News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरामा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ।
- पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर ग्लान तामाङले झन्डै एक करोड रुपैयाँको लागतमा निर्मित ग्लान समुदायको ङारदिम उद्घाटन गरेका छन् ।
- राष्ट्रिय भेलाले अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ।
२० वैशाख, काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरामा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ ।
“कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने मूल नाराकासाथ ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न भएको हो ।
तामाङ समुदायभित्र पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित क्षेत्रलाई ग्लान समुदायको उद्गमस्थलका रूपमा मानिएको छ ।
पछिल्लो समय ग्लान वंशका सदस्यहरूले सो स्थानलाई ऐतिहासिक थलोको रूपमा स्वीकार गर्दै ग्लान समुदायको ङारदिम (थातथलो) का रूपमा स्थापना गरेका हुन् ।
झन्डै एक करोड रुपैयाँको लागतमा निर्मित ङारदिमको उद्घाटन पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा ग्लान वंश नेपालका संरक्षक हितबहादुर ग्लान तामाङले उद्घाटन गरेका छन् ।

कार्यक्रममा तामाङले नुवाकोटमा स्थापना गरिएको ङारदिम आउने वातावरण निर्माण गर्न सबैसँग आग्रह गरे । साथै उनले आफ्नो संस्कृति संरक्षणमा आफूबाट कुनै कमजोरी नहुने प्रतिबद्धता जनाए ।
उनले तामाङ समुदायको अधिकार, पहिचान र सशक्तिकरणका लागि यस्ता भेलाहरू अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले आफ्नो वंश परम्परा, संस्कृति संरक्षण तथा पुस्तान्तरणमा जोड दिएका थिए।
अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन
राष्ट्रिय भेलाले पत्रकार अर्जुन ग्लानको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
समितिका सदस्यहरूमा रक्षबहादुर ग्लान (काठमाडौं), ललित ग्लान (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर, नुवाकोट), आनन्दी ग्लान (ककनी, नुवाकोट), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सूर्यगढी, नुवाकोट) रहेका छन्।
तदर्थ समिति संयोजक जिम्मेवारी पाएका अर्जुनले ग्लान समाजको कुल–कुल्यान, संस्कार, संस्कृति तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय भेलामा झापा, उदयपुर, सिन्धुली, सर्लाही, बारा, मकवानपुर, चितवन, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुरलगायत जिल्लाबाट ग्लान वंशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4