+
+

टी-२० क्रिकेटको एकै खेलमा ५४९ रनको कीर्तिमानी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते ११:३६
हैदराबादका ट्रविस हेड र बेंग्लोरका दिनेश कार्तिक ।

४ वैशाख, काठमाडौं । पहिलो पटक टी-२० क्रिकेटको एकै खेलमा ५४९ रन बनेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा सोमबार राति सम्पन्न रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबादबीचको खेलमा यो कीर्तिमान बनेको हो ।

चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनाएको थियो ।

यसै सिजनमा मुम्बई इन्डियन्सविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै हैदराबादले आईपीएल इतिहासकै उच्च योगफल बनाएको थियो ।

बेंग्लोरले जवाफी ब्याटिङमा २० ओभरमा ७ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । बेंग्लोर २६२ र हैदराबाद २८७ रन गरेर एकै खेलमा ५४९ रन बनेको हो ।

यसअघि यसै आईपीएलमा मुम्बई र हैदराबादबीचको खेलमा ५२३ रन बनेको थियो । उक्त खेलमा हैदराबादले २७७ र मुम्बईले २४६ रन जोडेका थिए ।

बेंग्लोर र हैदराबादबीचको खेलमा ३८ छक्का र ४३ चौका गरी कुल ८१ बाउन्ड्री प्रहार भए । एकै टी-२० खेलमा सर्वाधिक बाउन्ड्री कीर्तिमान बराबर हो । यसअघि गतवर्ष वेस्टइन्डिज र दक्षिण अफ्रिकाबीचको खेलमा ८१ बाउन्ड्री (४६ चौका र ३५ छक्का ) प्रहार भएको थियो ।

एकै खेलमा ३८ छक्का प्रहारको कीर्तिमान पनि बराबर हो । मुम्बई र हैदराबादबीचको खेलमा पनि कुल ३८ छक्का प्रहार भएको थियो ।

हैदराबादलाई विशाल योगफलमा पुर्याउन ट्रविस हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित सर्वाधिक १०२ रनको शतकीय इनिङ खेले । हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको आक्रामक इनिङ खेलेका थिए ।

उता बेंग्लोरका दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्कासहित ८३ रन बनाउँदै खेललाई रोचक बनाउन सफल भएका थिए । ओपनर तथा कप्तान फाफ डु प्लेसिस २८ बलमा ७ चौका र ४ छक्कासहित ६२ रन जोडे ।

बेंग्लोरका ४ बलरले अर्धशतक छोएका थिए । समान चार ओभरमा रिस टोप्ली ६८, यश दयाल ५१, लोकी फर्गुसन ५२ र विजयकुमार वैश्यकले ६४ रन खर्चेका थिए । फर्गुसनले २ र टोप्लीले १ विकेट लिए ।

हैदराबादका भुवनेश्वर कुमारले मात्रै ४ ओभरमा ६० रन खर्चेका थिए । कप्तान प्याट कमिन्सले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?