+
+

मदन भण्डारी कलेजले साताव्यापी कार्यक्रम गरेर वार्षिक उत्सव मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १७:४०

९ असार, काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले २३औ वार्षिक उत्सव साताव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ ।

आइतबार पत्रकार सम्‍मेलनको आयोजना गरी कलेजको २३औ वार्षिकोत्सव सप्ताहव्‍यापी रुपमा विविध कार्यक्रमको आयोजना गरिने मदन भण्डारी मेमोलियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले जानकारी दिए ।

क्याम्पस प्रमुख  अधिकारीका अनुसार असार ९ गतेदेखि १४ गतेसम्‍म विविध कार्यक्रम आयोजना गरिनेछ, जसअन्तर्गत असार ९ गते लाइभ पेन्टिङ प्रतियोगिता, १० गते धोबीखोला करिडोर दायाँबायाँ सरसफाइ, उपत्यका ट्राफिक व्‍यवस्थापन कार्यालय र कमपा १० वडासँगको सहकार्यमा ट्राफिक जनचेतना कार्यक्रम,  असार ११ गते अभिभावकसँग भेला र  ‘विद्यार्थी विदेश पलायन विषयक छलफल कार्यक्रम र ऊर्जा ध्यान शिविर राखिएको छ ।

असार १२ गते लायन्स क्लब अफल काठमाडूको सहकार्यमा स्वास्थ्य शिविर-रक्तदान कार्यक्रम, मधुमेश, मिर्गौला,दाँत तथा आँखा परीक्षा र सामाजिक सञ्जालमा महिला हिंसा: समस्या र सामना’ विषयक छलफल कार्यक्रम, असार  १३ गते ज्येष्ठ नागरिकहरूलाई कपडा तथा फलफूल वितरण तथा वर्तमान पाठ्यक्रम र प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्‍याम्पस प्रमुख अधिकारीले बताए ।

असार १४ गते कलेज प्राङ्गणमै आयोजना गरिने क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए । उनले भने, ‘कलेजको २३औ वार्षिक उत्सव समारोह कलेज प्राङ्गणमा विहान ८बजेदेखि सुरूहुनेछ। जसमा विहान १० बजेसम्म विविध सांस्कृतिक कार्यक्रम, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गर्नेछौं।’

उनका अनुसार वार्षिक कलेजको मुख्‍य कार्यक्रम २३औ वार्षिक उत्सव भने ११ बजेदेखि १ बजेसम्‍म हुनेछ, जसमा शुभकामना मन्त्व्य, ५ जना विद्यार्थीलाई स्वर्णपदक, वर्ष विलार्थी सम्‍मान, कलेजको वार्षिक प्रकाशन श्वेत शार्दूल अङ्क २०को विमोचन, ४ जना उत्कृष्ट शिक्षक एवम् कर्मचारी घोषणा, कलेजको नयाँ प्रकाशन ई-बुलेटिन अनावरण र वाटिका उद्‌घाटन गर्नुका साथै स्काउट ट्रुपको पनि शुभारम्भ गरिनेछ ।

पत्रकारिता विभागका पुर्वप्रमुख लुइँटेललाई सम्‍मान

पत्रकार सम्‍मेलनमा मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता विभागका पुर्व प्रमुख रहिसकेका प्राध्यापक डा. घमराज लुइँटेललाई सम्‍मान गरिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट ‘न्‍यूज सोर्स इन नेपाली रेडियो ब्रोडकास्टिङ’ शीर्षकमा विद्यावारिधि हासिल गरेका उनलाई कलेजले सम्मान गरिएको हो ।

कार्यक्रममा कलेजका व्‍यवस्थापक प्रमुख महेन्द्रबहादुर पाण्डेले पत्रकारले अब आफ्नो विषयमा दक्षता हासिल गर्नुपर्ने बताए ।

उनले भने, ‘ अबको पत्रकार र पत्रकारितामा दक्षता हासिल गर्नु एकदमै जरूरी छ। जसरी घमराज जीले पत्रकारितामै विद्यावारिधि गर्नु भएको छ। अबका पत्रकारहरू दक्षता, क्षमता  र तथ्यको आधारमा पत्रकारिता गर्नु आवश्‍यक छ।’

होमग्राउण्ड फिलोसोफी कार्यक्रम र ग्र्याण्ड ग्र्याजुएशन सेरेमोनी गर्ने तयारी

मदन भण्डारी मेमोरियल कलेजले निकट भविष्यमै होमग्राउण्ड फिलोसोफी कार्यक्रम सञ्‍चालनमा ल्याउने तयारी गरिरहेको छ ।

क्याम्पस प्रमुख डा.बाबुराम अधिकारीका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज), वीपी कोइरालाले प्रतिपादन गरेको समाजवादलगायतका विषयहरूमा आफ्नै कलेजमा थप अनुसन्धान गरिनेछ ।

यस्तै क्याम्पसमा एमआईटी, बीआईटी, कानुन र एमफिलका कक्षाहरू चाँडै नै सञ्‍चालनमा ल्याउने तयारी भइरहेको क्याम्पस प्रमुख अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?