+
+

बागमती प्रदेशले थप्यो ६७ करोडका टुक्रे योजना

रासस रासस
२०८१ वैशाख २ गते १६:४६

२ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६७ करोड रूपैयाँ बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत ४ सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बजेट उपलब्ध गराउन चैत १२ र २० गते दुईपटक गरेर सम्बन्धित मन्त्रालयमा थपिएका योजना प्रदेश सरकारको बजेट सूचना प्रणालीमा प्रविष्ट गर्न पत्राचार गरिएको मन्त्रालयका उपसचिव लक्ष्मी रिमालले बताइन्  ।

उनले आर्थिक मामिला मन्त्रालयले अर्थ विविध शीर्षकमा रहेको बजेटबाट खर्च गर्न सकिने गरी योजना कार्यान्वयनका लागि पत्राचार गरेको जानकारी दिइन् ।

‘भैपरी आउने भनी राखिने विविध शीर्षकको रकमबाट खर्च गर्ने गरी योजना थप भएका छन्’, रिमालले भनिन्, ‘मन्त्रालयबाट प्रणालीमा योजना थपिएपछि बजेट उपलब्ध गराउँछौं ।’ थपिएकामध्ये ३२ करोड रूपैयाँ बराबरको पूर्वाधारका योजना रहेको रिमालको भनाइ छ ।

भौतिक पूर्वाधार विकास कार्यालयले दिएको जानकारीअनुसार १ सय ६३ योजना १३ वटा कार्यालयबाट कार्यान्वयन गर्ने गरी रु‍. ३२ करोडको योजना थप भएर आएको छ थप गरिएका योजना कुलो, मन्दिर, आर्यघाटदेखि सडक निर्माणसम्म छन् ।

सबै योजना भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ, पर्यटन, उद्योग तथा सहकारी, सामाजिक विकास र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित छन् ।

भौतिकमा सडक स्तरोन्नति तथा निर्माण, भवन, कुलो, कल्भर्ट, मन्दिर, आर्यघाट निर्माण तथा मर्मतका लागि योजना थपिएका छन् । खानेपानी, ऊर्जा तथा सिंचाइमा खानेपानीका योजना, तरकारी बजार व्यवस्थापन, पहिरो नियन्त्रण, ढल व्यवस्थापनका टुक्रे योजना छन् ।

पर्यटन मन्त्रालयमा संस्कृति तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, मन्दिर संरक्षणका कार्यक्रम, गुठी, पाटी, सत्तल, विहारका निर्माण तथा स्तरोन्नति, बाल उद्यान निर्माण गर्नेलगायत योजना थप भएको समितिको प्रतिवेदनमा जनाइएको छ ।

सामाजिक विकास मन्त्रालयमा वितरणमुखी बजेट थप भएका छन् । लक्षित वर्गका लागि तालिम, गोष्ठी, सेमिनार, जनचेतनामूलक कार्यक्रम समावेश छन् । साथै विद्यालय सभाहल, शौचालय निर्माण, साना खेलका पूर्वाधार, फर्निचर खरिदलगायत योजना पनि थपिएका छन् ।

वन तथा वातावरण मन्त्रालयको नदी नियन्त्रण तथा पर्खाल निर्माण, शिवपुरी जङ्गल सफारीका लागि पूर्वसम्भाव्यता अध्ययन गर्ने, रानीवनमा टुरिजम पार्क बनाउनेलगायत साना योजना समावेश छन् ।

आर्थिक मामिला मन्त्रालयसँग अर्थ विविध शीर्षकमा ४ अर्ब २६ करोड ५० लाख ३ हजार ८५ रुपैयाँ बजेट छ । जसमध्ये चालुतर्फ ३ अर्ब २७ करोड १३ लाख ८३ हजार ८५ रुपैयाँ र पुँजीगततर्फ ९९ करोड ३६ लाख २० हजार रुपैयाँ बजेट रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?