+
+

नेपालले क्षेत्रीय बजारमा उपस्थिति जनाइसक्यो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते १६:५५
फाइल तस्वीर

२९ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले माथिल्लो अरुण र दूधकोशीजस्ता ठूला आयोजना निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताएका छन् ।

माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तिय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकका पदाधिकारीसँग बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा बोल्दै अर्थमन्त्री पुनले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा सरकार स्पष्ट रहेको बताए ।

उनले दुवै आयोजनाको तयारी राम्रोसँग भइरहेको भन्दै प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकले सहवित्तकर्ताहरूसँग समन्वय गरिरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।

मन्त्री पुनले दुई ठूला आयोजना निर्माणपछि नेपालको अरु ठूला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सम्झौता गरेको तथा बंगलादेशलाई ४० मेगावाट विद्युत दिन लागिएको भन्दै आन्तरिक मात्र नभइ क्षेत्रीय बजारमा समेत नेपालको विद्युतको माग रहेको उल्लेख गरे ।

क्षेत्रीय बजारमा थप माग बढ्ने सम्भावना रहेकाले आगामी दिनमा स्वच्छ ऊर्जा उत्पादनका लागि थप लगानी चाहिएको बताए ।

मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीको वातावरण राम्रो रहेकाले लगानी वृद्धि गर्न विश्व बैंक, एसियाली विकास बैंकसहित विकास साझेदारहरूलाई अपिल गरे ।

यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री बस्नेतले नेपालको जलविद्युतमा लगानी गर्न विकास साझेदारहरूलाई आग्रह गरे ।

२९ हजार हजार मेगावाट क्षमताको सम्भाव्यता अध्ययन सकिएको भन्दै उनले पाइपलाइनमा रहेका आयोजनामा लगानी गर्नेबारे धारणा बनाउन विश्व बैंक र एसियाली विकास बैंकलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?