+
+

सुशासन समितिमा रविको सहभागिताबारे कांग्रेस सांसदले उठाए प्रश्न, खतिवडाले भने-बोलाएको होइन,आफैं आए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १२:१२
राज्य व्यवस्था तथा सुशासन समितिमा गर्हमन्त्री रवि लामिछाने ।

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई किन बोलाएको भन्दै कांग्रेस संसदीय दलको बैठकमा प्रश्न उठेको छ ।

समितिका सभापति एवम् कांग्रेस सांसद रामहरि खतिवडालाई सांसदहरुले लामिछानेलाई किन बोलाएको भनी प्रश्न गरेका हुन् । तर खतिवडाले भने आफूले बोलाएको नभई लामिछाने बैठकमा आफैं आएको बताए ।

यही चैत १४ गतेको राज्य व्यवस्था समितिको बैठकमा लामिछाने सहभागी भएका थिए । सो दिन ‘गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल’को कार्यसूची थियो ।

सहकारीको रकम अपचलनमा मुछिएका लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसकै नेतृत्वमा रहेको समितिमा लामिछानेले स्पष्टीकरणको मौका पाएका थिए । त्यसैले कांग्रेसका केही सांसदहरुले आजको संसदीय समितिको बैठकमा यो विषयमा कुरा उठाएका थिए ।

त्यसपछि समिति सभापति खतिवडाले गृहमन्त्री लामिछाने समितिको सभापति पनि भएकाले आफैं उपस्थित भएको बताए । ‘मैले पत्र काटेर बोलाएको होइन, उहाँ समितिको सदस्य भएकाले आफैं आउनु भएको हो,’ खतिवडाले भने ।

जीबी राई समूहले सञ्चालन गरेको सहकारीको रकम अपचलनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेमाथि कांग्रेसले प्रश्न उठाउँदै संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ । गृहमन्त्रीको संलग्नताको प्रमाण रहेको दाबी गर्दै कांग्रेसले त्यसको छानबिनका लागि संसदीय समिति नबनाए संसद अवरुद्ध हुने र त्यसको दोष सरकारले लिनुपर्ने चेतावनी दिँदै आएको छ ।

आजको संसदीय दलको बैठकले पनि संसदीय छानबिन समिति गठनको अडानलाई कायमै राख्ने निर्णय गरेको छ । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पार्टी सभापति शेरबहादुर देउवाले रवि लामिछाने विरुद्ध प्रमाणहरु भएको भन्दै संसदीय छानबिन समिति गठन हुनैपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?