+
+

व्यवसायी नतर्साउन प्रधानमन्त्रीको निर्देशन छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १७:०२

२८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजस्व तिरेर ढुक्कसँग व्यवसाय गर्न व्यवसायीलाई आग्रह गरे ।

मन्त्रिमण्डल पुनर्गठनपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र आफूलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई अकारण तर्साउने खालका प्रचारमुखी काममा नलाग्न निर्देशन दिएको उनको भनाइ थियो ।

मन्त्री पुनले गल्ती गर्नेमाथि पर्याप्त छानबिन गरी तथ्यका आधारमा राज्यले कारबाहीको दायरामा ल्याउने भए पनि व्यक्तिको सामाजिक प्रतिष्ठामै आँच पुग्ने काम नगर्न अनुसन्धान गर्ने निकायका अधिकारीलाई आग्रह गरे ।

लोकतान्त्रिक मुलुकमा कोही पनि कानुनमाथि नहुने स्पष्ट गर्दै कुनै पेसा र व्यवसायका व्यक्ति विशेषमाथि आरोप लाग्दा सामग्र क्षेत्रमाथि आरोपित गर्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गरे ।

राज्यको शक्ति कुनै पक्षमा वा विपक्षमा दुरुपयोग गर्न नहुनेमा जोड दिएका मन्त्री पुनले निजी क्षेत्रले राज्यलाई र राज्यले निजी क्षेत्रलाई कमजोर बनाउने काम गर्नु नहुने बताए ।

आगामी दिनमा विवेक प्रयोग गरेर मात्र अनुसन्धान हुने र व्यक्तिका सामाजिक मर्यादाको सम्मान हुनेमा सरकारका तर्फबाट आफूले प्रतिबद्धता जनाउन सक्ने मन्त्री पुनको भनाइ थियो ।

कानुनभित्र बसेर व्यवसाय प्रवर्द्धन गर्ने काम सरकारको भएको भन्दै उनले राज्यलाई कर तिरेर नाफा कमाउन पाउने व्यवसायीको हक सुरक्षित रहेको मन्त्री पुनको स्पष्टोक्ति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?