+
+

बोधिचित्तको रूख काटिनुअघि किन काठमाडौं आएका थिए चिनियाँ व्यापारी ?

बोधिचित्तको रूख काटिएको प्रकरणको सतहमा विप्लव माओवादीका पूर्व कार्यकर्ताहरु देखिए पनि यसको सम्बन्ध चिनियाँ व्यवसायीसम्म पुग्ने प्रहरी बताउँछ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ जेठ २३ गते १८:५९

२३ जेठ, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–५, सिपालीमा बहुमूल्य बोधिचित्तको रुख काटिनुअघि एक जना चिनियाँ माला व्यवसायी काठमाडौं आएको खुलेको छ । दुई पटक बोधिचित्त खरिदका लागि लगानी गरेर लैजान नपाएका इन्सु भनेर चिनिने व्यवसायी रुख काटिनुअघि नेपाल आएको देखिएको हो ।

ठमेलस्थित एक होटलमा उनले प्रायः अष्ट्रेलिया बस्ने तिमालका व्यवसायी कविन्द्र लामासँग भेट गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले संकलन गरेको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेजमा कविन्द्रसँगै हाल प्रहरी हिरासतमा रहेका मानबहादुर तामाङ (सिजन) पनि देखिन्छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, काभ्रेको संयुक्त टोलीले फेला पारेको सीसी टीभी फुटेजमा चिनियाँ व्यवसायीले सुटकेश बोकेर हिँडेको देखिन्छ भने त्यसमा पैसा राखिएको हुनसक्ने प्रहरीको आशंका छ । त्यो पैसा विप्लवको पार्टीका पूर्व नेता सागर मैनाली मार्फत बोद्धिचित्तको रुख काट्न प्रयोग भएको हुनसक्ने अनुसन्धान अधिकृतहरुको दाबी छ ।

चिनियाँ नागरिक इन्सु ठमेलको होटलमा ।

२९ चैतको मध्यराति अज्ञात समूहले तीन करोड रुपैयाँमा बिक्रीका लागि सम्झौता भएको बोधिचित्तको रुख काटिदिएको थियो । प्रारम्भिक अनुसन्धानमा सिजनले ‘गेम इज ओभर, नेक्स्ट इयर’ भन्दै म्यासेज गरेको भेटिएको थियो । यसपछि उनी पक्राउ परेका थिए ।

बोधिचित्तको व्यापारमा संलग्न समिप त्रिपाठीका अनुसार, काभ्रेबाट ३ करोड रुपैयाँमा खरिद हुने बोधिचित्त चिनियाँ बजारमा पुग्दा अधिकतम १० करोड रुपैयाँसम्ममा बिक्री हुन्थ्यो । धार्मिक महत्व पनि भएकाले चिनियाँ बजारमा यसको माग उच्च थियो ।

यस्तोमा चिनियाँ व्यवसायी तिमालको बोधिचित्तको माला लिन ५ वर्ष अगाडिसम्मको पैसा दिन तयार हुने गर्थे । प्रहरीका अनुसार, फुकुआ नामका चिनियाँ व्यवसायीले २०७६ सालमा दुर्गालाल तामाङ भनिने प्रभातमार्फत बोधिचित्तका लागि ठेक्का सम्झौता गरेका थिए ।

तर, माला टिप्ने बेला तत्कालीन विप्लवको पार्टीका पूर्वनेता सागर मैनालीको नेतृत्वमा गएको हतियारसहितको समूहले बोधिचित्तको रुखका हाँगाहरु भाँचिदियो । दाना पनि लुटेर लग्यो । प्रहरीका अनुसार, २०७७ र ०७८ सालमा बोधिचित्तमा खासै विवाद थिएन ।

२०७९ सालमा फेरि समिप त्रिपाठी, मानबहादुर तामाङ (सिजन) र दुर्गालाल तामाङ (प्रभात) को समूहले नै बोधिचित्तमा लगानी गर्‍यो । दुर्गालालले आफ्नो चिनियाँ व्यवसायी फुकुआलाई यसपालि बोद्धिचित्तको दाना दिने तयारी गरेका थिए ।

तर, समिपले प्रभातलाई थाहै नदिई कविन्द्र तामाङलाई माला बिक्री गर्ने सम्झौता गरेको खुलेको छ । समिपले कविन्द्रमार्फत चिनियाँ व्यवसायी इन्सुलाई बोधिचित्तको माला दिने सहमति गरेका थिए । जानकारहरुका अनुसार, इन्सुले पहिलेजस्तै गुणस्तरको सोचेर ३ करोड रुपैयाँ लगानी गरेका थिए ।

तर मैनाली नेतृत्वको समूहले दाना लुट्दा रुखको हाँगाहरु काटिएकाले पहिलेको जस्तो गुणस्तरको फलेको थिएन । ‘गुणस्तरीय दाना नभएपछि इन्सुले लगानी नउठेको भन्दै गुनासो गरेका रहेछन्’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनले अरु चिनियाँसँग आफ्नो लगानी फसेको भन्ने गरेका रहेछन् ।’

काभ्रेमा काटिएको बोधिचित्तको रुख ।

योबीचमा फुकुआले आफ्नो लगानी फिर्ता गरिदिन भन्दै प्रभातलाई ताकेता गरेको खुलेको छ । त्यसबेला प्रभातले बोधिचित्त धनीका छोरा शेरबहादुर तामाङलाई चिनियाँ व्यवसायी फुकुवाको पैसा फसेको भन्दै उजुरी गर्ने समेत बताएका थिए । त्यसपछि उनीहरुबीच छलफल समेत भएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

उजुरी हाल्ने विषय उठेपछि ठेकेदार समिप त्रिपाठीले घुमाएर पैसा ल्याउने जिम्मा आफ्नो भएको भन्दै परिस्थितिलाई मिलाएको पाइएको एक अधिकृत बताउँछन् । इन्सु भने तीन करोड रुपैयाँ लगानी गरेर पनि सोचेअनुसार प्रतिफल नपाएको भन्दै रुष्ट थिए ।

इन्सुबाट लिएको पैसा घरधनीसम्म नपुगेपछि यता पनि अर्को विवाद भएको पाइएको प्रहरी बताउँछ । यसपछि समिप लगायतले भने अर्को वर्षको सम्झौता पनि गरे पैसा दिने शर्त राखेको पाइएको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार, २०८० सालमा फल्ने मालाका लागि इन्सुको पैसा अग्रिम लगानी भयो । ‘मालाको सुरक्षादेखि अन्य सबै कुरा कविन्द्र र मानबहादुर तामाङले मिलाए’, एक अधिकृत भन्छन्, ‘पछि लिएर काठमाडौं ल्याउने बेला जडिबुटीबाट माला लुटपाट भयो ।’

इन्सुका लागि भनेर ल्याएको माला समिप र घरधनीका छोरा शेरबहादुरले जडिबुटीबाट अर्को गाडीमा सारेर लगेको पाइएको छ । काठमाडौं ल्याएर त्यो माला फुकुआलाई दिएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् ।

तर, यसविरुद्ध मानबहादुर तामाङ र कविन्द्र तामाङले भक्तपुर जिल्ला अदालतमा मुद्दा हाले । अदालतमा मुद्दा चलेपछि समिप त्रिपाठी र शेरबहादुर तामाङ ७५/७५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

प्रहरीका अनुसार, २०८० सालको माला नपाएपछि लगानी डुबेको भन्दै चिनियाँ व्यवसायी इन्सु रिसाएका थिए । त्यसपछि इन्सुले त्यो माला आफूले नपाए रुख नै काटिदिन्छु भनेको चिनियाँ व्यवसायीबीच हल्ला चलेको थियो । त्यसपछि फुकुआले यसबारे दुर्गालाल तामाङ (प्रभात) लाई वीच्याटमा म्यासेज गरेर सोधेको पाइएको छ ।

फुकुआ र प्रभात लामाबीचको वीच्याट संवादको स्क्रिन सट ।

अनलाइनखबरलाई प्राप्त वीच्याटको स्क्रिनसटमा प्रभातले आफूले पनि उनीहरुले त्यो रुख काट्ने वा औषधि हालेर मारिदिने भनेको सुनेको बताएका छन् । ‘तर, नआत्तिनुस् । म मिलाउँछु’, उनले भनेका छन् ।

यस्तोमा बोधिचित्तको रुख काटिनु केही हप्ताअघि चिनियाँ व्यवसायी इन्सुलाई विमानस्थलमा स्वागत गर्र्दै गरेको तस्वीर कविन्द्र तामाङले वीच्याटमा राखेका थिए ।

‘त्यो देखेपछि व्यवसायी फुकुवाले पहिल्यै शेरबहादुरलाई लगानी गरिसकेकाले प्रभातलाई म्यासेज गरेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘३० चैत २०८० मा बोधिचित्तको रुख काटिएको थियो, यसको भोलिपल्टै इन्सु चीन फर्किएका थिए । ’

अरुबेला बोधिचित्तको रुखमा दाना लागेको बेला लुटपाट हुने गरेपनि यसपटक भर्खर फूल फूल्न लागेका बेला अज्ञात समूहले रुख काटिदिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, कविन्द्रमार्फत रुख काटिएको प्रकरणबारे धेरै विषय खुल्ने भएपनि उनी विदेश गइसकेकाले निष्कर्षसम्म पुग्न कठिनाइ भएको छ ।

‘नेपालबाहिर भएका व्यक्ति जोडिएकाले पनि रुख काटिएको प्रकरणको अन्तर्यसम्म पुग्न समस्या भएको हो’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘विप्लवका पूर्वकार्यकर्ताहरु प्रयोग भएको देखिन्छ, तर उनीहरुलाई कसले परिचालन गरे भन्ने मुख्य कुरा हो ।’

वर्षेनिको विवाद

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले गरेको एक अध्ययनमा उल्लेख भएअनुसार, गौतम बुद्धले कुनै बेला तीन स्थानमा रोप्न भनेर बोधिचित्तको बिउ छरेको किंवदन्ती छ । तीमध्ये मध्य लुम्बिनी र नमोबुद्धका बिउहरु मरेर गएपनि काभ्रेको तिमाल क्षेत्रमा फस्टाएको भन्ने भनाइ छ ।

अर्को किंवदन्ती अनुसार, तिब्बती धर्मगुरु पद्मसम्भव (गुरु रेम्पोछे) ले तपस्याका लागि आएका बेला तिमाल क्षेत्रमा बिउ रोपेका थिए । यसको बिउ उनले लुम्बिनीबाट ल्याएको भन्ने गरिन्छ ।

वनस्पति विभागका पूर्वप्रमुख डा. राजेन्द्र केसीका अनुसार, पहिल्यैदेखि बोधिचित्तको रुख तिमाल क्षेत्रमा भए पनि यसको बजार उत्ति थिएन । यसको मूल्यबारे पनि स्थानीयलाई धेरै जानकारी थिएन ।

‘तर, २०७०/७१ सालको आसपासतिर तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो प्रवचनमा बोधिचित्तको बारेमा व्याख्या गर्नुभएछ’, केसीले भने, ‘उहाँले काभ्रेका तिमालमा पाइन्छ भनेर पनि भन्नुभएको रहेछ, त्यसपछि यसको व्यापार बढेको हो ।’

बौद्ध धर्मसँग जोडेर प्रचार भएपछि यसको धार्मिक र आर्थिक महत्व बढेको उनी बताउँछन् । काभ्रे प्रहरीले बोधिचित्तको रुखमा सधैं तनाव हुन थालेपछि त्यसबारे तयार गरेको एक प्रतिवेदनमा पनि २०७२ सालपछि तिमाल क्षेत्रमा बोधिचित्तको मालाले मूल्य पाउन थालेको उल्लेख छ ।

प्रहरी प्रतिवेदनमा उल्लेख भएअनुसार, २०७२ सालमा यो रुखका धनीले ४० लाख रुपैयाँमा माला ठेक्का लिएका थिए । २०७३ सालमा दोस्रो पक्षसँग सम्झौता भएपनि मालाधनी परिवारको द्वन्द्वका कारण जेठा छोराको मिलेमतोमा लुटिएको उल्लेख छ ।

प्रहरीका अनुसार, मालाको बिक्रीमा परिवारका सदस्यहरुले आपसी समझदारी नगरी फरकफरक व्यक्तिले छुट्टाछुट्टै सम्झौता गर्दा विवाद हुने गरेको थियो । प्रहरीको प्रतिवेदनमा पारिवारिक द्वन्द्वका कारण मालामा बाहिरी व्यक्तिले प्रभाव पार्ने गरेको उल्लेख छ ।

‘शेरबहादुर तामाङ आफैं ठकुरानीको छोरा भएपनि प्रभात र समिप त्रिपाठीहरु चढ्ने गाडी चलाउने गरेका थिए’, एक अधिकृत भन्छन्, ‘घरमा परिवारको सदस्यका रुपमा काम गर्ने, बाहिर चिनियाँसँग लगानीकर्ताको रुपमा पनि प्रस्तुत हुने गरी उनको दोहोरो भूमिका देखिन्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?