News Summary
Generated by OK AI. Editorially reviewed.- होटल एसोसिएसन नेपालले भारतमा २५ भन्दा बढी सेवा सम्झौता गरेको छ।
- नेपाल भ्रमणको लागि भारतीय पर्यटकलाई गर्मी याममा विशेष योजना प्रस्तुत गरिएको छ।
- १ सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीले ५० भन्दा बढी नेपाली तारे होटलसँग व्यावसायिक भेटघाट गरेका छन्।
२० वैशाख, काठमाडौं । होटल एसोसिएसन नेपाल (हान) ले भारतमा २५ भन्दा बढी सेवा सम्झौता गरेको छ ।
हानका अध्यक्ष विनायक शाहको अध्यक्षतामा भारत गएको ६५ सदस्यीय नेपाली पर्यटन प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय पर्यटकलाई गर्मी याममा नेपाल भ्रमणको विशेष योजना प्रस्तुत गरेका थिए ।
सोही अवसरमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सहित बीटुबी बैठक आयोजना गरिएको थियो । कार्यक्रममा भारतीय पक्षबाट खासगरी नेपालमा विवाह उत्सव, आरोग्य पर्यटन, सभासम्मेलन, पारिवारिक बिदा मनाउने यात्रा, पदयात्रा लगायत प्रकृति–संस्कृति–साहसिक पर्यटनका विविध विधामा रुचि देखाइएको संघले जनाएको छ ।
नेपाल पर्यटन बोर्डको सहआयोजनामा नेपाली दूतावास दिल्लीको सहयोगमा आयोजित उक्त कार्यक्रममा १ सयभन्दा बढी भारतीय पर्यटन व्यवसायीले ५० भन्दा बढी नेपाली तारे होटल तथा रिसोर्टका प्रतिनिधिसँग व्यावसायिक भेटघाट गरेका थिए ।
गर्मीमा बिदा मनाउने योजना प्याकेज तयार गर्दा हालको स्थितिमा मध्यपूर्वको तनाव, बढ्दो हवाई भाडाको परिप्रेक्ष्यमा छिमेकी नेपालको शितल मौसम र बढ्दो स्तरीय पर्यटकीय आकर्षण र सुविधाप्रति भारतीय पर्यटकको रुचि बढेको कार्यक्रममा सहभागी होटल एसोसिएसन अफ इन्डिया, फेडेरेसन अफ होटल एन्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया, टुर्स एन्ड ट्राभल एसोसिएसन अफ इन्डिया, इन्डियन वेडिङ इन्डस्ट्री एसोसिएसनका प्रतिनिधिले बताएका छन् ।
प्रतिक्रिया 4