा छन् । उनले यूएईबाट खेल्न चाहे पनि टोलीमा परेनन् । तर पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानबाट गत मार्चमा ९६, १०६ र १०० तीन लगातार उत्कृष्ट इनिङ खेलेपछि पाकिस्तानकै बन्द प्रशिक्षणमा परे । उस्मानले गत वर्ष ३६ बलमै पिएसएल इतिहासकै छिटो बलमा शतक हानेका थिए ।

पाकिस्तानका वर्तमान समयका सबैभन्दा तीव्र गतिका बलर हरिस रौफले भने, ‘म यहाँ आउँदा धेरै खुसी हुन्छु । मेरो आफ्नै सपना आर्मीमा भर्ती हुने थियो । आर्मीको जवानसँग ट्रेनिङ गर्न सपना पूरा भएको छ । जुन सेवा सुविधा यहाँ छ । त्यो बाहिर छैन ।’

पाकिस्तानले दुई सातापछि घरेलु मैदानमा न्युजिल्यान्डसँग पाँच टी २० आई खेलको सिरिज खेल्ने छ । त्यसपछि मे दोस्रो साता आयरल्यान्डमा गएर तीन टी २० र इंग्ल्यान्डमा चार टी २० आई खेलको सिरिज खेल्ने छ । ३ सिरिजले टी २० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली छनोट गर्नेछ ।

टी २० विश्वकपमा पाकिस्तानको समूह र सम्भावना

पाकिस्तान, भारत, आयरल्यान्ड, क्यानडा र अमेरिका समूह ए मा छन् । पाकिस्तानलाई शीर्ष दुईमा रहँदै सुपर–८ खेल्न कुनै कठिन देखिंदैन । तर सुपर–८ बाट सेमिफाइनलमा पुग्न भने शानदार प्रदर्शन गर्नुपर्ने हुन्छ । पाकिस्तानको मुख्य हतियार नै तीव्र गतिको बलिङ आक्रामण हो ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको विश्वकपमा स्थान पक्का छ । मोहम्मद आमिर, जमान खान, हसन अली, मोहम्मद वासिम जुनियर लगायतका खेलाडीले भने बाँकी सिरिजको प्रदर्शनमा भर पर्नेछ ।

ब्याटिङमा बाबर आजम, मोहम्मद रिजवान र फखार जमानमा बढी भर परेको छ । मध्यक्रम र तल्लोक्रम सुधार गर्न सके विश्वकपमा राम्रो प्रदर्शन गर्न सक्छ ।

टी २० विश्वकपमा पाकिस्तानको इतिहास

पाकिस्तान पहिलो संस्करण २००७ को फाइनलमा भारतसँग ५ रनले हार्न पुगेको थियो । २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१० र २०१२ को सेमिफाइनल तथा २०१४ र २०१६ मा दोस्रो चरणबाट बाहिरिएको थियो ।

२०२१ को टी २० विश्वकपको सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको थियो । उक्त संस्करणमा विश्वकप इतिहासमा पाकिस्तानले पहिलो पटक भारतलाई सुपर १२ मा हराएको थियो । पछिल्लो संस्करण २०२२ को टी २० विश्वकपको फाइनलमा पाकिस्तान इंग्ल्यान्डसँग ५ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?