+
+

स्वेच्छिक राष्ट्रिय समीक्षामा युवा सशक्तीकरणमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते ९:००

२७ वैशाख, काठमाडौं । राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा नेपाल सरकारले पेश गर्ने स्वेच्छिक राष्ट्रिय समीक्षा प्रतिवेदनमा युवाको कोणबाट सुझाव दिन राष्ट्रिय युवा परिषद र युवा अभियानको अग्रसरतामा विहीबार एकदिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।

गोष्ठीमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘नेपाल यतिबेला उच्च युवा जनसाङ्ख्यिक लाभांशमा छ । त्यो लाभांश गुमाउनु अघि नै युवाको सर्वाङ्गीण विकास र सशक्तीकरणमा जोड दिँदै दिगो विकास लक्ष्यमा जोड दिनुपर्दछ ।’ उपाध्यक्ष बस्नेतले नेपालमा युवाका ऐन, कानुन, नीति र संरचना बने पनि त्यसबाट अपेक्षाकृत नतिजा निस्कन नसकेको बताए ।

बस्नेतले अलग्गै युवा मन्त्रालय बन्नु, युवा परिषद स्थापना गरिनु, युवा स्वरोजगार कोष बनाइनु, युवाका संरचना प्रदेश हुँदै स्थानीय तहमा विस्तार हुँदै जानु सकारात्मक कदम भएको दावी गरे । उनले बजेट अभावमा नतिजामुखी काम हुन नसकेको जिकिर गरे ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष राम सुवेदीले दिगो विकास लक्ष्य हासिल गर्न गुणात्मक रुपमा युवालाई नीति निर्माणदेखि कार्यान्वयन तहमा सहभागी गराउनुपर्ने जनाए । कार्यक्रममा युथ एडभोकेसी फोरमका अध्यक्ष गणेश धामी र नेपाल पुनर्स्थापकीय न्याय मञ्चका अध्यक्ष राम तिवारीले दिगो विकास लक्ष्यमा युवाका विभिन्न आयामबारे चर्चा गरेका थिए ।

युवा अभियानका अध्यक्ष गंगाबहादुर गौतमले परिषदसँगको सहकार्यमा विभिन्न तह र चरणमा युवाको कोणबाट दिगो विकास लक्ष्यको स्वेच्छिक राष्ट्रिय समीक्षा गरी राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने जानकारी दिए ।

आगामी जुलाईमा हुने राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा नेपालले दिगो विकास लक्ष्य अन्तर्गत गरिबी अन्त्य, भोकमरी अन्त्य, जलवायु कार्य, शान्ति, न्याय र लक्ष्य कार्यान्वयनमा साझेदारीमा केन्द्रित गर्दै स्वेच्छिक राष्ट्रिय समीक्षा प्रतिवेदन पेश गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?