+
+

बजेट पेश गर्ने दिनसम्म संसद खुल्ने प्रचण्डको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १३:१७

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा जारी अवरोध १५ जेठसम्म हट्ने विश्वास व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफू केही दिनदेखि राजनीतिक दलहरुका बीचमा सहमति जुटाउन प्रयासरत रहेको बताए ।

‘मलाई विश्वास छ– आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने । १५ जेठमा संसदमा बजेट पेश गर्ने संवैधानिक प्रावधान छ ।

आइतबार बिहान आफू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेको भन्दै प्रचण्डले सहमतिको नजिक पुगेको बताए ।

कांग्रेसले सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । यसमा सत्तापक्षमा रहेका दलहरु पनि सहमत भएका छन् । तर, संसदीय समितिको कार्यादेश टुंगो लागेको छैन ।

कार्यदेश टुंगो लगाउन यही जेठ ५ गते कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । कार्यदलमा कांग्रेसका तर्फबाट जीवन परियार, एमालेको तर्फबाट महेश बर्तौला र रास्वपाका तर्फबाट शिशिर खनाल सदस्य छन् ।

कार्यदलस्तरमा जारी छलफल सकारात्मक रहेको र दलहरुका बीचमा चाँडै सहमति जुट्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संसदमा नै बजेट पेश हुने पनि बताएका छन् । कतिपयले अध्यादेशबाट सरकारले बजेट ल्याउन सक्ने आशंका गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरिने बताए । नीति तथा कार्यक्रममा परेको संशोधनको विषय समेतलाई ख्याल गरेर बजेट प्रस्तुत गरिने उनको प्रतिवद्धता छ ।

सरकारको नीति तथा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संशोधनको सूचना दिएका थिए । उनीहरुले नीति तथा कायक्रमको बिभिन्न बुँदामा संशोधन प्रस्ताव गरेका छन् ।

प्राप्त संशोधनका विषय बजेटमा समावेश गर्न पहल गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?