२० साउन, विराटनगर । ब्राउन सुगरको कारोबार गरेको आरोपमा मोरङ र झापाको विभिन्न स्थानबाट एकै दिन १३ जना पक्राउ परेका छन् ।
शनिबार मोरङबाट ४ र झापाबाट ९ व्यक्ति ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
झापाको विर्तामोड नगरपालिका– ५ का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय विदुर मगर, मेचीनगर नगरपालिका– ९ का ४५ वर्षीय शेरबहादुर लिम्बु र माई नगरपालिका– २ इलामका ३० वर्षीय रूपेश ढुङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
चुलाचुली गाउँपालिका– ३ इलाम घर भई दमक नगरपालिका– ५ मा बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका– ५ का ३६ वर्षीय जीवन लिम्बुलाई ५ ग्राम ब्राउन सुगर र नगद २९ हजार ४५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले मेचीनगर नगरपालिका– ९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउनसुगर र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली– ३ का २८ वर्षीय विवेक राईलाई पक्राउ गरेको हो ।
मोरङबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका– १० मा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर ३८ डी ७८८९ नम्बरको मोटरसाइकल चालक रङ्गेली नगरपालिका– ७ का २४ वर्षीय अबय शाह र सुनवर्सी नगरपालिका– ७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी कानेपोखरी गाउँपालिका– २ बाट बीआर ३८ एबी ४१३५ नम्बरको मोटरसाइकल चालक भारत अररियाका २१ वर्षीय मोहम्मद इसराख गमिरलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका– ९ बाट स्थानीय २७ वर्षीय विशाल राई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
प्रतिक्रिया 4