+
+

सुन प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १३:०५

६ वैशाख, काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।

नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको पुष्टि गरे ।

ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा जोडिएपछि डिफ्युजनका लागि नोटिसका सीआईबीले पत्राचार गरेको थियो ।

प्रहरी महानिरीक्षकको नेतृत्वमा हुने इन्टरपोलको नेसनल कन्ट्रोल ब्युरो (एनसीबी), काठमाडौंले इन्टरपोल महासचिवालयलाई चलाउनेविरुद्ध डिफ्यूजन नोटिस जारी गर्न पत्राचार गरेका थियो ।

यो नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा चलाउने भएको वा नभएको लोकेट हुनेछ, त्यसपछि उनलाई डिपोर्ट गराएर नेपाल ल्याउने प्रक्रिया थालिने प्रहरीले जनाएको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका बेल्जियन नागरिक दावा छिरिङसँग चलाउनेको सम्बन्ध देखिएको थियो । राजश्व अनुसन्धान विभागले ३ साउनमा मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर ल्याएको ठूलो परिमाणको सुन बरामद गरेको थियो ।

त्यसबेला झण्डै एक क्विन्टल सुन भन्सार जाँच पास पार गरेर बाहिरिएको भनिएपनि पछि जोख्दा ६० किलोमात्रै सुन भेटिएको थियो ।

१९ दिनपछि यसमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले थप अनुसन्धान गर्न सम्पूर्ण प्रतिवेदन सीआईबीलाई जिम्मा लगाएको थियो । त्यसक्रममा भएको अनुसन्धानपछि सीआईबीले यो समूहले थप ३०२ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको थियो ।

यो मामिलामा सीआईबीले दावा, जीवनसहित २९ जनालाई प्रतिवादी बनाएर सुन भन्सार चोरी पैठारी र संगठित अपराध समेतको कसुरमा मुद्दा चलिरहेको छ । पछि सुन तस्करीको थप छानबिन गर्न भन्दै पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सिमिति बनाइएको थियो ।

समितिले चलाउनेलाई सीआईबीका प्रहरीले समातेर पनि छाडेको भन्दै प्रहरीलाई कारबाही गर्न समेत सिफारिस गरेको थियो । आयोगको सिफारिसपछि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीद्धय रुगम कुँवर र दुर्गा दाहाललाई सीआईबीबाट प्रहरी हेडक्वाटर सरुवा गरिएको थियो ।

आयोगकै सिफासरपछि सुन तस्कर चिनियाँ नागरिकसँग सम्बन्ध देखिएको भन्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई पक्राउसमेत गरेको थियो । स्वास्थ्य स्थितिका कारण देखाउँदै महरालाई हिरासतमुक्त गरिए पनि उनीमाथि सीआईबीले अनुसन्धान जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?