+
+

संसद्‌मा सुहाङको पहिलो दिन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते २०:५७

२८ वैशाख, काठमाडौं । पहिलो संविधानसभा भर्खरै गठन भएको थियो । संविधानसभा अध्यक्ष तथा व्यवस्थापिका संसदका सभामुख सुवास नेम्बाङको पछि लागेर सुहाङ नेम्बाङ नयाँ बानेश्वर पुगेका थिए ।

दर्शकदीर्घामा बसेर उनले सभासद्हरुले गरेका समर्थन–विरोधका नाराबाजी, रोष्ट्रम घेराउ, भनाभन खुब हेरे । अवरुद्ध सदनको बैठक सकिएपछि घरमा बुवालाई सोधेका थिए, ‘सदनमा सधैं यस्तै हुन्छ ?’

सुवासले भने, ‘हुँदैन । छलफल, रोचक कुराहरु पनि हुन्छ । समितिका बैठकहरुमा धेरै महत्वपूर्ण विषयमा सभासद्हरुले भाग लिने गर्छन् ।’

सुहाङले टिभी र इन्टरनेटमा पनि त्यसपछि संसद बैठक हेर्ने गर्थे । उमेर धेरै छिप्पिइनसके पनि संसदमा जनप्रतिनिधिको भूमिका कस्तो हुनुपर्छ भन्ने बारेमा उनका निश्चित बुझाइहरु विकास हुँदै थिए ।

पिता सुवासलाई उनले कहिले सभामुख, कहिले  संसदीय दलको उपनेता लगायत विभिन्न रुपमा देख्ने गरेका थिए । ०७९ मंसिरमा इलाम २ बाट पाँचौपल्ट अविच्छिन्न निर्वाचित पिता सुवासको पोहोर भदौमा देहावसानसँगै सुहाङ पिताविहीन भए, इलामको उक्त निर्वाचन क्षेत्र नेताविहीन भयो ।

उनै सुहाङलाई एमालेले इलाम २ मा प्रत्याशी बनाएर पठायो । एमाले अध्यक्ष केपी ओलीले वैशाख पहिलो साता इलामको चुलाचुली पुगेर भनेका थिए, ‘अब सुहाङसँग संसदमै भेटौंला ।’

वैशाख १५ को उपचुनावबाट सुहाङ फराकिलो मतान्तरसहित विजयी बनेर आए । नभन्दै ओलीसँग आज शुक्रबार संसदमै उनको भेट भयो । ओली र अरु सांसदले उनलाई बानेश्वरमै एमाले संसदीय दलको बैठकमा स्वागत गरे, बधाई साटे । अध्यक्ष तथा संसदीय दल नेता केपी ओलीले पछिल्लो राजनीतिक परिघटना र पार्टीले लिनुपर्ने रणनीतिबारे आफ्नो निष्कर्ष सुनाए ।

‘अध्यक्षज्यूले एकदमै सारगर्भित ढंगले अहिले चलिरहेको राजनीतिक समस्याबारे व्याख्या गर्नुभएको थियो, जसमा हामीले पनि भाग लियौं,’ सुहाङले भने, ‘त्यसपछि संसदको औपचारिक अधिवेशनतर्फ लागियो ।’

बुवा सुवास नयाँ बानेश्वरको संसद भवनमा पहिलो पंक्तिमा बस्ने गर्थे । सुहाङलाई प्रमुख सचेतक महेश बर्तौलाले बीचतिरको वरीयता देखाए । खैरो दौरासुरूवाल र कोटमा संसदको लोगो लगाएर पसेका सुहाङले आफ्नो पहिलो दिनको जिम्मेवारी निभाउने क्रममा १६ वर्षअघि दर्शकदीर्घाबाट संसदको कारबाही चलेको दृश्य सम्झना गरे ।

‘त्यो बेला पनि नाराजुलुस भएको थियो, आज पनि त्यस्तै भयो,’ सुहाङले अनलाइनखबरसँग भने, ‘तर संविधान निर्माणको बेला उठेको मुद्दा र अहिलेको मुद्दा अनि परिस्थिति फरक छ ।’

संसदको बजेट अधिवेशन सुरु भएको पहिलो दिन पनि अघिल्लो अधिवेशनझैं अवरोधबाटै सुरु भयो, जसको प्रत्यक्षदर्शी बन्न पुगे सुहाङ । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रतिपक्षी कांग्रेसले संसद अवरोध गरेको थियो । सदन कसरी चलाउने भन्ने प्रक्रियामा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठक राखेर दलका नेताहरुसँग परामर्श पनि गरेका थिए ।

तर, सदनको अवरोध खोल्न त्यो छलफल पर्याप्त बन्न सकेन । सुहाङले पहिलो दिनको संसदमा रचनात्मक बहसभन्दा अवरोध नै देख्न पुगे । यद्यपि आफ्नो पहिलो दिनको अनुभूतिका आधारमा संसदको कामकारबाहीबारे समग्र टिप्पणी गर्नु उचित नहुने उनी ठान्छन् ।

‘सदनमा घेराउ गर्नु, अवरोध गर्नु पनि विपक्षीको अधिकार नै हो, संसदीय अभ्यासमा यो सामान्य पनि हो,’ उनी भन्छन्, ‘तर बजेट अधिवेशन भएकाले हाम्रो प्राथमिकता विकास, निर्माण तथा जनताको लागि योजना निर्माणमै केन्द्रित हुनुपर्छ । समय धेरै छैन, नेतृत्व र जनप्रतिनिधिमाथि जनताको अपेक्षा एकदमै बढी छ भन्ने हामीले बुझ्नुपर्छ ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?