+
+

नेपाली खानामार्फत बेल्जियममा पर्यटन प्रवर्द्धन

वसन्त रानाभाट वसन्त रानाभाट
२०८१ जेठ १३ गते ५:५१

१३ जेठ, बार्सिलोना । नेपाली खानालाई विदेशमा चिनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बेल्जियममा तेस्रो खाना महोत्सव (फूड फेस्टिवल) सम्पन्न भएको छ ।

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजनामा शनिबार लुभेन सहरमा फूड फेस्टिवल सम्पन्न भएको हो।

नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परिकारहरूसहित १४ वटा खानाका स्टलहरु राखिएको थियो ।

हस्तकलाका सामग्रीलाई व्यवस्थित अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा स्टलहरु हस्तकलाका सामानहरु सजाइएको थियो ।

स्टलमा आएर चासो राख्ने विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा, मसलाबारे पनि जानकारी दिइएको व्यवसायी संघ बेल्जियम महासचिव जगदिश सापकोटाले जानकारी दिए ।

खाना महोत्सवको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

उनले लुभेनमा १५६ भन्दा बढी देशका मानिसहरु बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । मेयर रुद्वानीले नेपाल र नेपालीसँग सधै यस्तै सम्बन्ध रहोस् भन्ने इच्छा प्रकट गरे ।

बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृति र नेपाली आत्मीयता विदेशीले महसुस गरेको बताए ।

युरोपियन युनियनका लागि राजदूत समेत रहेका भण्डारीले भने, ‘फेस्टिवलमा खानाको अलवा नेपाली विभिन्न उत्पादनहरुको पनि प्रदर्शन गरिएको छ । यी  कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छु।’

उनले १५ भन्दा बढी देशका राजदूतहरुसहित बेल्जियम तथा युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवल को अवलोकन गरेको अनलाइनखबरलाई बताए।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले नेपाली खानालाई विदेशीसामु चिनाउन पाउदा नेपालको पहिचान झल्कने बताइन्। ‘व्यवसायिक संघ बेल्जियमसँग एनआरएन पनि मिलेर सहकार्य गरिरहेका छौं । हामीले आर्थिकदेखि सबै खाले सहयोग गरेका छौं। यसले नेपाली खानामार्फत नेपालको पर्यटन प्रवर्द्धन हुनेमा पनि विश्वस्त छौं,’ अध्यक्ष सापकोटाले भनिन्।

नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले नेपाली खानालाई विश्वमाझ चिनाउन र नेपाली पहिचान झल्कने यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । ‘सन् २०१९ मा पहिलो पटक आन्त्रोपनमा, सन् २०२२ र  २०२४ मा लुभेनमा फुड फेस्टिवल आयोजना गरिएको हो,’ अध्यक्ष खवासले भने, ‘यस्ता कार्यक्रमले आगामी दिनमा नेपालका उत्पादनहरु विदेशमा सहज रुपमा पुर्‍याउन मद्दत मिल्ने विश्वास लिएका छौ‌।’

फूड फेस्टिवल को संयोजन गरेका व्यवसायी कासी दनैले सुरुवाती दिनहरुमा कार्यक्रमको तयारी गर्न अप्ठयारो रहेको बताए ।

नेपाली ब्यबसायी संघ बेल्जियमका उपाध्यक्ष समेत रहेका उनले स्थानीय निकायबाट नियम परिवर्तनको कुरा राखेपछि सुरुवातमा तयारी गर्न जटिल रहेको सुनाए । ‘कार्यक्रममा उपस्थिति बढी हुने हुँदा सुरक्षाको मापदण्डदेखि लिएर धेरै कुराहरुमा सजग गर्दै अगाडि बढ्यौं,’ उनले भने, ‘अन्तत सोचे भन्दा राम्रो उपस्थिति रह्यो । नेपालको पर्यटन प्रर्वद्धन गर्न हामी पूर्ण रुपमा सफल भएका छौं।’

व्यवसायी संघ बेल्जियमका महासचिव जगदिश सापकोटाका अनुसार फूड फेस्टिवलमा ५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए । सयभन्दा बढी नेपाली बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

मध्यान्न १२ बजे सुरु भएको महोत्सव राति ८ बजेसम्म चलेको थियो । ३० हजार युरो अनुमानित खर्च हुने ठानिएको महोत्सवमा नेपाल झल्कने श्रव्यदृश्य समेत देखाइएको थियो ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?