+
+

९ लाखसहित पक्राउ परेका युवकको १ वर्षमा १० करोड ‘अवैध’ कारोबार !

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १४:१५

१९ वैशाख, काठमाडौं । हुण्डी कारोबारको आरोपमा ९ लाख रुपैयाँसहित पक्राउ परेका युवकमाथि थप अनुसन्धान गर्दा १० करोडको ‘अवैध’ कारोबार खुलेको छ ।

२४ वर्षीय पीयूष खेतानलाई पक्राउ गरेर अनुसन्धान गर्दा पछिल्लो एक वर्षमा मात्रै उनले १० करोडको ‘अवैध’ कारोबार गरेको देखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हुण्डी कारोबार गरेको सूचनाका आधारमा यही वैशाख ३ गते स्थायी ठेगाना धनुषाको धनुषाधाम गाउँपालिका–५ घर भएका २३ वर्षीय खेतानलाई पक्राउ गरेको थियो ।

काठमाडौं महानगरपालिका–१३ ताहचल बस्दै आएका खेतानलाई उनकै पसलबाट प्रहरीले पक्राउ गरेको थियो । रन्जना कम्प्लेक्सको तेस्रो तलामा फेसन पेसन स्टोर नामक कपडा पसल सञ्चालन गर्दै आएका खेतान ९ लाखसहित पक्राउ परेका थिए ।

उक्त रकमका साथै २३ पन्ना क्रिप्टो करेन्सीको विवरण समेत प्रहरीले फेला पारेको थियो भने मोबाइल समेत बरामद गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा १० करोडको कारोबार देखिएको खुलेको हो ।

अध्ययनका लागि एक वर्षअघि भारतमा रहँदा क्रिप्टो करेन्सीबारे जानकारी पाएर कारोबार सुरु गरेको खेतानले बताएका छन् । बिनान्स एप्लीकेशन डाउनलोड गरेर क्रिप्टो करेन्सीको कारोबार खेतानले गरेको देखिएको अनुसन्धान अधिकृतले बताएका छन् ।

भारतमा रहँदा बिक्की महतो भन्ने साथीले आफूलाई क्रिप्टो करेन्सीबारे सिकाएको उनको दाबी छ । पछिल्लो एक वर्षदेखि नेपाल र भारतमा रकम आवश्यक पर्ने मानिसहरुलाई रकम दिने–लिने काम समेत गरेको उनको भनाइ छ । अनुसन्धानबाट खेतानले हुण्डीको कारोबार गर्ने गरेको क्रिप्टो मार्फत समेत हुण्डीको रकम विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धान सकेर सरकारी वकिल कार्यालय काठमाडौंमा पठाइएको प्रतिवेदन अनुसार हुण्डीको रकम लिन–दिनका लागि विभिन्न कोडहरु प्रयोग गरेर खेतानले काम गरेको समेत उल्लेख छ । ह्वाट्स एपमा विभिन्न रकमका फोटाहरु आदान प्रदान गर्ने र भारतमा रहेका विक्कीले भनेअनुसारका मानिसहरुलाई रकम दिने–लिने गरेको खुलेको अभियोगपत्रमा उल्लेख छ ।

हुण्डीका लागि रकम लिँदा–दिँदा भेरिफाई गर्न रकमका नोटहरु प्रयोग गरिएको खुलेको छ । खेतानले बिनान्स एप्लीकेशनमार्फत क्रिप्टो करेन्सीमार्फत ६ करोड १९ लाख ३५ हजार २६१ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ ।

अर्को ओकेएक्स एप्लिकेशन समेत इन्सटल गरेर क्रिप्टो करेन्सीको कारोबार गरेको देखिएको छ । यो एप्लिकेशनमार्फत ४ करोड २१ लाख ४३ हजार २८५ रुपैयाँ कारोबार गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ । उनले क्रिप्टोमार्फत नै एक वर्षको अवधिमा १० करोड ४० लाख ७८ हजार ५४३ रुपैयाँ कारोबार गरेको देखिएको छ ।

क्रिप्टोको अवैध कारोबार देखिएपछि उनलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २६२ अन्तर्गतको कसुरमा मुद्दा चलाइएको छ । उक्त दफा अनुसार रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ । प्रतिबन्ध लगाइएको मुद्रा चलन चल्तीमा ल्याइएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?