+
+

८ डीआईजीमा ३ ब्याचका अधिकृतको प्रतिस्पर्धा

नारायण अधिकारी नारायण अधिकारी
२०८१ कात्तिक ७ गते १४:३३

७ कात्तिक, काठमाडौं । अबको १० दिनपछि नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा रिक्त दरबन्दी संख्या ८ पुग्नेछ । हाल ५ दरबन्दी रिक्त रहेकामा १७ कात्तिकसम्म थप ३ दरबन्दी रिक्त हुन लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दरबन्दी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी किरण राणा गत आइतबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएपछि एउटा डीआइजी पद रिक्त छ ।

त्यसअघि नै डीआईजी यज्ञविनोद पोखरेल १४ असोजमा ५६ वर्षे उमे हदका कारण अनिवार्य अवकाशमा गएका थिए । १६ भदौमा बागमती प्रदेशका डीआईजी बिष्णुकुमार केसी पनि ५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा गएका थिए ।

रामदत्त जोशी एआईजीमा बढुवा भएपछि डीआईजीको एउटा दरबन्दी खाली नै छ । २१ असारमा डीआईजीबाटै पोषराज पोखरेल अवकाशमा गएका थिए । उनको ठाउँमा पनि डीआईजीको दरबन्दी खाली नै छ ।

११ कात्तिकमा प्रहरी शिक्षालय भरतपुरका निर्देशक डीआईजी राजेशनाथ बाँस्तोला पनि अवकाशमा जाँदैछन् ।

अहिले एआईजी बढुवा सिफारिस भएकी राणा १५ कात्तिकमा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछिन् । त्यसको २ दिनपछि १७ कात्तिकमा अर्का एआईजी रामदत्त जोशी पनि उमेरहदकै कारण अवकाशमा जाँदैछन् ।

यी २ एआईजीहरु अवकाशमा गएसँगै उनीहरुको ठाउँमा २ जना डीआईजी बढुवा हुनेछन् । कात्तिक १७ पछि रिक्त हुने दुई एआईजीका लागि एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् । यसअघि ८ असार २०७९ मा बढुवा भएका बुद्धिराज गुरुङ र दुर्गा सिंह बढुवाको सबैभन्दा बलियो दाबेदार हुन् ।

उनीहरु पछि ६ वैशाख २०८० मा बढुवा भएका डीआईजीहरु पनि एआईजीको प्रतिस्पर्धामा छन् । ६ वैशाखमा बढुवा भएकाहरुबाट कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी लगायत एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

उनीहरु मध्येबाट २ जना एआईजीमा बढुवा भएपछि १७ कात्तिकपछि नेपाल प्रहरीमा ८ डीआईजीको दरबन्दी रिक्त हुनेछ ।

प्रहरीको मानव स्रोत विकास विभागका एक अधिकृतका अनुसार १७ कात्तिकपछि मात्रै डीआईजी बढुवाको तयारी छ ।

‘अहिले बढुवा गर्दा ५ जनालाई मात्रै बुढवा गर्नुपर्ने हुन्छ । अबको १० दिनपछि नै थप ३ दरबन्दी खाली हुने हुँदा एकै पटक बढुवा गर्ने तयारी गरिएको छ’, ती अधिकृतले भने ।

३ ब्याचका अधिकृतहरुको प्रतिस्पर्धा

१७ कात्तिकपछि रिक्त हुने ८ डीआईजीका लागि ३ ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुबीच प्रतिस्पर्धा हुने भएको छ ।

जसमा हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचीहरु तीन जना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरु ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

उनीहरु डीआईजीमा बढुवा भए पनि अहिलेकै व्यवस्था अनुसार आउँदो ५ चैतमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । यद्ययि यसै वर्षबाट ३० वर्षे सेवा हटाउने गरी नयाँ प्रहरी ऐन ल्याउने तयारी भइरहेकोे छ ।

यो बाहेक २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र २०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना भएको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

यो बाहेक ५ पुस २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएर आएको ब्याच र १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरमा भर्ना भएकाहरुको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

२०५३ को टोलीबाट सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

२०५४ को ब्याचबाट ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया डीआईजीको प्रतिस्पर्धामा छन् ।

यसअघि २०५४ को ब्याचका दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी ४ जेठ २०८१ मा राष्ट्रिय अनुसन्धानबाट आएको २०५३ को ब्याच र २०५१ को ब्याचलाई समेत उछिन्दै बढुवा भएका थिए ।

त्यसैगरी माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

प्रहरी महानिरीक्षकको ब्याच २०५१ का अधिकृतहरु कारबाहीमा परेका र कार्यसम्पादन समेत कमजोर रहेको भन्दै उनीहरुलाई छाडेर बढुवा सिफारिस गराउन २०५३ र २०५४ का अधिकृतहरु लागेका छन् ।

यसअघि नै २०५३ को टोलीलाई उछिनेर २०५४ को टोली बढुवा भइसकेपछि २०५४ को टोली पनि अहिले डीआईजीमा बढुवा हुन चर्को प्रतिस्पर्धामा छन् ।

यता २०५३ को टोली एक अधिकृत भने यसअघिको सरकारले आफूहरुमाथि अन्याय गरेको भन्दै अब न्याय हुनुपर्ने भन्दै लविइङमा छन् ।

‘हाम्रो ब्याचै छुटाएर जुनियर ब्याचलाई बढुवा गर्दै एक पटक अन्याय भइसकेको छ । अब त्यो अन्याय सरकारले करेक्सन गर्ला भन्ने आशा गरेका छौं’, २०५३ को ब्याचका एक अधिकृत भन्छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?