+
+

ठोरीको छोटी भन्सार पुनः सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १९ गते १७:५५

१९ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–२ मा रहेको अमृतधारा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको छ ।

कर्मचारी अभावमा लामो समयदेखि बन्द उक्त छोटी भन्सार बुधबार चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी पुनः सञ्चालनमा ल्याइएको हो ।

पर्साको सबैभन्दा पश्चिममा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब ६ वर्षअघि नै तयार पारिएको थियो । तर, कर्मचारी नहुँदा सञ्चालनमा आएको थिएन ।

वीरगञ्ज भन्सार कार्यालय मातहतको यो भन्सार सञ्चालन नहुँदा ठोरी र चितवन माडीका जनताले सास्ती भोगिरहेका थिए । ठोरीसँग सीमाना जोडिएको भारततर्फको भिखना ठोरीमा भन्सार कार्यालय नभए पनि एकतर्फी रूपमा नेपालमा भन्सार कार्यालय सञ्चालनमा आएको हो । भारततर्फबाट खाद्यान्न, लत्ता–कपडालगायत सामान ठोरी भएर आउने गरेको भएपनि भन्सार नहुँदा स्थानीयबासीले सास्ती भोगेका थिए ।

भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि राजस्व चुहावटको कार्य रोकिने विश्वास कार्यालयको छ । ठोरी भएर प्रवेश गर्ने सवारी साधनलाई भन्सार तिर्न अब वीरगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ । वर्षमा ३० दिनसम्म भारतीय सवारीलाई अस्थायी आवतजावत गर्न तथा एकपटकमा १० हजारसम्म घरायसी प्रयोजनको सामानमा भन्सार तिर्न अब सहज हुनेछ ।

कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले भन्सार कार्यालयलाई महानगरका तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकालले छोटी भन्सारको निरन्तरताका लागि ठोरीका जनप्रतिनिधि र स्थानीयको महत्त्वपूर्ण भुमिका रहने बताए ।

सो अवसरमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्सार कार्यालय सञ्चालनमा पालिकाको पूर्ण सहयोग रहने बताए ।

भन्सारकै कारण स्थानीयलाई दैनिक उपभोग्य सामान ल्याउन सास्ती हुन नहुनेमा सबै सजग रहनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो, भन्सार विभाग प्रमुख ढुण्डीराज निरौला लगायतले छोटी भन्सारको दिगोपनमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?