+
+

‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक, फिल्म जेठ २५ मा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २४ गते १६:५४

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा थिएट्रिकल टिजर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति तय गरेका हुन् ।

यसअघि जेठ १८ गते आउने बताइएको थियो । दुई मिनेट लामो टिजरले फिल्मको कथावस्तुबारे विस्तृत प्रकाश पार्छ । फिल्मले नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबुछोराको सम्बन्धमा नवनिर्मित बाटोले ल्याएको उतारचढावको कथा पेश गर्छ ।

गाउँमा मोटर पुगेपछि त्यसलाई पछ्याउँदै दौडिने बालबालिका, बालक पात्रले लगाएको चस्माको रुपकमार्फत निर्देशकले दर्शकलाई ‘टिज’ गर्ने प्रयत्न गरेका छन् ।

फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् । बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । टिजरको दृश्य कम्पोज, रङ संयोजक र पार्श्वध्वनि सशक्त महसुस हुन्छ ।

‘सडकले केही लिएर आउँछ, केही दिन्छ र लगेर पनि जान्छ,’ टिजर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले भने, ‘यो कथा हाम्रो बाल्यकालको कथा पनि हो ।’

अभिनेता राईले आफ्नो बाल्यकालको अनुभवसँग यसको कथावस्तु निकट रहेको बताए । प्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको छ ।

फिल्मको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् । यो फिल्मको लेखन निर्देशक सुब्बा र महेश राईले गरेका हुन् भने आमोद राई निर्माता हुन् ।

मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा फिल्मको नेपाल रिलिज हुन लागेको हो । सो मितिमा यो फिल्म विश्वव्यापी प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?