+
+
निर्देशक सुयोग गुरुङसँग संवाद :

‘मलाई त्यो फिल्म बनाउन मन लाग्छ, जुन म आफैं हेर्न चाहन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १७:१२

काठमाडौं । सुयोग गुरुङको कुरा सुन्दा लाग्छ, उनी घरेलु फिल्ममा ‘लामो रेसको घोडा’ हुनसक्छन् । भैरहवामा जन्मिएका, भारतमा पढेका र हङकङमा हुर्किएका यी ठिटा यतिबेला दोस्रो कथानक फिल्म लिएर आउँदैछन् । डेब्यु फिल्म ‘सानो मन’देखि दृश्यमा कथा भन्न थालेका गुरुङसँग हङकङको पीएसडब्लु टेलिकम कम्पनीमा काम गरेको अनुभव पनि छ । उनले निर्देशन गरेको आगामी फिल्म ‘फर्की फर्की’ जेठ १० गते रिलिज तयारीमा छ ।

फिल्म राम्रो बन्न प्रामाणिकता, रचनात्मक र इमान्दारिताको मन्त्र जरुरी ठान्ने गुरुङको नयाँ फिल्म फेन्टासी जनरामा आधारित छ । सामाजिक यथार्थवादी फिल्मको बाढी आइरहँदा ३५ वर्षे निर्देशकले स्वैरकाल्पनिक कथावस्तुमा फिल्म ल्याएका छन् । फिल्मको केन्द्रमा मनोरञ्जन हुनुपर्छ भन्ने मत राख्ने उनी कथा के भनियो भन्दापनि कसरी विश्वसनीय ढंगले कथा भनियो भन्नु महत्वपूर्ण हुने मत राख्छन् । यिनै आयाममा केन्द्रित रहेर निर्देशक गुरुङसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

निर्देशकको रुपमा ‘फर्की फर्की’बाट तपाईंले भन्न खोजेको कुरा के हो ?

पहिलो कुरा मनोरञ्जन हो । यो ‘मास इन्टरटेनमेन्ट’ फिल्म हो । मेरो उद्देश्य भनेकै मनोरञ्जन । दर्शकले धेरै किसिमले मनोरञ्जन लिनुहुन्छ । कसैलाई कमेडी मनपर्छ, कसैलाई हरर मनपर्ला । कसैलाई थ्रिलर मनपर्ला । बहुसंख्यक नेपाली दर्शकलाई कमेडी मनपर्ने देख्छु म । दुःख त धेरैतिर छ । घरमा दुःख छ । म फिल्ममार्फत दर्शकलाई इन्टरटेन तुल्याउन चाहन्छु ।

हाम्रो आइडिया ‘टाइम लुप’मा हो । यो एउटा रोमान्टिक–कमेडी हो । मित्रता, आमा–बाउसँगको रिलेसनसिपलाई समेटेर फेन्टासी जनरामा फिल्म बनाएका छौं । आधारभूतरुपमा यसको कथावस्तु प्रेम नै हो । केन्द्रीय द्वन्द्वको रुपमा ‘टाइम लुप’ हो ।

फिल्मको अवधारणाको विकास कसरी भयो ?

यसको कथा लेख्नुअघि मैले दुई-तीनवटा अन्य कथामा काम गरिरहेको थिएँ । किनभने ‘सानो मन’पछि कस्तो फिल्म गर्ने अन्योलमा थिएँ । ‘आउट अफ द बक्स’ फिल्म हामी गर्न सक्दैनौं । म एकदमै फेन्टासी फिल्म हेर्छु । नेटफ्लिक्स, अमेजन प्राइम भिडियोमा कोरियन फिल्म र सिरिज धेरै हेर्छु । अहिलेको विश्व बजारमा एकदमै पपुलर छ यो ।

नेपालमा यस्तो खालको फिल्म किन बनाउन सकिंदैन भन्ने कुराले मेरो दिमाग घुम्यो । हामीले मार्वलजस्ता ठूला फिल्म बनाउन पनि सक्दैनौं । हाम्रो बजेटले पनि भ्याउँदैन त्यो । म यसलाई ‘टाइम ट्राभल’भन्दा पनि ‘टाइम लुप’ भन्छु । केही भागमा समय यात्राको कथा आउँछ तर मुख्य कथा भनेको ‘टाइम लुप’ नै हो । जसमा धेरै फिल्म बनिसक्या छन् ।

यो थ्योरीमा हरर, कमेडी जस्तोसुकै कथा पनि भन्न सकिने भयो । यो कन्सेप्टमा नेपाली कथा भन्दा कस्तो हुने रहेछ भनेर स्केच गरें, पात्र डिजाइन गरें, स्टोरी निकालेँ । स्क्रिप्टमा राम्रो ज्ञान भएका मान्छेसँगको छलफलपछि प्रोजेक्ट अघि बढ्यो । कोभिड ठीक भइसकेपछि हामीले फिल्म अघि बढायौं ।

अहिलेको नेपाली फिल्मको जुन कथावाचन शैली र मनोविज्ञान छ । यसमा ‘फर्की फर्की’को सान्दर्भिकता के हो ?

मलाई त्यो फिल्म गर्न मन लाग्छ, जुन म आफैं हेर्न चाहन्छु । यो खालको फिल्म अरुले मन पराउन् भन्ने आशा हुन्छ । यो खालको फिल्म चल्छ, यो खालको फिल्म चल्दैन भन्ने कुरा हावा नै हो हेर्नुस् । फिल्म नहेरेसम्म, नआएसम्म कसैले भन्न सक्दैन । कसैले रिलिजअघि नै भन्छ भने त्यो भ्रम मात्र हो । विश्वमा कसैले पनि भन्न सक्दैन ।

जहाँसम्म तपाईंको प्रश्न छ, निर्माताले ‘सेफ साइड’ खोजेका हुन्छन् र भिन्न जनरामा काम गर्न आँट्न सक्दैनन् । एउटा निश्चित फिल्म चलिराख्या बेलामा, त्यस्तै फिल्म चल्छ भन्ने मनोविज्ञान छ । मेरो विचारमा कथा राम्रो हुनुपर्‍यो, फिल्म राम्रो हुनुपर्‍यो । जनरासँग मतलब भएन । उदाहरणका लागि ‘बोक्सीको घर’ हेर्नुस्, कसले सोच्या थियो हरर फिल्म पनि हिट हुन्छ भनेर ।

जुन बेलामा ‘लुट’ बन्या थियो, त्यस्तो खालको फिल्म पनि चल्छ भनेर । जुन बेलामा आर्यन लुक्सका कलाकार थिए, जतिबेला मतवाली आएका थिएनन् । कसले सोच्या थियो कि त्यो बेलामा लुट, जात्रा चल्छ भनेर ? मान्छेलाई नयाँ चाहिएको छ । नयाँ मात्र भएर भएन, राम्रो पनि हुनुपर्‍यो । मान्छेलाई कनेक्ट पनि गर्नुपर्‍यो । हेर्दा मजा आउनुपर्‍यो । चाहे रुवाएर वा हँसाएर मजा लिनुस्, कम्तीमा मनोरञ्जक हुनुपर्‍यो ।

किनभने फिल्म भनेको मनोरञ्जन र ग्ल्यामरको क्षेत्र हो । मान्छे पैसा तिरेर, टिकट काटेर पुग्छन् । एउटा परिवार फिल्म हेर्न जाँदा ३-४ हजार खर्च हुन्छ । त्यो लगानी असुलउपर हुने योग्य फिल्म हुनुपर्‍यो । विश्वमा यस्ता पनि मान्छे छन् र उहाँहरुलाई यस्तो खालको फिल्म मनपर्छ भनेर मैले त्यो उद्देश्यमा यो फिल्म बनाएको हुँ ।

फिल्ममा नवीन तत्व के छ, जसले दर्शकलाई तान्न सकोस् ।

एउटा त जनरा नै हो । जुन खालको जनरामा हामीले फिल्म बनाएका छौं, त्यो खालको जनरामा सायदै फिल्म बनेको छ । ट्रेलरले जुन किसिमको हाइप लिएको छ, त्यो नयाँ देखेर हो । जात्रा, कबड्डी, लुट आउँदा भइरहेका भन्दा नयाँपन थियो । एउटा त नयाँपन हो । यसमा लभस्टोरी मात्र नभएर, यो फिल्मभित्र एउटा बलियो सन्देश छ । यसभित्र सरप्राइज एलिमेन्ट प्रशस्त छन् । अहिलेसम्म फिल्मको १० प्रतिशत भाग मात्र देखाएका छौं । स्क्रिप्ट कसरी बन्छ भनेर थाहा पाउनु र बनाउनुबीच भिन्नता छ ।

नेपालमा फिल्म बनाउनु कत्तिको तनावको विषय हो ?

मुख्यतयाः आर्थिक कारण हो । निर्माताको दुई-तीन-चार करोड लागिराख्या हुन्छ । सिर्जनात्मक सम्झौता (क्रिएटिभ कम्प्रमाइज) गर्नुपर्ने परिस्थिति आउनसक्छ । तर म यो कुरामा भाग्यमानी रहें । हलिउड, बलिउडमा पनि क्रिएटिभ कम्प्रमाइज भन्ने कुरा हुन्छ । तर कहाँ कम्प्रमाइज गर्ने र नगर्ने भन्न कुरामा हामी स्पष्ट हुनुपर्छ ।

नेपाली जेन–जेड (पछिल्लो पुस्ता) दर्शकको फिल्मप्रतिको मुड कस्तो पाउनुभएको छ ?

अहिलेको दर्शकीय पुस्ता एकदमै स्मार्ट छ । अहिलेको पुस्ताको कतिपय कुरा त हामीले नै बुझिरहेका हुँदैनौं । उनीहरुको सामु त हामी नै बुढो भएजस्तो महसुस हुन्छ । अहिलेको पुस्ता निकै फर्वार्ड । हामीले जन्मिएदेखि नै संक्रमणको समय (ट्रान्जिसन) देख्यौं । हामी जन्मिंदा फोन केही पनि थिएन । कक्षा ९ मा पढ्दा मेरो हातमा पहिलोपटक फोन आएको हो ।

जेन–जेड त जन्मिने बित्तिकै उनीहरुको साथमा फोन, ट्याब्लेट, इन्टरनेट सबै सुविधा छ । यो कुराले फिल्ममेकरलाई अवश्य पनि चुनौती थप्न सक्छ । पहिला सोसल मिडियाको जमाना थिएन । पोस्टरमा मनपर्ने मान्छे देख्यो भने कुदेर हलमा जाने हुन्थ्यो । हाम्रै ट्रेलरको ५०–१०० वटा त रियाक्सन भिडियो नै बनेको छ । अहिले रिभ्यु हेरेर, सुनेर फिल्म हेर्न जाने बानी पर्‍यो । त्यो चुनौतीपूर्ण कुरा हो ।

हामीले अहिले कस्ता कथा र फिल्ममा काम गर्न जरुरी छ ?

फिल्म मेकिङमा ठ्याक्कै यही कुरा भन्ने हुँदैन । तपाईंले जे कथा भन्दै हुनुहुन्छ, त्यो प्रामाणिक (अथेन्टिक), रचनात्मक (क्रिएटिभ) र निर्माता इमान्दार (अनेस्ट) हुनुपर्छ । मनदेखि बनाउनुपर्‍यो । आफूलाई झुटो बोलेर होइन कि, साँचो र इमान्दार भएर बनायो भने चाहिं जस्तो कथा पनि चल्नसक्छ । फिल्म बनाउने बेला यी तीन कुरा हुनुपर्छ । विशुद्ध यही कथा चल्छ भन्ने त कतै पनि छैन । बजारले नयाँ कुरा रुचाउँछ । जोकर र ओपेनहाइमर आउँदा कसले सोचेको थियो, यी चल्छ भनेर ?

मार्वलको डाङडुङ चलिरहेको बेला ‘ओपेनहाइमर’जस्तो क्लासिक फिल्मले हान्यो त । हिंसात्मक र मारकाटका फिल्म बजारमा चल्दैन भनेर भन्दा ‘एनिमल’ले पुष्टि गरिदियो त । राम्रो बनायो भने चल्दो रहेछ त । जे कथा भन्नुस्, दर्शकसँग त्यो कथा जोडिनुपर्‍यो । यसको अर्थ, वास्तविकतासँग जोडिनुपर्छ भन्ने होइन । तर फिल्मको ब्रह्माण्ड सिर्जना गर्दा विश्वसनीय चाहिं हुनुपर्‍यो । यी कुरामा हेर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?