+
+

वन्यजन्तु तस्कर कुञ्जोक सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर

डेढ वर्ष कैद हुने फैसला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १९:४४

२७ वैशाख, काठमाडौं । विशेष अदालतले कुख्यात वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङलाई एक वर्ष ६ महिना कैद सजाय तोकेको छ ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कुञ्जोकलाई ६७ लाख ६५ हजार बिगो र त्यति नै रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध वन्यजन्तुको अंग (आखेटोपहार)को तस्करी गरी सम्पत्ति कमाएको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई १६ वैशाखमा दोषी ठहर गरेको हो ।

विशेष अदालतले ६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेका कुञ्जोकले ७ करोड १४ लाख रुपैयाँ कमाएको देखिएको भन्दै ६७ लाख ६५ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर गरेको हो ।

हुम्लाका कुञ्जोक छिरिङ तामाङ वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा दोषी ठहर भइसकेका व्यक्ति हुन् । अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएको र उनीहरूलाई आखेटोपहार बेचेको आरोपमा उनी कारागारमा छन् । वैशाख २०७८ मा उनलाई जिल्ला अदालत रसुवाले सात वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

अन्तर्राष्ट्रिय तस्करीका योजनाकार

१६ भदौ २०६२ मा तत्कालीन शाही नेपाली सेनाको रसुवास्थित दुर्गाबक्स गणले बाघ, चितुवा र ओत सहितका वन्यजन्तुका अंग बरामद गरेको थियो ।

ती आखेटोपहार ओसारपसारमा तामाङ संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को दाबी थियो । त्यसपछि उनी नेपाल प्रहरी र इन्टरपोलको खोजी सूचीमा थिए ।

आखेटोपहार बरामदको १६ वर्षसम्म फरार रहेका उनी १० असार २०७७ मा पक्राउ परेका थिए । त्यसपछि कुञ्जोकलाई जिल्ला अदालत रसुवामा पेस गरिएको थियो । पछि उनले आफू कुञ्जोक नै नभएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन समेत दर्ता गरेका थिए, जुन पछि खारेज भयो ।

करिब दुई दशकअघिको उक्त घटनाका अरू आरोपी मिङमार छिरिङ तामाङ, छेवाङ उटुक लामा र कारसाङ भनिने रिसाङ लामालाई सर्वोच्च अदालतले सात वर्ष कैद र एक लाख रुपैयाँका दरले जरिवाना गरेको थियो ।

घटनामा संलग्न रहेका बलराम श्रेष्ठलाई ५ वर्ष कैद भएको थियो । अर्का आरोपी थोप्तेन तामाङले सफाइ पाएका थिए ।

उनले ती आखेटोपहार केरुङ हुँदै तिब्बत तस्करी गराउन खोजेका थिए । सीआईबीले पक्राउ गरी उनलाई लाङटाङ राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

त्यतिबेला सेनाले पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतको छाला २ सय ३८ थान र बाघको १ सय १३ किलोग्राम हड्डीसहित ५ जनालाई पक्राउ गरेको थियो ।

उनी बाहेकका अरू आरोपीको मुद्दा लाङटाङ राष्ट्रिय निकुञ्ज, पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतले टुंग्याइदिएको थियो । तामाङ भने फरार भएका कारण उनको मुद्दा मुल्तबीमा नै थियो ।

प्रहरीको दाबीमा कुञ्जोक नेपालमा मात्रै नभई भारतमा पनि वन्यजन्तु तस्करीमा संलग्न थिए । सन् २००८ मा भारतको हरियाणामा वन्यजन्तुका अंग बरामद केसमा पनि तामाङको सम्बन्ध देखिने सीआईबीको दाबी थियो ।

अहिलेसम्मका बाघलगायत वन्यजन्तुका ठूला अपरेसनमा खोजतलास हुँदा उनको नाम जोडिएको छ । सन् १९९९ मा भारतको गाजियाबादमा भएको वन्यजन्तुका अंगहरूको बरामदमा समेत तामाङको नाम जोडिएको थियो । सन् २००० मा भारतकै खागा भन्ने स्थानमा भएको वन्यजन्तुका अंगहरूको बरामदमा पनि उनी जोडिएका थिए ।

हुम्लाको नाम्खा स्थायी ठेगाना भएका उनी लामो समयदेखि काठमाडौंको बौद्धमा बसेर अवैध गतिविधि गर्दै आएको प्रहरीको दाबी थियो । उनले भारतको सिलिगढीमा पश्मिना कारखानासमेत चलाएका थिए । उक्त कारखानामा तिब्बतको पठारमा पाइने चिरुको रौंबाट निर्मित अत्यधिक महंगो सल निर्माण हुने गरेको खुलेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ मा बाघलगायतका वन्यजन्तुको अवैध कारोबार गर्ने र संलग्न हुनेलाई ५ देखि १० लाख रुपैयाँ जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

उनको नेटवर्कमा रहेका डान्डुक लामा र नुटुप लामासँग भारत, नेपाल र तिब्बतको नागरिक पुष्टि हुने प्रमाणपत्र रहेको सीआईबीको दाबी थियो । उनीसँग तीन वटा देशको नागरिक पहिचान हुने कागजात फेला परेको प्रहरीको दाबी थियो ।

१४ माघ २०६४ मा सम्पत्ति शुद्धीकरण निवारण ऐन जारी भएको थियो । त्यसअघि कुञ्जोकले कमाएको सम्पत्तिमाथि प्रश्न उठाउन मिल्दैन्थ्यो । त्यसपछि कमाएको सम्पत्तिमा प्रश्न उठाई विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?