+
+
Shares

पोखरामा सुकुको हत्या गरेर जन्मकैद, जेनजी आन्दोलनमा भागेर नवलपुरमा फेरि हत्या

जेनजी आन्दोलनमा भागेका १३० जना अझै फरार

अमृत सुवेदी अमृत सुवेदी
२०८३ वैशाख १८ गते ८:३७
तनहुँ भीमादकी सुकु विकको हत्या लगायतका अपराधमा संलग्न सञ्जय विक

१८ वैशाख, पोखरा । पोखराको व्यस्त ठाउँ नागढुंगाको एउटा होटलमा तनहुँ भीमादकी सुकु विकको हत्या भएको घटना प्रहरीका निम्ति ठूलो टाउको दुखाइको विषय बन्यो । हत्या गर्ने व्यक्ति लामो समयसम्म फरार हुँदा प्रहरी अनुसन्धान र सुरक्षा संयन्त्र माथि नै प्रश्न खडा भयो ।

नागढुंगास्थित युनिक होटलमा ३८ वर्षीया सुकुको हत्या गर्ने अभियुक्तसम्म पुग्न प्रहरीलाई ८ महिला लाग्यो र बाग्लुङको गल्कोट नगरपालिका–९ मल्मका २९ वर्षीय सञ्जय विक २०८१ साउन पहिलो हप्ता पक्राउ परे । २०८३ जेठ २७ गते कास्की जिल्ला अदालतले सञ्जयलाई जन्म कैदको फैसला गर्‍यो ।

भीमादकी सुकुलाई सञ्जयले होटलमा लगेर यौन सम्पर्कको प्रस्ताव गरेको र नमानेपछि घाँटी थिचेर हत्या गरेर सुनका गरगहना लुटपाट गरेर फरार भएको प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो । सो अनुसन्धान समेतको आधारमा अदालतले सञ्जयलाई जन्मकैद र ७० हजार जरिवाना तोकेको थियो ।

 श्रृंखलाबद्ध अपराध, जेनजी आन्दोलनको मौकामा फरार

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते पोखराको कारागारबाट सबै कैदीबन्दीहरु भागे । त्यही क्रममा सञ्जय पनि फरार भएर फेरि नवलपुरमा अर्को हत्या गरेर लुटपाट गरेको फेला पर्‍यो । भदौमा कास्की कारागारबाट फरार भएका सञ्जय लुकिछिपी बस्दै प्रहरीलाई छक्काइरहेका थिए । २०८२ चैत २३ गते नवलपरासी देवचुली टाँगीकोट टोलमा ७५ वर्षीय श्रीमान र ७१ वर्षीय श्रीमतीमाथि आक्रमण गरी सुनका गरगहना लुटपाट गरेका थिए ।

श्रीमान जिउनराम थनेत र उनको श्रीमती गुलबसनिया थनेतलाई सुत्ने कोठामा बसिरहेका बेला टाउकोमा प्रहार गरी सुनका गरगहना समेत लुटिएको थियो । अचेत अवस्थामा बिहान आफन्तले देखेर उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएकोमा जिउनराम थनेतको तत्काल मृत्यु भएको थियो ।

भदौमा कारागारबाट भागेका सञ्जयले चैतमा नवलपुलमा अर्को हत्या गरेर फरार भएपछि प्रहरीका निम्ति फेरि अर्को चुनौती थपियो । गम्भीर हत्या अपराधमा जन्मकैद सजाय पाएका सञ्जयलाई पक्राउ गर्न २०८२ असोजमै प्रहरी परिचालन गरिएको थियो । तर, प्रहरी सञ्जयसम्म पुग्न सकेको थिएन ।

कारागारबाट फरार भएको ७ महिनापछि नवलपुरमा अर्को हत्या गरेर फरार भएपछि फेरि ठूलो टाउको दुखाइ बनेको थियो । सञ्जयलाई प्रक्राउ गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) परिचालन गरिएको थियो । नेपाल प्रदेश प्रहरी कार्यालय पोखरा एवं जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) समेतको संयुक्त अनुसन्धान टोली पनि खटिएको थियो । नवलपुरबाट फरार सञ्जयलाई प्रहरीले बल्ल पक्राउ गर्न सफल भएको छ ।

केटी साथी बनाउँदै लुक्दै

काठमाडौंमा केटी साथी बनाएर उनको आफन्तको घरमा लुकेर बसेका सञ्जयलाई प्रहरीले यही वैशाख १५ गते पक्राउ गर्न सफल भएको हो । सीआईबीसहितको प्रहरी टोलीले सञ्जयलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नवलपुरमा बुझाएको छ ।

प्रहरीले सञ्जयलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । नवलपुर प्रहरी प्रमुख युवराज खड्काका अनुसार सञ्जयलाई अदालतमा पेश गर्ने र अदालतको आदेश बमोजिम कास्की पठाउने वा नवलपुर कारागारमै राख्ने भन्ने निधो हुने छ । प्रहरीको विशेष टोली खटिएर सञ्जयलाई पक्राउ गर्न सफल भएको एसपी खड्काको भनाइ छ ।

सञ्जयलाई पक्राउ गर्न खटिएका प्रहरी स्रोतका अनुसार सञ्जयले फेरि–फेरि केटी साथी बनाउने, यौन सम्बन्ध राख्ने र विभिन्न ठाउँमा डाँकाचोरी गर्दै हिँड्ने गरेका थिए । २०७२ असारमा पनि सञ्जयविरुद्ध चोरी मुद्दा दर्ता भएको थियो ।

२०८० साल मंसिर ५ गते तनहुँ भीमादकी सुकुलाई होटलमा लगेर हत्या गरेका थिए । २०८१ साल श्रावण २९ गते पुर्पक्षका लागि कारागार चलान भएका थिए भने २०८२ जेठ २७ गते अदालतले उनलाई उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।

जेनजी आन्दोलनमा फरार भएका गम्भीर अपराधका दोषीहरुले फेरि देशमा हत्या, लागु औषध कारोबार, बलात्कारजस्ता घटना दोहोर्‍याउँदै सुरक्षा संयन्त्रमाथि नै ठूलो चुनौति खडा गरिरहेका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागार तोडफोड गरी भागेका ७ सय ७३ जना कैदीबन्दीमध्ये १ सय ३० जना अझै फरार छन् । तीमध्ये ६ जना जति गम्भीर खालका अपराधमा दोषी ठहर भएकाहरु पनि रहेको कास्की कारागारका निमित्त प्रशासक झंकनाथ पौडेलले जानकारी दिए ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?