१ कात्तिक, काठमाडौं । एउटा खेलाडीका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो-आत्मविश्वास । आत्मविश्वासले मैदानमा खेलाडीले उत्कृष्ट प्रदर्शन त गर्छ नै मैदानबाहिर पनि उसको छविलाई सुसज्जित बनाउँछ ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमकी आउटसाइड हिटर निरुता ठगुन्ना पनि त्यस्तै आत्मविश्वासी खेलाडी हुन् । २६ वर्षीय निरुताको उचाइ जम्मा ५ फिट ५ इन्च मात्र छ । स्पाइक हान्न उचाइको जरुरत पर्छ । तर उचाइ औषत भएपनि विपक्षीका लागि निरुताको पावरफूल स्पाइक रोक्न चुनौतीपूर्ण हुने गर्छ ।
निरुता त्यस्तो खेलाडी हुन् जसले आफ्नो प्रदर्शनलाई पनि एकपछि अर्को निखार्दै लगेकी छन । त्यसैको नतिजा त हो उनी नेपाली राष्ट्रिय टिमको महत्वपूर्ण सदस्यको रुपमा उभिन सक्नु पनि ।
पछिल्लो समयमा नेपाली टिमले हात पारेको अन्तर्राष्ट्रिय सफलतामा पनि उनी लगातार नेपाली टिमको हिस्सा बनिरहेकी छन् ।
सन् २०१९ यता नेपाली महिला भलिबलले एउटा स्वर्णिम यात्राको थालनी गर्दा निरुताले पनि राष्ट्रिय टिममा इन्ट्री मार्दै त्यो यात्रालाई निरन्तरता दिएकी हुन् ।
उनले नेपाली टिमबाट एक उपाधि जितेकी छन् भने दुई रजत पदक र एक कांस्य पदक जितेकी छन् । यस्तै नेपालले पहिलो पटक सहभागिता जनाएको १९औं एसयन गेम्समा पनि उनी नेपाली टिममा थिइन् ।
यस्तै उनले केही समयमअघि मात्रै माल्दिभ्समा भएको पहिलो संस्करणको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितिन् ।
हाल विभागीय टोली एपीएफबाट घरेलु भलिबल खेलिरहेकी निरुता अर्को विभागीय टोली नेपाल पुलिस क्लबको टिममा सहभागि भएर काभा खेल्न गएकी थिइन् र च्याम्पियन नै बनिन् । दार्चुलाबाट काठमाडौं आएर अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब भलिबल खेल्न थालेकी निरुताले तीनवटै विभागका लागि प्रतिनिधित्व गरिसकेकी छन् ।
हालै भएको एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल) मा निरुता मधेश युनाइटेडको मार्की प्लेअर र कप्तानको भूमिकामा थिइन् । टिमले पराजय व्यहोर्यो । तर उनको प्रदर्शन गजब रह्यो ।
दार्चुलादेखि राष्ट्रिय टिमसम्मको यात्रा
दार्चुला नौगाड गाउँपालिका ६, धुलिगडा निरुताले सुरुमा सुदूरपश्चिमबाट भलिबल खेल्न थालेकी निरुताले स्कुल पढ्दा सबैखाले खेलहरु खेलिन् । उनलाई व्यक्तिगत विधामा खेलहरु अझ मन पर्यो ।
विस २०६८ मा कक्षा ७ पा पढ्दा उनले राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्सको दौडदेखि हाइजम्प, लङजम्पमा प्रतिस्पर्धा गरिन् । सुरुमा उनको ध्यान एथ्लेटिक्सतिरै थियो । तर जिल्लास्तरीय खेल हुन थालेपछि भने उनले भलिबल पनि खेल्न थालिन् ।
किशोराअवस्थामै उनको खेल राम्रो देखेपछि उनको एथ्लेटिक्सका शिक्षक निल अवस्थीले नै निरुतालाई भलिबल खेल खेल्न सुझाए । भलिबलमा खासै रुचि नभएकी निरुता त्यसपछि भने भलिबल खेल्न थालेकी हुन् । निल गुरुको सुझाव नै उनलाई भलिबल खेलाडी बन्ने प्रेरणा बन्यो ।
२०७२ सालमा दार्चुलामा जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्डमा छनोट भएकी उनले त्यही वर्ष एसएलसी परीक्षा सकेपछि प्रदेशमा खेल्न थालिन् ।
सुदूरपश्चिम प्रदेशको भलिबल टिममा पहिलो पटक खेल्दा उनी वैकल्पिक खेलाडी थिइन् । त्यो बेला खेल्नका लागि जुत्ता पनि थिएन । धुलो चौरमा उनी जुत्ताबिनै स्पाइक हान्थिन् ।
निरुताले २०७३ को सातौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमको टिमबाट खेलेकी थिइन् । त्यही खेलर देखेर विभागीय टोली त्रिभुवन आर्मी क्लबले निरुतालाई करारमा अनुबन्ध गर्यो । त्यो बेला आर्मीको प्रशिक्षक थिए, जगदिश भट्ट । जगदिश भट्ट त्यस्ता प्रशिक्षक हुन्, जसले नयाँ प्रतिभावान खेलाडीहरुलाई खोजी खोजी प्रशिक्षण दिलाउने र राष्ट्रियस्तरसम्म पुर्याउने काम गरेका छन् ।
निरुतालाई आर्मी क्लबसम्म पुर्याउने श्रेय पनि उनै भट्टलाई नै जान्छन् । त्यसपछि निरुताको प्रदर्शन निखारियो ।
तर २०१९ मा उनले व्यक्तिगत कारण आर्मी छाडिन् । केही समयपछि अर्को विभागीय टोली एपीएफमा आबद्ध भइन् । अहिले एपीएफबाटै उनको भलिबल यात्रा अघि बढिरहेको छ ।
उतारचढावपछि पाएको सफलता
निरुताले झण्डै एक दशक लामो भलिबल यात्रामा धेरै उतारचढाव भोगिन् । तर त्यही आत्मविश्वास र साहसका साथ उनले नकरात्मक कुरालाई पछाडि पार्दै भलिबल खेलमा मात्र ध्यान दिइन् र अझ राम्रो प्रदर्शन गरिन् । त्यसैकारण पनि उनी अहिले आफूलाई ‘साहसी निरुता’ भन्न रुचाउँछिन् ।
आर्मी छाडेर एपीएफमा अनुबन्ध नहुँदा सम्मको अवधिलाई निरुता एकदमै कठिन समय ठान्छिन् । आर्मी छाडेर घर गएपछि उनलाई फेरि भलिबलमै फर्कन्छु भन्ने समेत विश्वास थिएन । तर घर बस्दा उनले परिवार र साथीभाइबाट जुन कसिमको हौसला र साथ पाइन् त्यसले उनलाई आफ्नै प्रिय खेलमा फर्कायो ।
सन् २०१९ मा बंगलादेशमा हुने प्रथम एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको प्रारम्भिक टोलीमा निरुता पनि परिन् । त्यसपछि उनीसहित ६ नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टिममा पर्दै ब्गलादेशमा खेल्न गए ।
उनले माल्दिभ्स विरुद्ध खेल्दै नेपालको राष्ट्रिय टिमबाट डेब्यु गरिन् । त्यस प्रतियोगितामा निरुतासहित ६ नयाँ खेलाडी नेपाली टिममा थिए । तर नेपालले अपराजित रहँदै उपाधि जित्यो । निरुताले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै उपाधिको स्वाद चाख्न पाइन ।
त्यसपछि भने उनले खासै पछाडि पर्केर हेर्नुपरेको छैन । नेपाली राष्ट्रिय टिम र घरेलु भलिबलमा एपीएफबाट उनको रफ्तार बढिरहेको छ ।
सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलमा नेपालले ऐतिहासिक रजत पदक जित्दा पनि निरुता टिमको सदस्य थिइन् ।
सन् २०२२ मा भएको दोस्रो एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबलमा भने निरुता टिममा थिइनन् । त्यसपछि उनले थप मिहिनते गरिन् र गत वर्ष भएको काभा वुमन्स च्यलेन्ज कपबाट राष्ट्रिय टिममा फर्किइन् । त्यसयता हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी नेपाली टिमकी महत्वपूर्ण हिस्सा बनिसकेकी छन् ।
सन् २०२३ मा काठमाडौं भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपालले कांस्य जित्दा होस् या यसै वर्ष घरेलु कोर्टमा नेपालले काभा वुमन्स नेसन्स लिगमा रजत जित्दा होस् निरुता मुख्य खेलाडीको रुपमा छिन् ।
सन् २०१९ को १३औं सागमा त्रिपुरेश्वरको कभर्डहलमा भारत विरुद्ध जित नजिक पुगेर पनि पाँच सेटमा पराजित भएपछि निरुता लगायत नेपाली खेलाडी निकै भावक बनेका थिए । तर यस पटक काभा नेसन्स लिगमा नेपालले भारत विरुद्ध ऐतिहासिक जित दर्ता गर्दै त्यसको बदला लियो । ५ सेटमा निकाल्दा उनै निरुताको प्रदर्शन महत्वपूर्ण रह्यो । उनले भारत विरुद्धको खेलमा एक्लै सर्वाधिक २२ अंक स्कोर गरेकी थिइन् ।
निरुताले केही समयअघि नेपाल पुलिस क्लबबाट खेल्दै पहिलो पटक भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको समेत उपाधि जितिसकेकी छ्न ।
निरुताले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता र उपलब्धी
२०१९, एभिसी वुमन्स सिनियर सेन्ट्रल जोन : च्याम्पियन
२०१९, १३औं साग : रजत पदक
२०२३, काभा वुमन्स च्यालेन्जस लिग : कांस्य पदक
२०२४, काभा वुमन्स नेसन्स लिग : रजत पदक
२०२३, १९औं एसियन गेम्स : सहभागिता
२०२४, काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप : च्याम्पियन
प्रतिक्रिया 4