+

गंगालालकी आमा : अविश्राम बिरामीको स्याहारसुसारमा

२०८१ असार  २ गते २०:३५ २०८१ असार २ गते २०:३५
गंगालालकी आमा : अविश्राम बिरामीको स्याहारसुसारमा

१ असार, काठमाडौं । घडीको सुईले बिहान आठ बजेको संकेत गर्छ । मेडिकल उपकरणको ‘टुङ…टुङ’ आवाज, कुरुवाको होहल्ला, बिरामीको चहलपहल, एम्बुलेन्सको साइरन । बाँसबारीस्थित अस्पताल परिसरमा कोलाहलको बेग्लै कोलाज छ ।

ठीक यही बखत देखापर्छिन्, शान्ति केसी । केही होचो कद तर फुर्तिलो । हल्का नीलो एप्रोन लगाएकी, सपक्क कपाल बाँधेकी, निधारमा चिटिक्क टीका लगाएकी । उनी सरासर सीसीयू कक्षमा पुग्छिन् । बिरामीको रेखदेख गर्छिन् । ५८ वर्षीया केसीको अविराम दैनिकी हो यो, बितेको २५ वर्षदेखि ।

****

बेड नम्बर ४ । एक प्रौढ बिरामी टोलाइरहेकी छिन् । शान्ति केसी नजिक पुग्छिन् र प्रेममय भावमा सोध्छिन्, ‘अहिले कस्तो छ तपाईंलाई ?’

बिरामीले ‘ठीकै छ’ भावमा टाउको हल्लाउँछिन् । केसीले उनको कपाल कोरिदिन्छिन् । दुई चुल्ठी बाँधिदिन्छिन् । अनि ठट्यौली शैलीमा भन्छिन्, ‘आज स्कुल जानुपर्छ है । के टिफिन लैजाने ?’

बिरामी पनि उसैगरी जवाफ फर्काउँछिन्, ‘अण्डा र चिउरा लैजानुपर्ला ।’

यो संवाद सुनिरहेका अर्को बिरामी सोध्छिन्, ‘मलाई चाहिं कहाँ पठाउनुहुन्छ ?’

केसी भन्छिन्, ‘तपाईंलाई क्याम्पस पठाउँछु ।’

यसरी बिरामीसँग हँसिमजाक गर्दै उनी कसैको लुगा फेरिदिन्छिन्, कसैको शरीर सफा गरिदिन्छिन्, कसैको औषधि ल्याइदिन्छिन् । यस्तो लाग्छ, उनी यी सम्पूर्ण बिरामीहरूकी साझा आमा हुन् ।

त्यसो त अस्पतालमा बिरामीले मात्र होइन; चिकित्सक, नर्स वा कर्मचारीले पनि उनलाई त्यही प्रिय नामले सम्बोधन गर्छन्– ‘आमा !’ अर्थात् गंगालालकी आमा ।

अविश्राम सेवामा

उनी नाम जस्तै शान्त स्वभावकी छिन्, जति सरल छिन्, त्यति नै सहज पनि । आफ्नो कर्ममा त्यति नै समर्पित र लगनशील । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सरसफाइकर्मीको भूमिकामा प्रवेश गरेको २५ वर्ष टेक्यो । सुरुवातदेखि आजसम्म पनि उनको ड्युटी सीसीयूमै छ ।

स्याहारसुसार गरेका कतिपय ‘कलिला’ मुटु आज ‘वयस्क’ भइसकेका छन् । अनवरत रूपमा बिरामीको सेवामा जुटिरहेकी उनी कामको पुजारी हुन् ।

केन्द्रको सीसीयू कक्ष सानो कोठामा केहीबेर जीवनको भोगाइ र अनुभव साट्दै उनले मन्द मुस्कानमा भनिन्, ‘तन्नेरी उमेरमा गंगालालमा काम गर्न थालेकी थिएँ । अब त बुढी भइएछ ।’

उनी गंगालालमा प्रवेश गर्दा बाँसबारी छाला-जुत्ता कारखानाका धेरैजसो घरहरू भत्किएका थिए । छाला–जुत्ताकै थुप्रोको गन्ध वरिपरि फैलिन्थ्यो । स-साना टहराबाट अस्पतालको सेवा सुचारू भएको थियो । वरपर झाडी नै झाडी थियो ।

‘बिरामीहरू पनि भर्खर–भर्खर आउन सुरु गरेका थिए । मुटुको जटिल समस्याका बिरामी अन्तिम अवस्थामा आइपुगेका हुन्थे’ ती दिन सम्झिंदै उनले भनिन्, ‘बिरामी पनि कतिखेर आइपुग्नुहुन्छ भनेर कुरेर बस्ने गरेका थियौं ।’

उनीसँगै काम गरेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, बिरामी कैयौं आए, गए । तर शान्ति अविश्राम सेवकको रूपमा समर्पित भइरहिन् ।

त्यसबेला अधिकांश मानिस हार्ट फेल भएर आएका हुन्थे । स्रोत, साधन एकदमै सीमित थियो । चिकित्सक पनि औंलामा गन्न सकिने थिए । मुटुले काम नगर्ने अवस्थामा आइपुगेका बिरामीलाई बचाउनै धौ-धौ हुन्थ्यो ।

कामको दौरानमा हजारौं बिरामीको सेवा गरिन् । सबै फरक-फरक किसिमका हुन्थे । रोग त एर्कातिर छ । तर कतिपय बिरामी मैलो शरीरमै अस्पताल आइपुगेका हुन्छन् ।

‘महिनौं दिनदेखि कपाल कोरिदिएको हुँदैन । हात-खुट्टा, नङ उस्तै फोहोर’ केसी भन्छिन्, ‘कतिपयको त जुम्राले रगत खाएर बिरामी बनाएको हुन्छ । रगत नै चढाउनुपर्ने अवस्था समेत आउँछ ।’

उनको पहिलो प्राथमिकता बिरामीको केयर नै हो । मुटुका बिरामीको केयरमा खटिंदाखटिंदै उनको मुटु पनि यही क्षेत्रमा समर्पित भइसकेको छ । ‘तेल लगाएर कपाल कोरिदिएपछि बिरामीको टाउकै हलुको हुन्छ । बिरामीलाई मनतातो पानीले शरीरमा पुछिदिंदा अनुहारको चमक नै बेल्लै हुन्छ’, आफ्नो अनुभव सुनाउँछिन् ।

सेताम्य कपाल । पुष्ट शरीर, उही बैंसालु उमंग लिएर स्फूर्तिसाथ काम गर्न उनी ८ बजे नै अस्पताल पुगिसक्छिन् र बिरामीको सेवामा जुटेर साँझ ४ बजे घर फर्किन्छिन् ।

युवावस्था झैं सक्रियता आज पनि उस्तै छ । ६ दशकको ढल्किंदो उमेरमा पनि यति सक्रिय रहनुको रहस्य के हो ? प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ फर्काइहालिन्, ‘बिरामीको सेवा गर्दाको आत्मसन्तुष्टि ।’

‘ड्युटी आउने भन्ने बित्तिकै छुट्टै आनन्द मिल्छ । शरीरमा एक खालको स्फूर्ति नै थपिन्छ’ आफ्नो अनुभव सुनाइन्, ‘बिरामीसँग घुलमिल हुँदा समय बितेको पत्तै हुँदैन ।’

अस्पताल भर्ना भएका बिरामीले आमाको जस्तै छत्रछायाँको माया पाउँछन् । उनले गर्ने हेरचाहले बिरामी खुसी र सन्तुष्ट देखिन्छन् ।

त्यसकारण उनी सबै मानिससँग सहजै घुलमिल हुन सक्छिन् । सबैको अभिभावक छिन् । अस्पतालमा चिकित्सकदेखि बिरामीका आफन्तले पनि आमा शब्दले सम्बोधन गर्दै बोलाउँछन् । आमा शब्दले उनलाई थप खुसी तुल्याउँछ ।

‘सीसीयू कक्षमा काम गर्दागर्दै मुटुरोगीको मुटुसँग मेरो मुटु पनि जोडिएको आभास हुन्छ’ उनी भन्छिन्, ‘तन, मनले सकेसम्म काम बिरामीको सेवा गरिराख्न भनिरहन्छ ।’

कलिला ‘मुटु’ बन्द हुँदा खोपिएका तिखा काँडा

सीसीयूमा भर्ना हुने अधिकांश व्यक्ति ५० वर्ष नाघेका हुन्छन् । कतिपय भने युवा, कलिलै उमेरका हुन्छन् । धेरै बिरामी हार्ट अट्याक वा जटिल अवस्थामा सीसीयूमा भर्ना भएका हुन्छन् ।

२५ वर्षको जागिरे अनुभवमा उनले सयौं कलिला मुटु बन्द भएको देखिन् । जसले उनको मुटुमा तिखा काँडा रोपिरहन्छ । ती अबोध लासलाई शवगृहसम्म पुर्‍याउने जिम्मेवारी पनि उनकै रहन्छ ।

कहिलेकाहीं आफूले लामो समयसम्म केयर गरेका बिरामीको अकल्पनीय मृत्युले आफैं भावविह्वल हुन पुग्छिन् ।

कहिले गर्भवती, कहिले अबोध बालक, कहिले युवा-युवती, किशोर-किशोरीको मृत्युले मन कुँडिन्छ । कतिपय मृत्युका घटनाले उनी घरसम्म पनि रोएर गएकी छिन् । हप्तौं दिनसम्म निद्रा बिथोलिरहे । मुटुमा किलो रोपे झैं भइरह्यो ।

‘१६/१७ वर्षका केटाकेटीको मृत्युले सारै दुःखित बनाउँछ । कति सपना बोकेका थिए होलान्’ भावुक हुँदै उनले भनिन्, ‘कहिलेकाहीं त भगवान् पनि कति निष्ठुरी हुँदारहेछन् जस्तो लाग्छ ।’

उनले हजारौं अविस्मरणीय घटनालाई नजिकबाट नियालेकी छिन् । केही महिना अगाडिको घटना हामीसँग सुनाउँदै गर्दा उनका आँसु बरर्र खसे ।

१९ वर्षको युवक । गाउँभर आर्मीमा जागिर खाएको देख्दा उनले पनि जागिर खाने सपना बुनेका रहेछन् । शान्तिसँग ती युवकले ठीक भएर जान सक्छु होला भनेर जिज्ञासा राखेका थिए । ‘त्यसबेला मैले ठीक भइहाल्छ नि ! धेरै नआत्तिनु भनेकी थिएँ । त्यसको भोलिपल्ट नै भेन्टिलेटरमा राख्नुपर्‍यो । केही दिनमा मृत्यु भयो’, त्यो पल सम्झिंदै गर्दा उनका आँखा आँसुले भरिएका थिए ।

अन्य बिरामीभन्दा मुटुका बिरामीको मृत्युदर बढी हुन्छ । कतिपय बिरामीको उपचारकै क्रममा मृत्यु हुन्छ । आफैंले केयर गरिरहेको बिरामीको मृत्यु हुँदा आफन्त नै गुमाए जस्तो लाग्ने उनी बताउँछिन् । कलिलाको तुलनामा ज्येष्ठ नागरिकको मृत्यु हुँदा कमै दुःख हुन्छ । उमेर पुगेका मानिस आज नभए भोलि वा पर्सिका दिनमा मर्नु नै थियो । तर, ती बच्चा, युवाहरूले पूरै जीवन देख्न बाँकी थियो ।

‘युवा अवस्थामा बिरामीको मृत्यु हुँदा रुन मन लाग्छ । यही घटना हप्तौं दिनसम्म पनि मन, मस्तिष्कमा बसिरहन्छ’, उनले भनिन् ।

जब आफ्नै सन्तानले अन्त्येष्टि गर्न अरू कसैलाई अह्राउँछन्…

कतिपय मानिस आफ्ना आमा–बुवाको अन्तिम बेलामा अनुहार देख्न पाइएन भने आफ्नो भाग्यलाई दोष दिन्छन् । तर कतिपय विदेश बस्ने मानिस बाध्यताको बाबजुद फर्किन सक्दैनन् । धेरै पैसा लाग्ने वा जागिर नै जाने भन्दै आफ्ना बुवा–आमाको अन्तिम संस्कार गर्न समेत आउँदैनन् ।

जति सन्तान भए पनि मृत्युको क्षणमा कोही छेउमा हुँदैनन् । त्यस्ता घटनाले उनलाई चिन्तित बनाउँछ ।

छिमेकी वा केही आफन्तले जटिल अवस्थामा अस्पतालमा ल्याइदिएका हुन्छन् । उनीसँग ती वृद्धवृद्धाले गुनासो गर्छन्-सानो बेलामा लालनपलान गरियो । तर जति सन्तान भए पनि बुढेसकालमा एक्लो भइयो ।

‘मेरा छोरा-छोरी अमेरिका, अष्ट्रेलियामा छन् भन्नुहुन्छ । तर कोही मृत्यु भएको दुई-चार दिन पछि आइपुग्छन् । कोही जागिर जान्छ भनेर अन्तिम संस्कार गर्न आफन्तलाई अह्राउँछन्’ शान्ति भन्छिन्, ‘यस्ता घटनाले मन गह्रौं बनाइरहन्छ ।’

त्यति मात्रै होइन, नेपालमा भएका सन्तानले पनि राम्रोसँग हेरचाह गर्दैनन् । यस्ता धेरै किसिमका बिरामी देखिन् । उनको अनुभवमा छोराले भन्दा बढी छोरीले नै महत्वका साथ हेरिरहेका हुन्छन् ।

‘कतिपय छोराले उपचार गर्नका लागि वास्ता समेत गर्दैनन् । छोरीले नै गरोस् भन्ने सोचाइ हुँदोरहेछ’ उनले अनुभव सुनाइन्, ‘छोराले अलिकति बिरामी ठीक भएपछि पैसा लाग्ने लोभले घर लैजाने कुरा गर्छन् । तर छोरीहरू केही दिन अझै अस्पताल राखेर ठीक बनाएर लैजाने भन्छन् ।’

जब आफूले केयर गरेको बिरामी बाटोमा भेटिन्छन्…

बिरामीलाई मिठो बोल्दा, फिस्स हाँसिदिंदा पनि खुसी हुन्छन् । उनीहरूको आधा रोग नै व्यवहारले निको हुन्छ ।

दुई दशक अगाडि गंगालाल प्रवेश गरेकी सीसीयूको नर्सिङ इन्चार्ज विष्णु पाण्डे शान्ति ‘दिदी’ को व्यवहारमा आजसम्म उही हाँसो, उही सक्रियता रहेको बताउँछिन् ।

‘हिजो दुई दशक अगाडि स्टाफ नर्सका रूपमा अस्पतालमा प्रवेश गर्दा उहाँलाई आमाकै रूपमा हेरेका थियौं । अहिले पनि बिरामी, अहिले आएका भर्खरका बहिनीले आमा नै भनेर बोलाउँछन्’ इन्चार्ज पाण्डेले भनिन्, ‘उहाँबाट हामीले अभिभावकत्व महसुस गरेका छौं ।’

आफूले हप्तौं केयर गरेको बिरामी निको भएर घर फर्किंदा उनलाई थप खुसी मिल्छ । कहिलेकाहीं कतिपयले बाटोमा भेटेर आफूलाई केयर गरेको घटना सम्झाउँदै धन्यवाद दिन्छन् ।

तर उनले हजारौं बिरामीलाई सेवा गरेकी छिन् । वर्षौंदेखिको सम्झना झट्ट दिमागमा आउँदैनन् । घरमा गएर गहिरोसँग सम्झने कोसिस गर्छिन् ।

‘सबैको अनुहार झट्ट याद आउँदैन । कसले भन्यो कसले भन्यो जस्तो लाग्छ । तर घरमा गएर दिमाग खेलाउँदा ती पहिलाको तस्वीर अनुहारमा आउँछ’ उनी भन्छिन्, ‘सायद कपाल कोरिदिएको आमा भनेर उहाँहरूले सम्झिरहनुभएको हुन्छ होला !’

१६ वर्षमै विवाह-बन्धनमा बाँधिएकी शान्तिका तीन सन्तान छन् । चक्रपथमा बस्दै आएकी उनका ६ जना त नाति-नातिना पनि भइसकेका छन् । उमेर बढ्दै जाँदा केही स्वास्थ्य समस्या देखिएको छ । घुँडामा हड्डी खिइएकोले धेरैबेर उभिन सकस हुन्छ ।

‘सकेसम्म बिरामीको सेवामा तल्लीन हुन मन थियो तर शरीरले साथ दिंदैन कि भन्ने भान भइरहेको छ’ उनले हाँस्दै भनिन्, ‘अब त बुढी पनि भइयो, बिरामीको अगाडि कति खोच्याङ, खोच्याङ गर्दै हिंड्नु !’

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

बिरामी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बच्चाको घाँटीमा खानेकुरा अड्किए गम्भीर अवस्था आउन सक्छ, के गर्ने ?

बच्चाको घाँटीमा खानेकुरा अड्किए गम्भीर अवस्था आउन सक्छ, के गर्ने ?

बाढीपहिरोले बढायो संक्रामक रोगको जोखिम, कसरी बच्ने ?

बाढीपहिरोले बढायो संक्रामक रोगको जोखिम, कसरी बच्ने ?

कपाल उमार्न प्रयोग गरिने कोलाजेन सप्लिमेन्ट कति सुरक्षित ?

कपाल उमार्न प्रयोग गरिने कोलाजेन सप्लिमेन्ट कति सुरक्षित ?

कसैको प्रेममा पर्दा शरीरमा के कस्ता परिवर्तन देखिन्छन् ?

कसैको प्रेममा पर्दा शरीरमा के कस्ता परिवर्तन देखिन्छन् ?

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

मुटुरोगको जोखिम : पुरुष र महिलामा के अन्तर हुन्छ ?

गर्भावस्थामा कुन-कुन बेला बेडरेस्ट गर्नुपर्छ ?

गर्भावस्थामा कुन-कुन बेला बेडरेस्ट गर्नुपर्छ ?