+
+
पोखराको पदचाप-९ :

अब अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र चाहन्छ पोखरा

अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखराले मागिरहेको ठूलो पूर्वाधार हाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । मिटिङ, इनिसियटिभ, कन्फ्रेन्स एन्ड एक्जिब्युसन टुरिज्म (माइस टुरिज्म) प्रवर्द्धन गर्न भन्दै पोखरेली पर्यटन व्यवसायीले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न र विशाल सम्मेलन केन्द्र माग गरिरहेका छन् ।

रवीन्द्र घिमिरे अमृत सुवेदी रवीन्द्र घिमिरे, अमृत सुवेदी
२०८१ जेठ २८ गते २०:०५
Photo Credit : एआई सिर्जित
प्रतिकात्मक तस्वीर

२८ जेठ, पोखरा । १६ र १७ वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रका लागि लगानी आह्वान गरेको थियो । ४ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यो परियोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बूट मोडल)मा निर्माण गर्ने प्रस्ताव थियो ।

तीन हजार मानिस अटाउने सम्मेलन हल, ५०० जना अटाउने एम्पिथिएटर, दुईवटा प्रदर्शनी हल, २०० कोठाको पाँचतारे होटल बनाउने गरी लगानी आह्वान गरिएको थियो ।

करिब ७ हेक्टर क्षेत्रफलमा बन्ने सम्मेलन केन्द्रले १९ वर्षमा प्रतिफल दिने अनुमान लगानी बोर्डले गरेको छ । तर यो परियोजनामा अहिलेसम्म प्रस्ताव परेको छ कि छैन पनि थाहा नभएकाले यो अन्योलकै योजना हो ।

‘अहिलेसम्म लगानी सम्म्मेलनमा राखिएको पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रस्तावहरु खोलिएको छैन, आगामी २ जुलाइसम्मका लागि समय दिएका छौं,’ लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारी भन्छन्,‘आशा गरौं कि पोखराको सम्मेलन केन्द्रमा राम्रो लगानी प्रस्ताव आओस् ।’

उनले व्यावसायिक सम्भावना देखेरै बोर्डले परियोजना सार्वजजिक निकी साझेदारीमा निर्माण गर्न प्रस्ताव गरेको अधिकारीले बताए । प्रदेश सरकार र महानगरसँग समेत समन्वय गरेर यो लगानीको परियोजना सफल बनाउन सकिने उनले बताए ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि हेमजा र सिलिङ्गेमा जग्गा हेरिएको थियो, तर अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटर टाढा पर्ने निर्मलपोखरी उपयुक्त देखिएपछि लगानी बोर्डले प्रक्रिया अघि बढाएको पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले बताए ।

प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबारे जानकारीहरू

‘लगानी बोर्डले आह्वान गरेपछि घाना, चाइना र मलेसियाका लगानीकर्ता इच्छुक देखिएका छन्’, उनले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि धेरै पर्यटन व्यवसायीलाई लागेको थियो, अब विश्वका विभिन्न देशसम्म सोझै पोखराबाटै विमानहरु उडान अवतरण हुनेछन्, पर्यटकको संख्या अत्यधिक बढ्नेछ, पोखरामा ठूला सभा, सम्मेलन, गोष्ठी र कार्यक्रमहरु आयोजना हुन्छन् ।

अपेक्षाअनुसार पोखराबाट अन्तर्राष्ट्रिय उडान त अहिलेसम्म हुन सकेको छैन, पोखराले सोचेजस्तो ठूला कार्यक्रम, सम्मेलन, प्रदर्शनी र बैठक पनि आयोजना गर्न सकेको छैन ।

देशकै दोस्रो ठूलो पर्यटकीय गन्तव्यमा दिनहुँ सभा, सम्मेलन र गोष्ठीहरु भइरहन्छन् । यस्ता कार्यक्रमहरु मूलतः न्यूरोडमा रहेको पोखरा सभागृह, नयाँ बजारस्थित प्रदर्शनी केन्द्र, अमरसिंह चौर, बसुन्धरा पार्क, क्याम्पियन चौर, बाराही घाटनेरको नेपाल ट्रस्टको चौर र धेरैजसो त तारे होटलहरुका साँघुरा हलमा सीमित छन् ।

एकै स्थानमा एकसाथ एक भन्दा धेरै कार्यक्रम र बैठकहरु चलाउने गरी सम्मेलन गर्न पोखराका होटलहरुमा पूर्वाधार नै तयार छैनन् । त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलपछि पोखरा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र मागिरहेको छ । ठूला मिटिङ, इनिसियटिभ, कन्फ्रेन्स एन्ड एक्जिब्युसन टुरिज्म (माइस टुरिज्म) प्रवर्द्धन गर्न पोखरेली पर्यटन व्यवसायीहरू उत्सुक छन् ।

पुराना हल काम लागेनन् 

पोखरामा हाल धेरै सार्वजनिक कार्यक्रम गर्ने सभाहल पोखरा सभागृह हो । २०४५ सालमा तत्कालिन युवराजको नाममा सञ्चालन गरिएको १५०० सिट क्षमताको दीपेन्द्र सभागृह २०६२/६३ पछि पोखरा सभागृह नामकरण गरिएको छ ।

बहुदलले ल्याएको खुला राजनीति तथा उदार व्यवस्थापछि धेरै सभा सम्मेलनहरु यहीँ भए । होटलको सुविधा र देशकै मध्यभागमा पर्ने भएकाले राजनीतिक दलहरुको महाधिवेशन तथा सम्मेलन, विभिन्न संघसंस्थाको साधारण सभा र अधिवेशन यहीँ हुँदै आएको छ ।

जीर्ण बनिसकेको सभागृहले अहिले पोखरामा दैनिक भइरहने गतिविधिलाई धान्न सक्ने अवस्था नहुँदा हिजोआज पनि ठूला कार्यक्रम र मेला गर्ने विकल्प धेरैका लागि खुला चौर नै हुन पुगेको छ ।

पोखरा महानगरको स्वामित्वका रहेको यो सभाहलको व्यवस्थापन लथालिंग छ । मर्मत सम्भारको अभावमा सभागृहका कतिपय संरचना प्रयोगविहीन छन् । सभागृहभित्रका सिटदेखि शौचालयसमेतको अवस्था नाजुक छ ।

करिब १६ रोपनीमा बनेको सभागृहमा मध्यमस्तरीय कार्यक्रम र बैठक गर्न उपयुक्त स्थल हो । सभागृह सार्वजनिक निजी साझेदारी अन्तर्गत सञ्चालन गर्न ०७० सालमा बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टसँग तत्कालीन पोखरा उपमहानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

त्रिपक्षीय सम्झौताअनुसार बीपीएसले २५ वर्षका लागि सभागृह सञ्चालन गर्ने, सम्झौता भएको ६ महिनाभित्र मर्मतसम्भार गर्ने, रङरोगनका साथै कलाकृति भर्ने र दुई वर्षभित्र तत्कालीन उपमहानगरले डिजाइन गरेको नक्साका आधारमा सभा गृह मर्मत गरिसक्नुपर्ने थियो ।

बीपीएसले सभागृह मर्मतसम्भार तथा पुनर्निर्माण गर्न डाइनामिक इन्जिनियरिङ कम्पनीलाई अध्ययनको जिम्मेवारी दिएको थियो । तर, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको राजनीतिक समूहले आफ्नो झण्डा र ब्यानर गाडेर कब्जाको घोषणा गर्‍यो ।

उता पोखरा उपमहानगरपालिका, नगर विकास कोष र बीपीएस लिजिङ एण्ड म्यानेजमेन्टबीचको सम्झौता नियमविपरीत भएको भन्दै उच्च अदालतमा मुद्दा पर्‍यो ।

अदालतले सभागृह निजी कम्पनीलाई नदिई तत्कालीन उपमहानगर आफैंले सञ्चालन गर्न आदेश दिएपछि यो महानगरले नै चलाउनुपर्‍यो । महानगरले सामान्य मर्मत गरेर सभागृह चलाइरहेको छ ।

तर, निजी क्षेत्रलाई दिएको भए अहिले सभागृह व्यवस्थित र बहुशत्र चलाउन सकिने हलहरुसहित सुविधायुक्त हुने पोखराका धेरै व्यवसायीहरु बताउँछन् ।

सम्मेलनको सम्भाव्य गन्तब्य 

पोखरा महानगरका मेयर आचार्य सभागृह पुनर्निर्माण गर्न नगर विकास कोषले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बताउँछन् । ‘चाइनिज दूतावासले लगानी गर्छु भनेको छ । उनीहरुले गरेनन् भने पनि महानगरले ऋण लिएर भए पनि बनाउँछ’, उनले भने ।

पोखरा जनसंख्या झण्डै ५ लाख पुगिसकेको छ र वर्षमा हजारौं पर्यटकहरु आउजाउ गर्छन् । देशविदेशको आकर्षणको केन्द्र पोखरालाई सभा–सम्मेलनका माध्यमबाट हुने पर्यटनको रुपमा विकास गर्ने चर्चा सुरु भएको पनि वर्षौं भइसक्यो ।

प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

अहिले होटल, पार्टी प्यालेस, इभेन्ट सेन्टरजस्ता निजी क्षेत्रबाट कार्यक्रमहरु गर्ने थलोको रुपमा विकास भइरहेको भए पनि अन्तर्राष्ट्रियस्तरको कार्यक्रम गर्ने सम्मेलन केन्द्र भने पोखरामा बन्न सकेको छैन ।

‘सभागृह बनेदेखि नै त्योभन्दा ठूलो हल पोखरामा चाहिन्छ भन्ने चर्चा चल्थ्यो । छिमेकी मुलुकको चासोको केन्द्र, कुटनीतिक क्षेत्रका मान्छेहरुको आउजाउ हुन थाल्यो भने पोखरा यसै पनि शीतल, प्राकृतिक मनोरम र सभासम्मेलनका लागि उपयुक्त थियो’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी भन्छन् ।

पर्यटन व्यवसायी नरेश भट्टराई एउटा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र नहुँदा पोखरामा ठूला कार्यक्रमहरु हुन नसकेको बताउँछन् ।

‘ठूला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हुन्थ्यो भने यहाँ विभिन्न देशबाट समेत सहभागीहरु आउँथे र उनीहरुले पर्यटकका रुपमा पोखरामा अतिथ्यता पाउन सक्थे’, उनी भन्छन्, ‘तर, एउटा राम्रो सभाहल समेत नभएका कारण पोखराले सम्भाव्य पर्यटकहरु गुमाइरहेको छ ।’

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बहु–सुविधाहरु भएको ठूला कम्प्लेक्स हुन्छन् । आधुनिक सुविधासहित विलासी सजावट र एकैपटक धेरै सत्रहरु चलाउन मिल्ने हलहरु उपलब्ध हुन्छन् ।

एउटा स्तरीय सम्मेलन केन्द्रले शहरको पर्यटनमा कति योगदान दिनसक्छ भन्ने उदाहरण पोखरेली पर्यटन व्यवसायीले सिंगापुरमा देखेका छन् ।

सिंगापुरको स्यान्ड्स एक्सपो र कन्भेन्सन सेन्टर

‘मरिना बे स्यान्ड्स’मा रहेको ‘स्यान्ड्स एक्सपो र कन्भेन्सन सेन्टर’ क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्मेलनहरू, व्यापार शो र प्रदर्शनीहरूको लागि दक्षिणपूर्वी एशियाकै उत्तम स्थलका रुपमा परिचित छ ।

१ लाख २० हजार वर्गमिटरको यो सम्मेलन केन्द्रमा एकसाथ ४५ हजार प्रतिनिधिहरू सहभागी सम्मेलनहरू आयोजना गर्न सक्छ । यो केन्द्रकोे एउटै हल ‘बल रूम’ मा एकैपटक ११ हजार पाहुनाहरूलाई सेवा दिन सक्छ  । दुई हजार वटा प्रदर्शनी, बुथहरूलाई राख्ने र २५० बैठक कोठाहरू एकसाथ उपलब्ध गराउन सक्छन् । यसका हलहरु ग्राहकको आवश्यकताअनुसार साँघुरो र फराकिलो बनाउन सकिन्छ ।

चीन, भारत, थाइल्यान्ड लगायतका देशले पनि पर्यटकीय शहरमा यस्ता ठूला सम्मेलन केन्द्र बनाएका छन्, जसमा कार्यक्रम गर्न युरोप र अमेरिकादेखि विभिन्न संघ संस्थाहरु आइपुग्छन् ।

पोखरेली व्यवसायीले अत्यधिक ठूलो सम्मेलन केन्द्रको अपेक्षा गरेका भने होइनन् । अध्ययनका आधारमा पोखराका लागि आवश्यक पर्ने आकारको सम्मेलन केन्द्र बनेमा त्यसले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलनहरु ल्याउन सकिने व्यवसायीको अपेक्षा छ ।

‘पोखराका होटलले एकै दिन ४० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता भए पनि अकुपेन्सी दर कम छ’, पर्यटन व्यवसायी  भट्टराई भन्छन्, ‘सम्मेलनका लागि पर्यटक आए भने एकैपटक निश्चित अवधिका लागि होटल र रुम बुक हुन्छन्, यसले पर्यटन उद्योगमा थप टेवा पुग्छ ।’

लुम्बिनी र सुर्खेतमा बन्यो, पोखरामै छैन

सरकारले लुम्बिनी र सुर्खेतमा ठूलो लगानीमा सम्मेलन केन्द्र बनाएर अहिले चल्न नसक्ने अवस्थामा रहेको बताउँदै महासंघका पूर्व अध्यक्ष मुल्मीले त्यो लगानी पोखरामा गर्न आफूहरुले आग्रह गरेको स्मरण गरे ।

‘बुटवलमा अर्बौंको खर्चमा सम्मेलन केन्द्र बन्यो तर बिजनेस दिन सकेको छैन, सुर्खेतको अवस्था पनि त्यस्तै छ । त्यो लगानी पोखरामा भएको भए आज ठूला कार्यक्रम यहाँ हुन सक्थे’, मुल्मीले भने, ‘पोखरेलीकै जोडबलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले पोखरामा पनि बनाउन जग्गाको खोजी गर्न आए र १७ करोड पनि छुट्टियो तर महानगरले निर्णय गर्न नसक्दा फिर्ता नै हुन पुग्यो ।’

पोखरामा भएको सभा हल समेत जीर्ण भइसक्दा नयाँ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आवश्यक भइसकेको बताउँछन् व्यवसायी मुल्मी । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले त्यसको उपयोगिता बढाउने गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि तयार गर्नुपर्ने उनी बताउँछन् ।

‘पोखराको पर्यटन उद्योगलाई उकास्ने गरी आवश्यक सबै पूर्वाधारहरु बनाउँदै जानुपर्छ’, उनले भने, ‘ठूला र स्तरीय सम्मेलन पोखरामा गर्न सक्ने पूर्वाधार पहिले आवश्यकता हो ।’

कहिले पोखरा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा त कहिले पुरानो विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बनाउनुपर्ने आवाज पोखरामा बेला बेला उठिरहन्छ । ठूलो चौरसहितको प्रदर्शनी केन्द्रमा साना ‘इन्डोर’ कार्यक्रम देखि मेला महोत्सवहरु आयोजना हुन्छन् । यो प्रदर्शनी केन्द्रमा पोखरा उद्योग वाणिज्य संघदेखि विभिन्न संघ संस्थाले वर्सेनि व्यापारसहित सांस्कृतिक महोत्सव हुन्छन् । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पुरानो विमास्थल भएको जग्गा खाली नै छ । त्यहाँ सम्मेलन केन्द्र बनाउनुपर्ने माग पनि उठेको छ ।

तत्कालीन लेखनाथ नगरपालिका पोखरामा गाभिएपछि अपनत्व महसुस गर्न नसकिरहेको लेखनाथ क्षेत्रमा ठूलो सम्मेलन केन्द्र बनाउनुपर्ने लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ध्रुवराज भट्टराई बताउँछन् । ‘पोखरामा सम्मेलन केन्द्र बनाउँदा फेवाको लेकसाइडको मोह छाडेर लेखनाथतर्फ ध्यान दिनुपर्छ,’ उनले भने,’पर्यटनबाट सबैले  लाभ लिने वातावरण तयार हुनुपर्छ ।’

पोखराको पदचाप-१

पोखराको पदचाप-२

पोखराको पदचाप-३

पोखराको पदचाप-४

पोखराको पदचाप-५

पोखराको पदचाप-६

पोखराको पदचाप-७

पोखराको पदचाप-८

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?