+
+

‘ढुङ्गा हान्नु बाहेक के योगदान छ?’ भन्ने टिप्पणीप्रति युवा नेताको चिन्ता व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १८:५३

११ वैशाख, काठमाडौं । लोकतन्त्र ल्याउनका लागि आन्दोलन गर्ने क्रममा खेलेको भूमिकालाई अवमूल्यन गरी हुने गरेको टिप्पणीप्रति दलका युवा नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

२०६२/०६३ को आन्दोलनका क्रममा व्यवस्था परिवर्तनका लागि सडकमा गरिएको प्रदर्शनलाई कतिपयले गलत मनसायले टिप्पणी गरेको प्रति उनीहरूले चिन्ता व्‍यक्त गरेका हुन् । लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियानले लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक मंगलबार संवाद कार्यक्रममा उनीहरूले चिन्ता व्‍यक्त गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल व्यवस्था परिवर्तनका क्रममा आन्दोलनमा गरेका कार्यलाई अवमूल्यन गर्ने गरिएको  बताए । आफूहरु माथि आउने प्रश्नबारे उनले भने,‘ढुङ्गा हानेर यहाँसम्म आउनुभयो? त्यहाँभन्दा बढी योगदान तपाईको केही छ? प्रश्न सोधिन्छ ।’

अभियानले दलका युवा पुस्ताका नेताहरुलाई बोलाएर विचार विमर्श गरेको थियो । पछिल्लो समय लोकतन्त्र दिवसलाई बिर्सिदै गएको र कार्यक्रमहरु कम भएको प्रति वक्ताहरुले चिन्ता व्यक्त गरे । लोकतन्त्रको बुझाई अनुसार नागरिकले लाभ लिन नपाएकाले प्रश्न उठेको नेकपा एमाले सचेतक सुनिता बरालले बताइन् ।

‘लोकतन्त्रप्रतिको बुझाई थियो, त्यो अनुभूत गर्न नपाएकाले लोकतन्त्र माथि नै प्रश्न उठेको छ,’ उनले भनिन्,‘लोकतन्त्रका कारणले नै खराब भएको भन्ने होइन । जनताको प्रत्यक्ष सहभागीता हुने यो उत्कृष्ट व्यवस्था हो ।’ नीतिगत तहबाट सोंचे जति परिवर्तन गर्न नसकिरहेको भनि उनले स्विकारिन् ।

राजनीतिक दलका कार्यपद्दतिमा ल्याएका विकृत प्रवृत्तिले नागरिकमा असन्तुष्टि बढेको वक्ताहरुको धारणा थियो । जनताले भोट हालेर नेतृत्व चुन्ने लोकतन्त्र पद्दतिप्रति यति धेरै असन्तुष्टि हुनुको कारण खाजिनुपर्ने नेता पौडेलले बताए ।

२०६२÷६३ को जनआन्दोलनको बेला नागरिक समाज आन्दोलनमा साथ दिएको तर पछिल्लो समयमा खबरदारीमा चुकेको पौडेलले बताए । लोकतन्त्रका लागि नागरिक आन्दोलनले धेरै ठूलो योगदान गरेको थियो । यसलाई परिष्कृत बनाउन आज नागरिक आन्दोलन त्यही अनुसार निरन्तरता हुन सकेन,’ उनले भने ।

संवैधानिक निकायलाई अति राजनीतिकरण हुँदा व्यवस्था माथि नै प्रश्न उठ्ने अवस्था आएको उनीहरुको बुझाइ थियो। ‘राजनीतिकको प्रभावबाट मुक्त भएर संवैधानिक अंगहरु चल्न थालेको भए मान्छेहरुलाई विश्वास हुने थियो । अहिले अदालतबाट न्याय पाइन्छ त? अदालत स्वतन्त्र, निपष्क्ष छ त?’ पौडेलले प्रश्न गरे ।

नयाँ दलप्रति संकेत गर्दै पौडेलले प्रश्न अरुलाई सोध्ने तर आफू प्रश्नबाट भाग्ने प्रवृत्ति रहेको बताए । पौडेलले भने,‘नयाँप्रति भरोसा थियो । नयाँ त पुरानो भन्दा पनि खराब रहेछ भन्ने सन्देश बाहिर गइसकेको छ ।’ सुशासनका मुद्धा कार्यान्वयनका बाहेकका विषयलाई आधार बनाए कांग्रेस–एमालेको सरकारमा सहकार्य हुनै नहुने उनले बताए ।

सत्ताका लागि कांग्रेस एमाले मिले भने सबैभन्दा ठूलो दुर्भाग्य हुनेछ । सुशासनको मुद्धामा कांग्रेस एमाले मिलेर सरकार बनाउन भने सक्ने उनले बताए । ‘बोझिलो संघीयतालाई छरितो बनाउने हो भने कांग्रेस एमाले मिलन सम्भव छ ।

अन्तक्रियात्मक कार्यक्रममा सहभागीले लोकतन्त्र नभई लुटतन्त्र हुन थालेको भनि चिन्ता व्यक्त गरे । अन्तक्रिया नेताहरुलाई प्रश्न गर्दै एक सहभागी युवकले भने,‘लोकतन्त्रलाई अहिले लुटतन्त्र भन्न थालिएको छ । ‘नेताकै छोरालाई टिकट दिने हो भने राजतन्त्र र लोकतन्त्रमा के फरक रह्यो र?’ उनको आशय १५ बैशाखमा हुने उपनिर्वाचनमा इलाममा एमालेले र बझाङमा कांग्रेसले उठाएका उम्मेदवारप्रति थियो ।

सहभागी युवकको जिज्ञासाको निवारण गर्ने प्रयास एमाले सांसद बरालले गरिन् । नेताका छोरा उम्मेदवार हुन नपाउने भन्ने नहुने उनले बताइन् । विधि अन्तर्गत नै उम्मेदवार बनाइएको जवाफ बरालले दिइन् । ‘निर्वाचन जित्नका लागि को व्यक्ति उपयुक्त हुन्छ भन्ने पनि दलको कुरा हुन्छ,’ उनले भनिन् ।

नीति बनाउने थलो सदन बन्द गरेर अध्यादेश ल्याउने गलत प्रचलन रहेको भन्दै त्रिभुवन विश्वपविद्यालयका प्राध्यापक डा. पिताम्बर भण्डारीले आपत्ति जनाए । उनले भने,‘नीति बनाउने मूल थलो संसद हो । संसद बन्द भयो । संसद बन्द गरेर विधेयकहरु अध्यादेश मार्फत ल्याइयो। नीति निर्माण गर्ने थलोलाई बन्धक बनायौं ।’ संसदलाई विसनेस विहिन बनाएर अध्यादेश ल्याउनु लोकतन्त्रको विकृत रुप भएको उनले बताए ।

लोकतन्त्रप्रति प्रश्न उठ्नुमा चाकडीवाजका कारण पनि भएको सहभागीहरुको भनाई थियो । विचार भन्दा दाइ र भाउजुलाई अघि राख्दा प्रश्न उठेको सहभागी एक युवकले बताए । उनले भने,‘चाकडी जबसम्म बन्द गर्दैनौं लोकतन्त्रमा खतरा रहिरहन्छ । दाइ भाउजुको पछि होइन, विचारको पछि लागौं ।’

लोकतन्त्रको आन्दोलनमा लडेकाहरु नै विदेश जानुपर्ने विवशता रहेको पीडा सहभागीले सुनाए । सिंगो देश नै विदेश गइरहेको भान भएको उनीहरुको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?