+
+

एथलेटिक्समा टीयूलाई ५ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १९:५८

२२ माघ, काठमाडौं । त्रिभूवन विश्वविद्यालय (टीयू)ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले जित्यो ।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप० द्वारा आयोजित प्रतियोगिताको पुरुष १५०० मिटर दौडमा टीयूका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी ४ मिनेट ३०।१ सेकेन्डमा पूरा गरे ।

टीयूकै विकेश घिमिरे दोश्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेश्रो भए । सोही स्पर्धाको महिलामा टीयूकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५।५ सेकेन्डमा तय गर्दै पहिलो भइन् । काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोश्रो तथा लुनिया त्वायना तेश्रो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ५६।३५ सेकेन्ड समय खर्चे ।

टीयूका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते । उक्त स्पर्धाको महिलामा टीयूकी अनामिका देवकोटा १ मिनेट १५।३५ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकी भावना पाण्डे दोश्रो तथा गण्डकीकी कृति गिरी तेश्रो स्थानमा रहे ।

पुरुष लङजम्पमा टीयूका दिवस रेग्मी पहिलो भए । उनले ६।२७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोश्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेश्रो भए । त्यसै स्पर्धाको महिलामा टीयूकी संचिता घिमिरेले स्वर्ण जितिन् । संचिताले ४।२४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोश्रो तथा सुदूरपश्चिमकी भावना पाण्डे तेश्रो भए ।

टेबलटेनिसमा पनि टीयूलाई डबल्स स्वर्ण

टेबलटेनिसको पुरुष डबल्समा टीयूका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले पुरुष डबल्समा स्वर्ण जितेका छन् । उक्त जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे ।

पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुष कुँवर र दिपेश रानाभाटको जोडी संयुक्त रुपमा तेश्रो भए । पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले टीयूका आदित्य धौनियालाई ३–० तथा टीयूका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा टीयूकी लस्ता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० तथा पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टीयूकी गीताञ्जली गुरुङलाई ३–२ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए ।

भलिबलमा सेमिफाइनल समिकरण पूरा

जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टीयू तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, बिना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

दुईदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् । भलिबलमा छात्र टोली मात्र सहभागी छ । विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?