+
+

काठमाडौंमा बुधबारदेखि पाँचौं राष्ट्रिय मह मेला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते १४:३६

२५ वैशाख, काठमाडौं । काठमाडौंमा बुधबारदेखि पाँचौं राष्ट्रिय मह मेला–२०८१ सुरु हुने भएको छ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ भृकुटीमण्डपमा मह मेला सुरु हुन लागेको हो ।

मह उत्पादन खपत बढाउनका लागि महको फाइदाबारे प्रचार गर्न मह मेला हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले स्वदेशी महको बजारीकरण तथा महत्त्वबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

नेपाल मौरी पालक महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले मह उत्पादक किसानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न तथा विभिन्न स्रोतका महबारेमा उपभोक्तालाई परिचित गराउने महोत्सवको उद्देश्य रहेको बताए ।

व्यावसायिक किट विकास केन्द्रका प्रमुख भोजराज सापकोटाले नेपाली मह विश्वमै उत्कृष्ट हुँदाहुँदै पनि बजार नपाएको अहिलेको अवस्थालाई चिर्न महोत्सवले प्रभावकारी भूमिका खेल्ने अपेक्षा रहेको उनले बताए ।

नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष जानुकादेवी थापाले नेपालमा उत्पादित महको उत्पादन, खपत र निकासीको प्रशस्त सम्भावना भएपनि सरकारले सुविधा र सहुलियतबारेमा सरकारले पर्याप्त जानकारी दिन नसक्दा यो क्षेत्र नै अल्मलिएको बताइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले महको उत्पादनदेखि व्यावसायिक समस्या समाधानका लागि महासंघ सहकार्य गर्न तयार रहेको बताए ।

मेला अन्तर्गत मह काढ्ने तरिका, मह सम्बन्धि सूचनामूलक जानकारी, मौरीपालनका नवीनतम प्रविधिहरूको प्रदर्शनी, मौरीसँग सम्बन्धित सरोकारवालाहरूबीच अन्तरक्रिया तथा गोष्ठी आयोजना हुनेछन् ।

भिर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीको मह प्रदर्शनी तथा बिक्री वितरण हुनुका साथै मौरी र महसम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

महासंघको आयोजनामा नेपाल मौरी पालक महासंघ, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड र व्यावसायिक किट विकास निर्देशनालयको सहआयोजना पाँच दिने मेला हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?