+
+

धितोपत्र कारोबारमा पुँजीगत लाभकर ५ र ३ प्रतिशतमा झार्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ९:४६

१३ जेठ, काठमाडौं । धितोपत्र बजार लगानीकर्ताका संगठनहरुले आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई संशोधन गर्न सुझाव दिएका छन् । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरिरहेका बेला लगानीकर्ताका संगठनहरुले पूँजीगत लाभकर घटाउन आग्रह गरेका हुन् ।

दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर हाल ५ प्रतिशत रहेकोमा त्यसलाई घटाएर ३ प्रतिशत कायम गर्न उनीहरुले आग्रह गरेका छन् । १ वर्षभन्दा बढी अवधिसम्म सेयर होल्ड गरेका लगानीकर्ताले नाफामा ५ प्रतिशत कर तिर्दै आएका छन् ।

त्यस्तै अल्पकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकर हाल ७.५ प्रतिशत रहेकोमा बजेटमार्फत ५ प्रतिशतमा झार्न उनीहरुले सुझाव दिएका छन् । १ वर्षभन्दा कम अवधि सेयर होल्ड गरेर बिक्री गर्दा आउने नाफामा लगानीकर्ताले हाल साढे ७ प्रतिशत कर तिर्दै आएका छन् ।

यो पूँजीगत लाभर अन्तिम हुने घोषणा गर्न पनि उनीहरुले सुझाव दिएका छन् । हालको कानुनी व्यवस्थाले ५ र साढे ७ प्रतिशतको करलाई ‘अग्रिम’ पूँजीगत लाभकर भनी व्याख्या गरेकाले त्यसलाई अन्तिम करका रुपमा व्याख्या गर्न उनीहरुले सुझाव दिएका छन् ।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, जनरल इन्भेस्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, स्वतन्त्र पूँजीबजार सुधार संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयूक्त रुपमा यस्तो सुझाव दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?