+

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

२०८१ वैशाख  ४ गते १६:०६ २०८१ वैशाख ४ गते १६:०६
नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

विवाहपछि आफ्ना जीवनसाथीको बारेमा चासो राख्नु स्वभाविक हो । एकअर्काको इच्छा, आकांक्षा, उद्देश्य, आनीबानी, स्वभाव, रुचिबारे थाहा हुनु पनि पर्छ । यसले गर्दा आफूहरुमा के कुरा मिल्दो छ, के कुरा बेमेल छ भनेर मात्र थाहा हुँदैन बाँकी जीवनको योजना बनाउन पनि सहज हुन्छ ।

एकअर्काको क्षमता, रुचि र लक्ष्यलाई बुझेर नै दाम्पत्य सुखको बाटो पहिल्याउन सकिन्छ । यसले दाम्पत्य जीवनमा के कुरालाई प्राथमिकता दिएर अगाडि बढ्ने भनी सहज बनाउँछ ।

पढाइको कुरा, रोजगारको कुरा, पारिवरिक स्थितिका कुरादेखि सामान्य आनीबानीको कुरामा पनि एकअर्कालाई चासो हुन्छ । यसबारे सोधीखोजी गर्नु अन्यथा पनि होइन । यद्यपि त्यसलाई नै ठूलो कुरा भने बनाउनु भएन ।

एकअर्कालाई जान्न जरुरी छ

विवाहपछि एकअर्काको बानी-व्यवहार, रुचि र लक्ष्यबारे भने खुलेर कुराकानी हुनैपर्छ । विवाहअघि हामीलाई आफ्नो आनीबानीबारे खासै थाहा हुन्न । त्यसले खासै बाधा पनि गरेको हुँदैन । तर जब विवाह गर्छौं एकअर्काको आनीबानीले हाम्रो जीवनलाई प्रभावित गर्न थाल्छ ।

जस्तो कोही लथालिङ्ग हुन्छ, कोही व्यवस्थित । कोही झनक्क रिसाउने खालका हुन्छन्, कोही शान्त । कोही पैसा र करिअरमा लगाव राख्छन् भने कोही पारिवारिक मूल्यमा । कोही खानपानमा बढी सौखिन हुन्छन् भने कोही खानपानमा उदासीन । एकअर्काको आनीबानी के छ भनी बुझेर अगाडि बढ्यो भने दाम्पत्य सम्बन्धमा खटपट, मनमुटाव आउँदैन । किनभने दुवैले एकअर्कालाई स्वीकार र सम्मान गर्छन् ।

यस्तै विवाहअघि एकअर्काको इच्छा र आकांक्षा पनि बुझ्न जरुरी छ । मानौं विवाहपछि कोही विदेशमा जाने सोचाइमा हुनसक्छन् । कोही भने नेपालमै बसेर केही गर्ने योजनामा हुन सक्छन् । उनीहरुबीचको इच्छा मिल्दैन । यसले झगडा निम्त्याउँछ । त्यसैले विवाहअघि नै उनीहरुको इच्छा, आकांक्षाबारे खुलेर कुराकानी हुन जरुरी छ ।

अहिले धेरैजसो युवायुवती कामकाजी हुन्छन् । उनीहरु विवाहपछि कसरी पारिवारिक तालमेल मिलाउने ? कसरी घर-व्यवहार सम्हाल्ने ? कसरी करिअरलाई अगाडि बढाउने भनेर सरसल्लाह हुन जरुरी छ ।

यी कुराहरु लुकाउँदा वा एकअर्कालो यसबारे सोधीखोजी नगर्दा भने पछि त्यसले कलहको रुप लिन सक्छ । दाम्पत्य जीवनमा खटपट निम्त्याउन सक्छ । सधै मनमुटावको स्थिति ल्याउन सक्छ ।

विवाहपछि नवजोडीले एकअर्काको विगत जान्न जरुरी छ ?

मान्छेको स्वभाविक प्रवृत्ति हो, अर्काको बारेमा जान्न चाहने । अझ दम्पती नै भएपछि त एकअर्काको बारेमा जान्ने इच्छा तीव्र हुने नै भयो । यस क्रममा नवदम्पतीले एकअर्काको विगतबारे पनि जान्न चाहन्छन् वा जान्ने रुचि राख्न सक्छन् । यो स्वाभाविक हो ।

यद्यपि विगतको कुरा भन्नैपर्छ वा पर्दैन भनेर छिनोफानो गर्न सकिंदैन । किनभने यो श्रीमान वा श्रीमती कस्ता छन् भन्ने कुरामा निर्भर गर्छ । कोही खुला मनका हुन्छन् । एकअर्काको कमी कमजोरीलाई सहर्ष स्वीकार गर्ने खालका हुन्छन् ।

यस्तो स्थितिमा उनीहरुले एकअर्काको विगतबारे खुलस्त कुरा गर्न सक्छन् । प्रेम सम्बन्धका कुरा गर्न सक्छन् । शारीरिक सम्बन्धका कुरा गर्न सक्छन् । यसले उनीहरुमा एकअर्काप्रति विश्वास अरु प्रगाढ बनाउन सक्छ । कुनैपनि कुरा नलुकाउने स्वभावले गर्दा दाम्पत्य सम्बन्ध पारदर्शी हुन्छ ।

यद्यपि यसमा सबैलाई करकाप गर्नुपर्छ भन्ने छैन । कतिपयको स्वभाव आफूलाई खुला रुपमा व्यक्त गर्ने खालको नहुन सक्छ । त्यस्तै कोही पुरातन सोंच राख्ने खालका हुन्छन् । यदि आफूलाई असहज हुने स्थिति छ भने विगतको कुरा खुलेर भन्नैपर्छ भन्ने छैन । आफ्नो आन्द्राभुँडी देखाउनुपर्छ भन्ने छैन ।

किनभने कतिपय मान्छेले यस्तो कुरा पचाउन सक्दैनन्, स्वीकार्न सक्दैनन् । विगतमा पार्टनरको कुनै प्रेम सम्बन्ध थियो भन्ने कुरालाई ग्रहण गर्न सक्दैनन् । उनीहरुको अगाडि यी कुराहरु खुलस्त गर्दा झगडाको निहुँ बन्छ । यसले उनीहरुको सुमधुर सम्बन्धलाई थप जटिल बनाउन थाल्छ ।

तर कतिपयको हकमा के हुन्छ भने विगतको कुरा खुलस्त गर्नु जरुरी हुनसक्छ । त्यस्ता कुरा लुकाउँदा अझ आफूलाई कठिन हुनसक्ने, पछि पार्टनरले थाहा पाएमा सम्बन्ध नै बिग्रिन सक्ने स्थिति भएमा विगतको कुरा खुलेर साझेदार गर्नुपर्छ ।

यस्तो अवस्थामा विगतको कुरा खुलस्त रुपमा भनेर पार्टनरसँग पारदर्शी सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले बाँकी जीवन सुमधुर र प्रगाढ हुनसक्छ ।

के लुकाउने, के खुलाउने ?

सबैको राम्रो र नराम्रो दुवै विगत हुन्छ । एउटा हदसम्म दुवै पार्टनर एकापसमा बुझ्नेछन् भने केही कुरा पनि नलुकाइकन सबैकुरा खुलस्त रुपमा भनेकै राम्रो हुन्छ । किनकि केही कुरा नलुकाइन बनाएको सम्बन्ध सुमधुर र दीर्घकालीन हुन्छ ।

दाम्पत्य जीवन सुरु हुनुअगावै भन्नैपर्ने विगतका कुराहरु छन् भने खुलस्त रुपमा भनेको राम्रो हुन्छ । जस्तै प्रेम सम्बन्धको कुरा, बानी-व्यवहार, समस्या, रोगको पारिवारिक अवस्था, इच्छाआकांक्षा, लक्षण इत्यादि । जस्तै विगतमा प्रेमसम्बन्धमा बस्दा आफ्नो केही गोप्य फोटो वा भिडियोमार्फत पूर्वप्रेमी वा प्रेमिकाले ब्ल्याकमेल गरिरहेको छ भने त्यस्तो कुरा हुनेवाला पार्टनरलाई भन्नुपर्छ ।

तर कुनै कुरा भन्न आवश्यक छैन र त्यो कुरा भन्दा झन् जीवनमा नकारात्मक असर पर्न सक्छ भने त्यस्तो कुरा लुकाएको राम्रो हुन्छ । जस्तै पुरानो शारीरिक सम्बन्धको कुरा । तर यो पनि पार्टनर अनुसार फरक-फरक हुन्छ । कसैले सहज रुपमा लिएको हुन्छ भने कसैलाई पच्दैन । त्यसैले यस्तो कुराहरु विवाहअघि भनेको छैन भने विवाहपछि पार्टनरलाई भन्नु राम्रो नहुन सक्छ । कुनै आफ्नो गोप्य कुरा विवाहअघि खुलाएको छैन भने विवाहपछि पनि नखुलाउँदा नै दाम्पत्य जीवन राम्रो हुन्छ ।

सम्बन्धमा कसैलाई ठग्न हुँदैन

सम्बन्धमा कसैले कसैलाई ठग्नु हुँदैन । सबैको आ-आफ्नो सोच हुन्छ । त्यसैले कसैले केही पुराना कुराहरु गोप्य राख्न खोज्छन् वा चाहन्छन् भने त्यसलाई सम्मान गरी स्वीकार गर्नुपर्छ । कोट्याउने काम गर्नुहुँदैन । वर्तमान दाम्पत्य जीवन सुखमय छ भने एकअर्कोको गोपनीयतालाई सम्मान गर्दै स्वीकार्नुपर्छ । एकअर्काको पहिलेको जीवनको कमीकमजोरीललाई बिर्सेर र बुझिदिएर अगाडि बढ्दा दाम्पत्य जीवन राम्रो हुन्छ ।

डा. ऋषभ कोइराला नवदम्पती सम्बन्ध
डा. ऋषभ कोइराला
लेखक
डा. ऋषभ कोइराला
मानसिक रोग विशेषज्ञ

डा. कोइराला हाल ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा कार्यरत छन् । उनले मनोचिकित्सामा एमडी र आघात स्वास्थ्यमा पीएचडी गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८४१४ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय