५ कात्तिक, काठमाडौं । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।
यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो ।
यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।
हिरा भुटानविरुद्ध पहिलो रोजाइमै खेलेकी थिइन् भने दीपा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् ।
तर, नेपालका लागि सुखद खबर पनि छ । फरवार्ड सावित्रा आइतबार राति फ्रान्सबाट काठमाडौं आइपुगेकी छिन् । उनी टिममा सामेल भइसकेकी छन् । अब साम्बाले माल्दिभ्सविरुद्ध आज खेल्ने सम्भावना पनि छ ।
आइतबार प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्राले खेल्न चाहे पहिलो रोजाइमा खेलाउन सकिने र आराम चाहे आराम गर्ने प्रतिक्रिया दिएका थिए । सावित्राको आगमनले नेपाली टिम र समर्थकको पनि मनोबल बढेको छ ।
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरकको रुपमा रहेकी सावित्राले युरोपमा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी छिन् । उनले नेपालक लागि ४६ खेलमा सर्वाधिक ५३ गोल गरेकी छन् ।
फ्रान्सको माथिल्लो श्रेणीको लिगमा इएन अभान्ट गुइग्याम्पबाट खेलिरहेकी सावित्राले शनिबार भएको स्ट्रासवर्गविरुद्धको खेल गोल गरेकी थिइन् र उक्त खेल गुइग्याम्पले ३-२ ले जितेको थियो ।
सावित्राको आगमन अनी दुई खेलाडी चोटका कारण बाहिरिएपछि माल्दिभ्सविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइमा परिवर्तन हुने पक्का छ ।
माल्दिभ्सविरुद्ध खेल्दा नेपाललाई जित आवश्यक छ । समूह बी मा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । माल्दिभ्स पहिलो खेलमा श्रीलंकासँग १-० ले पराजित भएको थियो । आजै श्रीलंका र भुटानबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।
प्रतिक्रिया 4