+
+

एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशीषले तोडे ३६ वर्षअघिको रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १९:३९

६ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित १४औं राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशीष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भंग गरी स्वर्ण जिते ।

आशीषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् । प्रतियोगिता स्थलमै रहेका धनवीरले आशीषलाई प्रोत्साहन स्वरुप नगद पनि प्रदान गरेका थिए । बागमती प्रदेशका विशाल गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेस्रो भए ।

सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो तथा बागमतीकी अपेक्षा महतो तेस्रो भइन् ।

छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् । लुम्बिनीकी गुञ्जा यादव दोस्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेस्रो बनिन् ।

उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कास्य हात पारे ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते ।

उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो ।

लुम्बिनी दोस्रो तथा सुदूरपश्चिम तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेश प्रदेश दोश्रो र बागमती प्रदेश तेस्रो बने ।

तीनदिने एथलेटिक्स प्रतियोगितामा अन्तिम दिनको ३ सहित कुल ५ जुनियर राष्ट्रिय कीर्तिमान बने । पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

दोस्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन् ।

बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोस्रो तथा लुम्बिनीका सुराज थापा तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोस्रो तथा बागमतीकी एलिना विक तेस्रो बने ।

छात्रको २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोस्रो तथा बागमतीका सन्तबहादुर दराई तेस्रो भए ।

उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कास्य हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?