+
+

राप्रपाको प्रदर्शन : उपत्यकामा विशेष सुरक्षा प्रबन्ध, ६ हजार प्रहरी फिल्डमा उतार्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते ८:२०
फाइल तस्वीर

२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्र तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ ।

सो प्रदर्शनलाई लक्षित गरी सोमबार काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठक बसेको थियो । सो बैठकले विशेष सुरक्षा रणनीति बनाएको र सोही रणनीति अनुसार सुरक्षाकर्मी परिचालन गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राप्रपाले प्रदर्शनका लागि विभिन्न जिल्लाबाट समेत मानिसहरुलाई काठमाडौंमा ओसारेको छ ।

प्रहरीको सूचनाअनुसार सोमबारसम्म २० वटा गाडीमा राप्रपाका मानिसहरु काठमाडौं भित्रिएका छन् । आज पनि केही भित्रिन सक्ने र पहिल्यैदेखि काठमाडौंमा रहेकाहरुसमेत गरेर करिब १० हजार जना प्रदर्शनमा सहभागी हुन सक्ने सुरक्षा अधिकृतहरुको आँकलन छ ।

‘राप्रपाले एक लाख जनालाई प्रदर्शनमा उतार्ने भने पनि करिब १० हजार जना हुन सक्ने हाम्रो आँकलन छ,’ नेपाल प्रहरीका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘हामीसँग काठमाडौंको प्रहरी फोर्स ६ हजार जनाको छ, तीमध्ये तत्काल केही प्रहरीहरु फिल्डमा हुन्छन् । आवश्यक परे थप फोर्स पनि फिल्डमा खटाउने भनेर तयारी अवस्थामा राखिएको छ ।’

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको छ ।

राप्रपाका नेताहरुले शान्तिपूर्ण तरिकाले निषेधित तोड्ने भने पनि निषेधित क्षेत्र तोड्दा प्रदर्शन शान्तिपूर्ण नहुने भएकाले प्रहरीले प्रदर्शनको रुट तय गरिदिने प्रयास गर्दै आएको छ । त्यसका लागि केही प्रहरी अधिकृतहरुले राप्रपाका नेताहरुसँग समन्वयको प्रयास गरिरहेका छन् ।

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गर्न लागिएको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा राप्रपा सम्बद्ध नेपाल सनातन धर्मसँस्कृति संगठनले सोमबार भृकुटीमण्डपबाट गौशालासम्म पैदलयात्रा गर्दै गणतन्त्रको प्रतिकात्मक पुत्ला जलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?